ढोरपाटनका पहिरोपीडितकाे व्यवस्थापन गर्न प्रमुख सचेतक कँडेलकाे आग्रह

समाधान संवाददाता २०७७ भदौ २६ गते १४:३१

समाधान संवाददाता
पोखरा

बागलुङको ढोरपाटनमा भदौ १७ गते गएको बाढीपहिरो पीडितलाई राहत वितरण र व्यवस्थापन गर्न नेपाली कांग्रेस संसदीय दल, गण्डकीले माग गरेको छ । दलका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले बिहीबार विज्ञप्ति निकालेर ३ तहका सरकारले पीडितका पीरमर्का बुझेर राहत लगायत मल्हमपट्टी गर्नुपर्नेमा आजसम्म नभएकोमा उनले ध्यानाकर्षण गराएका छन् ।

उक्त ठाउँमा अवलोकन गर्न १८ र १९ गते आफैं पुगेको भन्दै संघीय सरकारका गृहमन्त्रीले हवाई निरीक्षण गरी सानो सभामा संवोधन गरे पनि गर्नै पर्ने काम भने नभएको कँडेलले जनाएका छन् ।

Advertisement

विभिन्न दाताबाट उपलब्ध राहत सहयोग ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा थुपारी नराखेर पीडितका घरघरमा छिटो पुर्‍याउन उनले माग गरेका छन् । अन्य राहत सामग्री पीडित क्षेत्रमा पुर्‍याउन थोरै खर्च गरेर बनाउन सकिने वडा नम्बर ७ र ८ नम्बरको मोटरबाटो तत्काल मर्मत गर्न पनि उनले आग्रह गरेका छन् ।

उक्त बाढीले बगाएको स्वास्थ्य चौकीलाई पायक पर्ने अरु ठाउँमा अस्थायी पोस्ट बनाउन र स्वास्थ्य सेवा पुन सञ्चालन गराइ थप औषधी प्याकेजका रुपमा उपलब्ध गराउन विज्ञप्तिमार्फत् उनले माग गरे । उनले विज्ञप्तिमा भनेका छन्, ‘ध्वस्त भएका साना जलविद्युत योजना मर्मत गर्न समय लाग्ने भएकाले टोलटोलमा सोलार जडान गराइ सबैलाई मोबाइल चार्जको सुविधा उपलब्ध गराइ सञ्चार सेवाबाट वञ्चित नगराइयोस ।’

Advertisement

पीडितलाई समयमै राहत उपलब्ध गराउने कार्यमा ढिलासुस्ती र बेवास्ता नगर्न सबै तहका सरकारलाई उनले अनुरोध गरेका छन् ।

ढोरपाटनको ७, ८ र ९ नम्बर वडामा भदौ १७ गते राति अकस्मात बाढी पहिरो आउँदा भुजीखोला आसपासमा ठूलो धनजनको क्षति भएको छ । अब स्थानीय पीडितलाई खाद्यान्न राहतभन्दा पनि सामूहिक स्थायी बसोवासको आवश्यकता छ ।

तपाईको प्रतिक्रिया