फिस्टेल हस्पिटललाई प्रश्नः स्वाब परीक्षणलाई पठाएपछि शव किन परिवारको जिम्मा लगाएको ?

समाधान संवाददाता २०७७ भदौ २७ गते १३:३४

अनुप आत्रेय, पोखरा

गैरापाटनस्थित फिस्टेल अस्पतालमा उपचाररत ४५ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भयो । क्यान्सर पीडित उनको शुक्रबार बिहानै स्वाब लिइयो ।

त्यसपछि अस्पतालले शव परिवारको जिम्मा लगायो । परिवारले शुक्रबार दिउँसो रामघाटमा दाहसंस्कार गर्‍यो । शुक्रबार दाहसंस्कार गरिएकी ती महिलाको शनिबार कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

Advertisement

कोरोना परीक्षणलाई स्वाब पठाएकाले परिवार र आफन्तले उनको शव बुझ्न मानेको थिएन । तर अस्पताल प्रशासनले शव जिम्मा लगाएरै छोड्यो ।

‘शव बुझ्न मानेका थिएनौं । पटकपटक भन्यौं तर उहाँलाई अरु समस्या छैन भनेर शव लैजान भन्नुभयो,’ मृतकका एक आफन्तले भने ।

Advertisement

ती पोखराका पर्यटन व्यवसायीकी श्रीमती हुन् । उनको श्रद्धाञ्जली सभामा झन्डै १ सय जना उपस्थित थिए । ती महिलालाई श्रद्धाञ्जली दिन गण्डकी प्रदेशका सांसद रामजी बराल (जीवन), सांसद राजीव पहारी, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, उपाध्यक्ष कृष्णकुमारी पौडेल, पर्यटन व्यवसायीलगायत रामघाट पुगेका थिए । उनको श्रद्धाञ्जली सभामा सहभागी भएकाहरु अहिले होम क्वारेन्टाइनमा बसेका छन् ।

फिस्टेलले स्वाब परीक्षणलाई दिएर शव आफन्तको जिम्मा लगाएकोमा स्वास्थ्य सरोकारवालाहरु आक्रोशित छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्मा अस्पताललाई प्रश्न गर्छन्, ‘परीक्षणका लागि स्वाब पठाएपछि शव किन परिवारको जिम्मा लगाएको ?, एकदिन रिपोर्ट कुर्न किन नसकेको ?’

उनले अस्पताल प्रशासनलाई विभिन्न ८ प्रश्न गरेका छन् । यस्ता छन् स्वास्थ्य शिक्षा प्रशिक्षक शर्माका प्रश्न :

१. मृतक महिलाको कोरोना परीक्षण किन गरेको ?

२. परिक्षणको लागि नमुना क्षयरोग केन्द्रमा पठाएपछि मृतकको शव किन परिवारलाई हस्तान्तरण गरिएको ? एक दिन पनि रिपोर्ट कुर्न किन नसकेको ?

३. नमुना संकलन गरेपछि रिपोर्ट नआउन्जेल कुर्नुपर्छ भन्ने अस्पताल संचालकलाई थाहा नभएको हो ?

४. कि अस्पताल प्रशासनले प्रदेश सरकारलाई अटेरी गरेको हो ?

५. अस्पताल प्रशासनले गरेको गल्तीले गर्दा हिजो मलामी गएका व्यक्तिमा संक्रमणको जोखिम देखियो भने त्यसको जिम्मेवारी फिस्टेल अस्पतालले लिने कि नलिने ?

६. यो गल्तीमा प्रदेश सरकारले गर्ने सजाय स्वीकार गर्ने कि नगर्ने ?

७. के फिस्टेल अस्पतालले जे गरेपनि हुने हो, मनपरी छ अस्पताललाई जनस्वास्थ्यको विषयमा ?

८. यो महामारीको बेलामा यस्तो मनपरी किन ?

अस्पताल प्रशासन भने निजी अस्पतालबाट पठाइएका स्वाब परीक्षणमा ढिलासुस्ती गरिएकाले शव राख्न नसकिएको बताउँछ । ‘स्वाब लियो, पठायो । तर २/३ दिनसम्म रिपोर्ट आउँदैन । त्यतिबेलासम्म शव कहाँ राख्ने ?’ फिस्टेल हस्पिटलका सञ्चालक अशोक पालिखेले भने ।

प्रदेश स्वास्थ्य निर्देशनालयले अस्पतालका कर्मचारी र बिरामीको रिपोर्ट पोजेटिभ आए अस्पताललाई जानकारी नदिई मिडियामा सार्वजनिक गर्ने गरेकोमा अध्यक्ष पालिखेले आक्रोश पोखे । आफ्नो अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएको औपचारिक जानकारी आफूहरुलाई अझै नआएको उनले सुनाए ।

‘बिरामीको स्वाब अस्पतालले पठाएपछि रिपोर्टबारे अस्पताललाई जानकारी दिने कि बाहिर हल्ला गर्ने ?’ स्वास्थ्य निर्देशनालयलाई सञ्चालक पालिखेले प्रश्न गरे । अहिले अस्पतालको आइसियु कक्ष बन्द गरिएको र सम्पर्कमा आएका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए ।

शुक्रबार मृत्यु भएकी महिला बुधबार अस्पताल भर्ना भएकी थिइन् । उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि बिहीबारदेखि आइसियुमा राखेर उपचार थालिएको थियो । उपचारक्रै क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको हो ।

कास्कीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । अन्नपूर्ण गाउँपालिकाका १ संक्रमित र पोखराका ७ संक्रमितको मृत्यु भएको हो । उनी निजी अस्पतालमा मृत्यु भएकी पोखराकी पहिलो संक्रमित हुन् ।

अरु संक्रमितको भने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो । क्षेत्रीय अस्पतालमा मृत्यु हुनेमा स्याङ्जाका ३, लमजुङका १ र पोखराका ६ संक्रमित छन् । अन्नपूर्ण गाउँपालिकाकी १ संक्रमितको भने काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालमा मृत्यु भएको हो ।

गण्डकी प्रदेशभर २४ संक्रमितको मृत्यु भएको छ ।कास्कीका ८, गोरखाका ४, तनहुँ, नवलपुर र स्याङ्जाका ३/३, म्याग्दी, लमजुङ र बागलुङका १/१ संक्रमितको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया