ढोरपाटनका पहिरो पीडितलाई सहयोग गर्न आह्वान

समाधान संवाददाता २०७७ भदौ २० गते १९:४२

समाधान संवाददाता
बागलुङ, २० भदौ

जिल्ला सहकारी संघ लिमिटेड बागलुङले ढोरपाटन नगरपालिकामा भएको बाढी पहिरोबाट भएको घटनाप्रति दुख व्यक्त गरेको छ । भदौ १७ गते अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ढोरपाटन नगरपालिका वडा नं. ५, ६, ७, ८ र ९ का विभिन्न स्थानमा जनधनको क्षतिले जिल्ला सहकारी संघलाई स्तब्ध तुल्याएको संघले जनाएको छ ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा शनिवार बिहान बसेको संघको वैठकले पहिरोमा परि मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली, मृतकका परिवारमा समवेदना तथा घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

Advertisement

साथै घटनामा परि बेपत्ता भएकाहरुको खोजबिन र राहत तथा पुनस्थापनामा ध्यान दिन संघले सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराएको संघका सचिव तेजेन्द्रबहादुर थापाले जानकारी दिए ।

पहिरोबाट ढोरपाटन नगरपालिकामा १५ जनाको ज्यान गएको र २३ जना बेपत्ता छन् । बढी पहिरोले ८० घर पूर्ण रुपमा र ५१ घरमा आंशिक क्षति पुगेको छ । बाढी पहिरोले सो क्षेत्रका ११ वटा लघु जलविद्युत, एउटा स्वास्थ्य इकाई, ११ वटा झोलुंगेपुल, ५ वटा ढलान पुल, १० वटा काठे पुल र २ वटा विद्यालयमा क्षति पुर्‍याएको छ ।

Advertisement

पहिरोका कारण ठूलो संख्यामा स्थानीय बासिन्दा घरबारबिहीन भएको अवस्थालाई मध्यनजर गरी जिल्ला सहकारी संघले जिल्लामा सञ्चालित सम्पूर्ण सहकारी संघ संस्थाहरु लगायत देशभरका सहकारी संघ संस्था र सहकारीकर्मीहरुलाई सहयोगका लागि आव्हान गरेको छ ।

विपत्तीको समयमा सबै मिलेर पीडितहरुको पीडामा मल्हम लगाउने योजनाका साथ जिल्ला सहकारी संघले देशभरका सहकारी संघ संस्था र सहकारीकर्मीहरुलाई संघको अभियानमा सहयोग गर्न आव्हान गरेको जिल्ला सहकारी संघका कोषाध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जिसी (अञ्जु)ले बताइन् ।

बागलुङवासीलाई परेको विपत्तीमा देशभरका सहकारीहरुबाट ऐक्यवद्धता र सहयोगको अपेक्षा सहित सहयोगका लागि जिल्ला सहकारी संघ लिमिटेड बागलुङको राष्ट्रिय सहकारी बैंक बागलुङ शाखामा रहेको खाता नं. १४–०००३३–९ मा रकम जम्मा गर्न सकिने कोषाध्यक्ष जिसीले जानकारी दिए ।

संघले सहयोग संकलन अभियान सञ्चालन गर्ने निर्णयसँगै संघका पदाधिकारी तथा सदस्यहरुका तर्फबाट ६० हजार रुपैयाँ संकलन भएको छ । ‘सहकारी अभियानको तर्फबाट बाढी पहिरो पीडितका लागि देशभरबाट सहयोग संकलन हुने अपेक्षा गरिएको छ,’ संघका अध्यक्ष दीपक गौतमले भने, ‘जिल्ला सहकारी संघ बागलुङको यो अभियानले देशभरका अन्य क्षेत्रमा समस्या पर्दा पनि ऐक्यवद्ध हुन सहयोग पुग्नेछ ।’

तपाईको प्रतिक्रिया