बिलखबन्दमा जिल्ला अस्पतालः बिरामी जाँच्ने कि आइसियु चलाउने ?

समाधान संवाददाता २०७७ भदौ २५ गते २१:१६

– आइसियु किनेका र किन्ने तयारीका सबै जिल्ला अस्पताललाई त्यो पूर्वाधार कसरी चलाउने भन्ने दुविधा छ

– प्रदेशका १५ अस्पतालमा १ सय ७५ बेडको आइसियु र ५३ भेन्टिलेटर छन्

– प्रदेशमा आवश्यकभन्दा ४६ प्रतिशत जनशक्ति कम छन् ।१ सय स्वास्थ्यकर्मीले गर्नुपर्ने काम ५४ जनाले गरेका छन् ।

– आवश्यक जनशक्ति नभई आइसियु र भेन्टिलेटर चलाउन खोज्नु स्रोत साधन खेर फाल्ने बाटो भएको विज्ञको भनाइ

अनुप आत्रेय, पोखरा

मनाङ जिल्ला अस्पतालमा २ डाक्टरको दरबन्दी छ । तर दरबन्दीका १ जना पनि डाक्टर छैनन् । एकजनालाई करारमा नियुक्त गरिएको छ । एमबिबिएस गरेका तिनै करारका डाक्टरले अस्पतालमा दैनिक ४० जनासम्म बिरामी हेरिरहेका छन् ।

अहिले त्यहाँ २ बेडको आइसियु र एउटा भेन्टिलेटर भए पनि जडान भइसकेको छैन । त्यो पूर्वाधार जडान भएपछि कसले चलाउने भन्ने थाहा छैन । अहिले १ जना डाक्टरलाई खटाइएको भनिए पनि हाजिर भइनसकेको अस्पताल प्रमुख रहमान अन्सारीले बताए ।

‘अहिले १ जना डाक्टर हुनुहुन्छ । उहाँले आइसोलेसन, ओपिडीदेखि सबै सेवा हेर्नुहुन्छ,’ उनले भने, ‘आइसियु र भेन्टिलेरको सामान आएको छ तर जडान भइसकेको छैन । तालिम नभई आइसियु चल्दैचल्दैन नि ।’अहिले आइसियु किनेका र किन्ने तयारीमा रहेका सबै जिल्ला अस्पताललाई त्यो पूर्वाधार कसरी चलाउने भन्ने दुविधा छ ।

गण्डकी सरकारको १६ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका सबै जिल्ला अस्पतालमा आइसियु स्थापना गर्ने निर्णय गरेपछि पूर्वाधार थपको प्रक्रिया अघि बढेको थियो ।

प्रदेश सरकारले मनाङ र मुस्ताङमा २/२ बेड र बाँकी जिल्ला अस्पतालमा ५/५ बेडको आइसियु स्थापना गर्ने निर्णय गरेको थियो । निर्णय भएको २० दिनमै प्रदेश सरकारले बजेट दियो । ११ वटै जिल्लाका अस्पताललाई गरेर प्रदेश सरकारले ६ जेठमा १४ करोड ९८ लाख ५३ हजार रुपैयाँ पठाएको थियो ।

बजेटबाट कति अस्पतालले आइसियु बेड र भेन्टिलेटर किने ? यो प्रश्नको जवाफ प्रदेश सरकारसँग छैन । सामाजिक विकास मन्त्रालयको अस्पताल विकास महाशाखा प्रमुख डा. रामबहादुर केसी जिल्ला अस्पतालसँग विवरण मागे पनि नआएको बताउँछन् ।

‘५७ वटा भेन्टिलेटर छन् । आइसियु १ सय २५ बेड हो । जिल्लाको विवरण मागिरहेका छौं,’ उनले भने । महाशाखा प्रमुख केसीले जिल्लालाई पठाएको बजेटबारे सोध्दा पटकपटक ‘रेडिमेड’ जवाफ फर्काउने गरेका छन् ।

डा. केसीले भनेजस्तो प्रदेशमा १ सय २५ वटामात्रै आइसियु बेड भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँदैन । निर्देशनालयको तथ्यांक भन्छ– प्रदेशका १५ अस्पतालमा १ सय ७५ बेडको आइसियु र ५३ भेन्टिलेटर छन् । त्यसबाहेक ४ भेन्टिलेटर प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा राखिएको छ । ‘आवश्यक पठाएको ठाउँमा पठाउन यहाँ राखेका छौं । जहाँ आवश्यक पर्छ त्यहीँ पठाइन्छ,’ केन्द्रका निर्देशक खिमबहादुर खड्काले भने ।

आइसियु र भेन्टिलेटर प्रदेशमा कति छन् भन्ने विषयमा स्वास्थ्य निर्देशनालय पनि अपडेट छैन । भदौ २१ मा निर्देशनालयले अपडेट गरेको तथ्यांक अनुसार प्रदेशभर १ सय ७५ आइसियु र ५७ भेन्टिलेटर छन् । तर त्यसमा म्याग्दीमा डेढ महिना पहिल्यै खरिद गरेर जडान गरिएको ५ बेडको आइसियु र २ वटा भेन्टिलेटर जोडिएको छैन ।

चैतसम्म गण्डकी प्रदेशका सबै जिल्लामा गरेर १ सय ३३ आइसियु र ५४ भेन्टिलेटर थिए । कोरोना संक्रमण देखिँदा पोखराबाहिर धौलागिरी अस्पतालमा एउटामात्रै आइसियु थियो ।


प्रदेश सरकारले पठाएको बजेटबाट बेनी अस्पतालले ५ बेडको आइसियु र २ वटा भेन्टिलेटर खरिद ग-यो । पूर्वाधार जडान भए पनि अस्पतालले त्यसलाई चलाउन सकेको छैन ।

आइसियु र भेन्टिलेटर चलाउन आवश्यक जनशक्ति नहुँदा सेवा प्रवाह गर्न नसकेको बेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल अधिकारी बताउँछन् । ‘हामीले डेढ महिना पहिल्यै खरिद गरेर जडान ग¥र्यौं तर त्यसलाई चलाउन जनशक्ति नै हुनुहुन्न । प्रदेशमा भनेका छौं । पठाउनुहुन्छ होला,’ मेसु डा. अधिकारीले भने ।

आइसियु चलाउन क्रिटिकल केयर हेर्ने एनेस्थेसियोलोजिस्ट र फिजिसियन चाहिन्छ । तर बेनी अस्पतालमा यी दुवै खालका जनशक्ति छैनन् । एनेस्थेसियोलोजिस्टको भने देशभर नै अभाव छ । ७ जना कन्सल्टेन्ट फिजिसियनको दरबन्दी भए पनि आफूहरुसँग १ जना पनि नरहेको मेसु डा. अधिकारीले बताए ।

पूर्वाधार थप गर्न प्रदेश सरकारले गरेको पहलकदमीप्रति स्वास्थ्यकर्मीहरु खुसी छन् । तर जनशक्तिको व्यवस्थापनमा जुट्न उनीहरुको आग्रह छ ।

‘प्रदेश सरकारको प्रयास एकदम राम्रो छ । अबचाहिँ सरकारले कर्मचारी व्यवस्थापनमा ध्यान दिनुपर्छ,’ दमौली अस्पतालका मेसु डा. सुनील पौडेल भन्छन्, ‘मेनपावर कहीँ पनि छैन । २/४ दिन चलाएर भएन । ५ बेडको आइसियु र २ बेडको भेन्टिलेटर चलाउन दुई जना एनेस्थेसियोलोजिस्ट, २ जना फिजिसियन र आठ जना नर्स चाहिन्छ ।’

सरकारले अस्पतालमा डाक्टर/नर्सको दरबन्दी थप्नुभन्दा जनस्वास्थ्यका कर्मचारी थप्नतर्फ ध्यान दिएको उनको गुनासो छ ।

लमजुङ सामुदायिक अस्पताल पनि १ महिनाभित्र आइसियु र भेन्टिलेटर जडान गर्ने योजनामा छ । तर त्यसलाई राख्ने ठाउँको भने समस्या छ । भएका भवनमा कोरोना संक्रमितको उपचार भइरहेको र आइसियु किन्दा राख्ने ठाउँको समस्या हुने अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए ।

‘आइसियु आएपछि जनशक्ति र राख्ने ठाउँको समस्या हुन्छ । हामीसँग आइसियुलाई भनेर छुट्टै भवन छैन । जे छ त्यसमै व्यवस्थापन गर्ने भन्ने योजना छ । तर लामो समय चलाउन पर्दा गाह्रो हुन्छ,’ उनले भने ।

