५४ युनिट रगत संकलन

समाधान संवाददाता २०७७ भदौ २७ गते १८:५५

पोखरा

लायन्स क्लब अफ पोखरा हिमालयनले शनिबार गरेको कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् । क्लबको वार्षिक कार्यक्रम अन्तरगत क्षेत्रीय रक्त सञ्चारकेन्द्र पोखराको प्राविधिक सहयोगमा पोखरा ९ नयाँबजारमा आयोजित उक्त कार्यक्रममा ५४ युनिट रगत संकलन भएको क्लब अध्यक्ष लायन दिनेशराज शाक्यले जानकारी दिए ।

ब्लड डोनेसन डिपार्टमेन्ट चिफ लायन बालकृष्ण शर्माले पहिलो रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । उनले लायन्स क्लबहरुले यस्ता प्रकारका मानविय सेवाका कयौं कार्यहरु मार्फत सामाजिक उत्तरदायित्व बहन गरिरहेको बताए । यस्ता प्रकारका कार्यक्रमहरुको निरन्तरता जरुरी रहेकामा उनले जोड दिएका छन् ।

Advertisement

कार्यक्रममा जोन चियरपर्सन सपना रानाले कोरोना महामारीका कारण अस्पतालमा उपचार गराइरहेका बिरामीहरुका लागि समेत रगतको अभाव हुन थालेपछि लायन्सले रक्तदान गर्दै आएको बताइन् ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्तदान गर्दा मानिस थप स्वस्थ र तन्दुरुष्ट हुने उल्लेख गर्दै योग्य र स्वस्थ मानिसका लागि रक्तदान अनिवार्य हुने बताए । क्लब अध्यक्ष दिनेशराज शाक्यको सभापतित्वमा भएको कार्यक्रममा स्वागत पूर्व अध्यक्ष एवं सल्लाहकार सुविन्द्र श्रेष्ठ र सञ्चालक सचिव नविन नापितले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया