गिद्ध संरक्षण नगरे दुदर्शा आउँछ

समाधान संवाददाता २०७७ भदौ २१ गते ६:१२


लाखौं प्राणीको बासस्थान पृथ्वीबाट गिद्ध लोप हुनु भनेको एउटा जीव घट्नु मात्रै होइन, मानवीय सभ्यताका लागि ठूलो दुर्दशा निम्त्याउनु पनि हो भन्ने हेक्का बेलामा राख्न सकिएन भने त्यो संकट आउन लामो समय नलाग्ला ।

पृथ्वीमा अनेकथरी जीवजन्तु छन्, तिनको आआफ्नै महत्व छ । प्रकृतिका हरेक सन्तान पृथ्वीमा जीवन बाँच्न हक राख्छन् तर मानिसको जनसंख्याको वृद्धिदरले अरु प्राणीको संख्या घट्दो छ । कतिपय लोप पनि भएका छन् । मानवीय गतिविधि नै अरु प्राणी लोप हुनुको मुख्य कारण हो । गिद्ध त्यस्तै एउटा प्राणी हो, जुन दिनदिनै लोपोन्मुख भइरहेको छ, र मानवीय कमजोरीको सिकार भइरहेको छ । वास्तवमा घाटाचाहिँ मान्छेलाई नै हुँदैछ । कतिपय अन्धविश्वास यो निरीह र निरपराध पक्षीप्रति छ । यसलाई फोहोरी चराका रुपमा लिइनु एउटा कमजोरी छँदैछ मान्छेको । अर्काेतिर नराम्रो नजरलाई गिद्धे दृष्टि भनेर पनि गिद्धप्रति अन्याय गरिन्छ । वास्तवमा गिद्धले कसैलाई कुनजर लगाउँदैन । यो त मरेको सिनो खाने प्राणी हो । मांसहारी भइकन पनि यो यस्तो प्राणी हो, जसले अरु कुनै प्राणीको ज्यान लिँदैन । नमरेको जीवमाथि आक्रमण गर्दैन, मृत्युसम्मै पर्खन्छ र मरेपछि मात्रै मासु खान्छ ।

आखिर कुनै पनि जीवजस्तु कालगतिले मर्‍यो वा अरु कारणले भने त्यसलाई वातावरणलाई असर पुर्‍याउँछ, प्रदूषण बढाउँछ र मानवीय जीवनलाई अप्ठेरो पार्छ, रेबिज प्लेग, हैजा, आउँ, झाडापखला लगायत रोग लाग्छ । तर त्यही सिनो खाइदिएर गिद्धले वातावरण सफा गर्छ । मान्छेलाई ती रोग लाग्नबाट बचाउँछ । त्यसैले गिद्ध प्राकृतिक कुचीकार हो । यो फोहोरी प्राणी हैन, फोहोर सफा गर्ने पक्षी हो ।

Advertisement

सेप्टेम्बर महिनाको पहिलो शनिबारलाई गिद्ध संरक्षण दिवस मनाउन थालिएको छ । हिजो यो दिवस थियो । तर अरु बेलामा पनि गिद्ध संरक्षणका प्रयास गरिनुपर्नेमा हिजो पनि नेपालमा कुनै काम हुन सकेन । कोरोना भाइरसको महामारीले गर्दा पनि कुनै गतिविधि हुन नसकेको त हो नै तर, पोहोर परार पनि यसबारे मानवीय चेतना अभिवृद्धि र गिद्ध संरक्षणका खास काम हुन सकेका थिएनन् । पछिल्लो समय गिद्धको संख्या यसरी घटेको छ कि कुनै उपाय गरिएन भने यो पृथ्वीबाट लोप हुन बेर लाग्दैन । लाखौं प्राणीको बासस्थान पृथ्वीबाट गिद्ध लोप हुनु भनेको एउटा जीव घट्नु मात्रै होइन, मानवीय सभ्यताका लागि ठूलो दुर्दशा निम्त्याउनु पनि हो भन्ने हेक्का बेलामा राख्न सकिएन भने त्यो संकट आउन लामो समय नलाग्ला ।

नेपालमा सन् १९८० को दशकमा १० देखि १६ लाख गिद्ध थिए भनिन्छ । अहिले भने २० हजारभन्दा कम गिद्ध छन् । ९० प्रतिशत संख्या घटेको छ । आइयुसिएनका अनुसार नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये ४ प्रजाति अति संकटापन्न छन् । भारतमा ९० को दसकमा ९९ प्रतिशत गिद्ध घटेका थिए । त्यसको कारण पशुको उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक नामको औषधी थियो । यो औषधी खाएको पशुको सिनो खाँदा गिद्धको मिर्गाैलामा असर परी गिद्ध मरेको पृष्टि भएपछि त्यो औषधी अहिले प्रतिबन्धित नै छ ।

Advertisement

तपाईको प्रतिक्रिया