जिल्ला अस्पताल स्याङ्जा पनि आइसियु र भेन्टिलेटर जडानको तयारीमा छ । तर समस्या जनशक्तिकै छ । ‘प्रक्रियामा जाँदै छौं । जनशक्ति मन्त्रालयले व्यवस्थापन गर्ला नि,’ अस्पतालका मेसु डा. सुशील मरासिनीले भने ।

जिल्ला अस्पतालका स्वास्थ्यकर्मी पूर्वाधार थपिएपछि जनशत्ति पनि व्यवस्थापन हुने आसमा छन् । तर प्रदेश सरकार जनशक्ति थप्नुको सट्टा पहिल्यैदेखि कामको भार थेगिरहेका स्वास्थ्यकर्मीको काँधमा जिम्मेवारी थप्ने पक्षमा देखिन्छ ।

बिरामीको सेवालाई आवश्यक दरबन्दी प्रदेशका कुनै पनि अस्पतालमा पूर्ण छैनन् । प्रदेशमा स्वास्थ्यतर्फ आवश्यकभन्दा ४६ प्रतिशत जनशक्ति कम छन् । भन्नुको अर्थ – १ सय स्वास्थ्यकर्मीले गर्नुपर्ने काम ५४ जनाले गरेका छन् ।

तर जनशक्ति नै नभएपछि ती पूर्वाधार कसले चलाउने ?यो प्रश्नमा प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्मा भन्छन् – भएका कर्मचारीलाई तालिम दिएर चलाउने । निर्देशनालयले ११ वटै जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रसँगको समन्वयमा तालिम दिन बुधबारदेखि सुरु गरेको छ ।

प्रदेशका अस्पतालमा भएका जनशक्तिलाई तालिम दिए आइसियु चलाउन सक्ने निर्देशक शर्माको दाबी छ । ‘आइसियुलाई आवश्यक जनशक्ति प्रदेशमात्रै होइन देशभर नै अभाव छ । तर हामीसँग भएको जनशक्तिलाई तालिम दियौं भने चलाउन सकिन्छ,’ उनले भने ।

तर अरु बिरामीको सेवा गर्न खटिएका स्वास्थ्यकर्मीलाई आइसियु सञ्चालन गर्दा पर्ने भारबारे प्रदेश सरकार चासो देखिँदैन । प्रदेशका जिल्ला अस्पताल एमडिजिपी डाक्टर र मेडिकल अफिसरकै भरमा चलिरहेका छन् । जानकारवालाहरु मेडिकल अफिसरले आइसियु चलाउन सम्भव नहुने बताउँछन् ।

‘एमबिबिएसपछि ३ वर्षको कोर्समा सबै विषयमा थोरैथोरै जानकारी राख्ने र इमर्जेन्सीमा काम गर्ने, औषधीबारे थाहा हुने भएकाले एमडिजिपी डाक्टरले राम्रो तालिम लिए चलाउन सकिन्छ,’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एनेस्थेसियोलोजी पढिरहेका १ एमबिबिएस डाक्टरले भने, ‘नभए ५ दिने तालिमको भरमा अरुले आइसियु र भेन्टिलेटर चलाउनु भनेको हाँस्यास्पद हो ।’

‘स्रोतसाधन खेरमात्रै’

प्रदेशका अधिकांश अस्पताल मेडिकल अफिसरको भरमा चलिरहेका छन् । जिल्ला अस्पतालमा आवश्यकता अनुसारका जनशक्ति नभइरहेका बेला प्रदेश सरकारले आइसियु र भेन्टिलेटर चलाउन खोज्नु स्रोत साधन खेर फाल्ने बाटो भएको विज्ञ बताउँछन् ।

‘आइसियु चलाउन एनेस्थेसियोलोजिस्ट नभए पनि कम्तीमा फिजिसियन चाहिन्छ । एमडिजिपी डाक्टर भएको ठाउँमा तालिम दिए चलाउन सकिएला,’ नाम नबताउने सर्तमा पोखराको १ निजी अस्पतालमा कार्यरत कन्सल्टेन्ट फिजिसियन भन्छन्, ‘जनशक्ति नभई जिल्लामा आइसियु चलाउनु भनेकोस्रोतसाधन किनेर खेर फाल्नुमात्रै हो ।’

पोखरा र बागलुङमा आइसियु चलाउन आवश्यक कर्मचारी भए पनि अरु जिल्लामा त्यसलाई चलाउन कठिन हुने ती फिजिसियनको भनाइ छ ।

तपाईको प्रतिक्रिया