जातीय विभेद चिर्न सोच बदलौं

समाधान संवाददाता २०७७ भदौ २२ गते ७:३०

सुगम गौतम

कति सुन्दर हुन्थ्यो होला यो समाज, राष्ट्र अनि सिंगो व्रह्माण्ड । यदि कुनै अपराध, हिंसा हुँदैनथ्यो भने । यस्तो कुनै दिन वा समय छैन होला मानिस नमरेको, नमारिएको, हिंसा नभएको । पत्रपत्रिका, टेलिभिजनदेखि लिएर अनलाइन अनि सामाजिक सञ्जाल सबै यस्तै नराम्रा समाचारले भरिएका हुन्छन् । कहिले कुन घटना चर्चामा आएका हुन्छन् त कहिले कुन ।


रुकुम घटनामा मारिएका नवराज लगायत ५ युवकलाई कुन ढंगले न्याय दिन मिल्छ अब ?

Advertisement

कुनै नेपाली नहोलान् जो त्यस घटनाबाट अपरिचित होलान । रुकुममा भएकोे अप्रिय घटना जसमा नवराज विक लगायत ५ युवा मारिए । किन ? त्यो पनि प्रस्ट नै छ । सायद उसको औकातले नभेटेको कुरा थियो प्रेम । अझ प्रस्ट भन्दा उसको जातले । राष्ट्रिय बहस बनेको यो घटना समयसँगै ओझेलमा प¥यो । चर्चा यसरी बिलायो कि ती युवाप्रति कुनै अन्याय नै भएको थिएन । यो घटना एउटा उदाहरण अनि नवराजलगायत ती युवा एउटा प्रतिनिधि पात्र मात्र हुन् । दिनहुँ हेपिन्छन् जातका नाममा, मारिन्छन् भने, हेपाइको त के गन्ती ?

योे जातीय विभेदबारे लेख्ने म पनि कुनै समानतालाई पालना गर्ने मान्छे नै होइन । आखिर मलाई पनि त त्यही सिकाएको छ यो रुढीवादी समाजले । कति मुस्किल हुँदोरहेछ ती चलिआएका विचारप्रति प्रश्न उठाएर लगाम लगाउन, कोसिस त पक्कै भएको होला । तुच्छ मनोधारणा राख्ने व्यक्तिहरूको झुण्डले सिर्जना गरेको कर्तुत न हो यो जातीय विभेद । सुरु भएको चिजको अन्त्य नहोला र ? उपाय नै नहोला र यो रोगप्रति लड्ने ? म त यसलाई रोग नै मान्छु, समाजको रोग जसले प्रत्यक्ष रूपमा क्षति पुर्‍याउँदै आएको छ युगौंयुगदेखि ।

Advertisement

अहिलेसम्म कति राजनीतिकमी, विज्ञ, समाजसेवी आए होलान्, उनीहरूले विश्राम लगाउन नसकेको यो चलन मैले सकौंला र ? अनि तपाईंसँग त्यो सामथ्र्य छ त यो विभेदसँग लड्ने ? तपाईंको उत्तर जे पनि हुन सक्छ तर एकपटक तपाईंले आफैले आफैलाई प्रश्न गर्नुहुनेछ, ‘अहिलेसम्म नभएको कुरा अब सम्भव होला त ?’ म पनि प्रश्न गर्छु के हाम्रो यही सोचले जातीय विभेदको अन्त्य नभएको हो त ?

पृथ्वीनारायण शाहको भनाइ अनुसार नेपाल ४ वर्ण ३६ जातको एउटा साझा फूलबारी हो र उनले यहाँ भएका विभिन्न जात, धर्मका मानिसहरूलाई भेषभूषा, भाषा अलग भए पनि एकताबद्ध रूपमा बस्ने थिति बसाएका थिए । जात विभाजन पनि कर्मका आधारमा गरिएको थियो । हरेक जातिका मानिसहरूलाई भिन्न भिन्न कर्म गर्न छुट्याइए पनि पछि यही विभाजन विभेद बनेर प्रस्तुत भयो । आजभन्दा अली समय पहिले त दलित जातका मानिसहरूलाई मठमन्दिरमा छिर्न समेत दिइँदैनथ्यो । भगवानप्रति आस्था भएका मानिसहरूले यस्तो निच हर्कत गर्न सुहाउँथ्यो कि नाइँ ? त्यो उनीहरूले नै जानून् तर उनीहरूको मानवतामा चाहिँ प्रश्न पक्कै उठ्छ ।

छुवाछुत प्रथा पहिलेको जस्तो सक्रिय नहोला तर पनि हाम्रो समाजले सबै जातिका मान्छेहरूलाई एकै नजरले त पक्कै हेरेको छैन । यदि हेरेको छ भनेर कसैले भन्छ भने त्यो साँचो हो भनेर पत्याउने ठाउँ नै छोडेको छैन हाम्रो समाजले । अन्तरजातीय विवाह भन्ने शब्द कत्तिको सुन्नुभएको छ यहाँहरूले ? मैले सुन्न चाहिँ सुनेको छु तर आफ्नै आँखाले त्यति देख्न पाएको छैन । जाति–जातिमात्र नभएर एउटै जातिभित्र पनि विभेद देखिन्छ । जैसी र उपाध्याय यी दुवै बाहुन जातिभित्र नै पर्छन् तर यी २ बीच विवाह भने प्रायः नगर्ने चलन छ ।

कहिलेकाहीँ एउटा सोचले मेरो मस्तिष्क ओगट्ने गर्छ, कस्तो थियो होला त यो समाज जात विभाजन हुनुभन्दा पहिला ? सभ्य थिएनन् होला मान्छे ऊ बेला तर यति असभ्य नि थिएनन् होला । सबै मान्छेलाई एउटै दृष्टिले नहेर्ने । कोट पुरानो भयो फेर्नै पर्ने, जुत्ता पुरानो भयो त्यो पनि फेर्नै पर्ने तर संकुचित हामी त्यति बेला हुन्छौं जब सोचलाई नवीकरण गर्नुपर्ने हुन्छ ।

यतिबेलाकै कुरा हो एउटा डायरी र पेन लिएर मैले आफ्ना उमेर समूहका साथीहरूलाई केही प्रश्न खडा गरें अन्तरजातीय विवाहका बारेमा । धेरैले भने, ‘प्रेमी–प्रेमिका त जुन जातको भए पनि केही फरक पर्दैन तर विवाहभने आफूभन्दा तल्लो जातिसँग गर्न अलि समस्या नै हुन्छ ।’ अचम्मित तुल्यायो यो प्रतिक्रियाले अनि यो पढेलेखेको यो नयाँ पुस्ता ।

पढाइको के नै अर्थ रह्यो र यदि समाजमा परिवर्तन ल्याउन सकेन भने । के सार्थकता यो डिग्रीको यदि उही पुरानो विचार धारालाई काँतर बनेर पालना गरिरह्यो भने । हो, पुराना विचारधाराहरू सबै गलत हुन्छन् भन्ने छैन तर गलत भएको सुधार्ने कोसिस नै नगरी त्यही कुविचार पछिल्लो पिँढीलाई पनि सुम्पिने कि आफू परिवर्तन गर्नपतिर लाग्ने ?

रगतको रङ उही रातै, रगत बग्ने प्रक्रिया पनि एउटै, राष्ट्र र राष्ट्रियता एउटै तर पनि कत्रो पर्खाल खडा गरिदिन्छ मानिसबीच यो जातले । यो हामीले नै निर्माण गरेको पर्खाल हो र यसलाई भत्काउने शक्ति पनि हामीमा नै छ । कमी छ त त्यो पर्खाल भत्काउन सुरु गर्ने आँटको । सुरु के चिजको ? अन्त्य के चिजको ? सुरुआत एउटा नयाँ समाजको जसमा जातीय विभेद, असमानता, द्वन्द्व कोसौं कोस टाढा रहोस् । अन्त्य त्यो सोच र समाजको जसले आजसम्म सबै जातका मानिसहरूलाई समान दृष्टिकोणले हेर्न सकेको छैन ।

अब कुनै घटना घटेपछि आवाज उठाउनु भन्दा पनि यो रुढिवादी सोचमा परिवर्तन भएर समाजको रुपान्तरण नभइन्जेलसम्म र मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन भन्ने कुरा नबुझेसम्म नवीन समाज निर्माणको कल्पना गर्नु व्यर्थ छ ।

रुकुम घटनामा मारिएका नवराज लगायत ५ युवकलाई कुन ढंगले न्याय दिन मिल्छ अब ? उनीहरूको परिवारलाई राहत कोष प्रदान गरेर उनीहरूको मृत शरीर त पक्कै आउँदैन होला । के नै अपराध थियो र उनीहरूले यस्तो दण्ड पाए । अब कि त प्रेमलाई अपराध भन्नुपर्छ, कि त दलित भएर प्रेम गर्नु अपराध । जति नै गुहार गरे पनि अब ती मृत शरीर जिउँदा त हुँदैनन् तर अब आउने समयलाई नियन्त्रणमा लिएर यस्ता अनैतिक घटनामा रोक लगाउन भने पक्कै सकिन्छ ।

तपाईको प्रतिक्रिया