५ शय्याको अस्पताल बनाउन ६४९ स्थानीय तहलाई निर्देशन

समाधान संवाददाता २०७७ भदौ २४ गते १६:२४

रासस, काठमाडौं

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६ सय ४९ स्थानीय तहलाई ५ शय्याको अस्पताल बनाउन निर्देशन दिएको छ।

सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

Advertisement

कोभिड–१९ संक्रमणका बिरामी राख्न श्ययाको अभाव भएकाले अस्थायीरूपमा अस्पताल तत्काल बनाउन मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ती स्थानीय तहलाई निर्देशन दिएको हो। ५ शय्याका दरले ती स्थानीय तहमा ३ हजार २४५ श्ययाका अस्पताल बन्नेछन्।

अहिले नेपालमा ४८ हजार १ सय ३८ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन्। ३२ हजार ९ सय ६४ निको र ३ सय ६ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ। यही भदौ १३ गते मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अस्पताल नभएका स्थानीय तहमा पाँच श्ययाको अस्पताल बनाउने निर्णय गरेका थिए। अस्पतालको व्यवस्थापन र कहाँ सञ्चालन गर्ने भन्ने निर्णय स्थानीय तहले गर्नेछन्।

Advertisement

ती अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी हुनेछन्। मन्त्रालयले ती अस्पतालको कार्यप्रगतिका आधारमा बजेट थप गर्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए।

मन्त्रालयले प्रतिश्यया रु दुई लाखका दरले बजेटसमेत कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निकासा गरिरहेको छ। अस्पतालका लागि ३ महिनाको श्ययाका लागि ५ लाख, औषधि रु ५० हजार र चिकित्सक, स्वास्थ्यकर्मीका लागि ४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरी पठाइसकेको छ।

ती स्थानीय तहले आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रका भवन, सामुयायिक भवन वा अस्थायी टहरामा तत्काल कोभिड–१९ का बिरामीको उपचारको व्यवस्थापन गर्न अस्पताल निर्माण गर्न भनिएको हो।

तपाईको प्रतिक्रिया