फेरि चुक्याे क्राेएसिया, फ्रान्स विजयी

समाधान संवाददाता २०७७ भदौ २४ गते ८:०१

एजेन्सी

पछिल्लाे विश्वकपका दुई फाइनलिष्ट फ्रान्स र क्राेएसिया मंगलबार राती फेरि एक अर्का विरुद्द मैदानमा उत्रिए । तर नतिजा उही आयाे जे फाइनलमा आएकाे थियाे । गाेल अन्तर पनि उस्तै ।

विश्व विजेता फ्रान्सले उपविजेता क्रोएसियालाई पराजित गरेको छ । युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रान्सले क्रोएसियामाथि ४–२ को जित दर्ता गरेको हो ।

Advertisement

सन् २०१८ को विश्वकप फाइनलमा जस्तै याे खेलमा क्रोएसियाले सुरुवाति अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन ।

१६ औँ मिनेटमा डिजेन लोभरेनले गोल गरी क्रोएसियालाई अग्रता दिलाए । एन्टोनी ग्रिजम्यानले ४३ औँ मिनेटमा गोल गरेर फ्रान्सलाई बराबरीमा ल्याए भने पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोविचले आत्मघाती गोल गरे ।

Advertisement

५५ औँ मिनेटमा जोसिप ब्रेकालोले गोल गरेर क्रोएसियालाई बराबरीमा ल्याए।

तर त्यसपछि फ्रान्सले लगातार दुई गोल गर्न सफल भयो । ६५ औँ मिनेटमा डायोट उपामेकानोले गोल गरे ।

७७ औँ मिनेटमा पाएको पेनाल्टीमा ओलिभर जिरउडले गोल गरेपछि फ्रान्सको ४–२ को जित निश्चित भएको हो ।

सन् २०१८ को विश्वकप फाइनलमा पनि फ्रान्सले क्रोएसियालाई ४–२ ले नै पराजित गरेको थियो ।

मंगलबार राति नै भएका अरु खेलमा बेल्जियमले आइसल्याण्डलाई ५–१, अर्मेनियाले इस्टोनियालाई २–०, अजरबैजानले साइप्रस तथा मोन्टेनेग्रोले लग्जेम्बग्रलाई समान १–० तथा लिचेस्टाइनले सान मारिनोलाई २–० ले पराजित गरेका छन् ।

यस्तै इंग्ल्याण्ड र डेनमार्कले गोलरहित बराबरी तथा जर्जिया र उत्तरी मेसेडोनियाले १–१ को बराबरी खेलेर अंक बाँडेका छन् ।

तपाईको प्रतिक्रिया