मुस्ताङमा राष्ट्रिय परिचयपत्र वितरण

समाधान संवाददाता २०७७ भदौ २७ गते १९:०१


एसके थकाली
जोमसोम

मुस्ताङमा राष्ट्रिय परिचयपत्र वितरण अभियान सुरु भएको छ । राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी कार्यविधि २०७५ बमोजिम जिल्ला प्रशासन कार्यालय मुस्ताङले गत असार १ गते देखि राष्ट्रिय परिचयपत्र वितरणकार्य अघि बढाएको हो ।

Advertisement

यसअघि आर्थिक वर्ष २०७५÷०७६ को माघमा मुस्ताङको जोमसोमस्थित जिल्ला प्रशासनमा कार्यालय स्थापना भएको थियो । कार्यालय स्थापना भएको करिब ५ महिनापछि करारमा कर्मचारी नियुक्तिसँगै राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले जानकारी दिइन् ।


मुस्ताङको जोमसोममा एकमात्र राष्ट्रिय परिचयपत्र वितरण गर्ने केन्द्र छ । एक वितरण केन्द्रले दैनिक ४० जनाको विवरण दर्ता गर्ने प्रावधान तोकेको छ । अहिले नेपाली नागरिकता प्राप्त व्यक्तिको विवरण दर्ता गर्ने कार्यमात्र भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताइन् ।

Advertisement

मुस्ताङमा कार्यालय स्थापना भएको २ महिनापछि राष्ट्रिय परिचयपत्र वितरणले तिब्रता पाएको हो । गत निर्वाचनमा ९ हजार ४ सय २७ मतदाता रहेको मुस्ताङमा भाद्र २६ गते शुक्रबारसम्म २ सय ७४ नागरिकता प्राप्त व्यक्तिको विवरण संकलन भएको वितरणकेन्द्रका कम्प्युटर अपरेटर बुद्धिरत्न थकालीले जानकारी दिए । उनका अनुसार थासाङ गाउँपालिका—१ टुकुचे र घरपझोङ—५ ठिनी गाउँ लगायत व्यक्तिले परिचयपत्रका लागि विवरण दर्ता गरेका हुन् ।

भौगोलिक रुपले विकट मानिएको हिमाली जिल्ला मुस्ताङमा मुख्य वितरणकेन्द्रमा गरिने कार्य स्थगित गरी उपल्लो मुस्ताङ र तल्लो मुस्ताङक्षेत्रमा घुम्ती शिविरका रुपमा परिचयपत्र वितरण गर्ने योजना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सरकारी सेवा सुविधालाई छिटो÷छरितो र प्रभावकारी तुल्याउने उद्देश्यले सरकारले मुलुकका ७७ वटै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने अभियाान थालेको हो । सरकारले हरेक नागरिकको जैविक तथा व्यक्तिगत विवरण सुरक्षित भण्डार गर्दै सरकारी तथा गैरसरकारी सेवाप्रदायक संघसंस्थाको कामकाजलाई चुस्त÷दुरुस्त राख्न राष्ट्रिय परिचयपत्र वितरण अभियान थालिएको हो ।

सरकारले १६ वर्ष पुगेका नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने मापदण्ड तोकेको छ । वितरण गर्ने कार्र्डमा नागरिकलाई नदोहोरिने गरी युनिक कोर्ड दिइन्छ । जुन कोर्ड पञ्जीकरण विभागको केन्द्रमा सुरक्षित रहनेछ । परिचयपत्रको जैविक विवरणमा व्यक्तिको १० वटै औंलाको औंठा छाप र तस्बिर राखिने छ । व्यक्तिगत विवरणमा नामथर, वर्ण, उमेर, लिंग, ठेगाना, जन्म मिति, पतिपत्नीको नामथर र प्रमाणपत्र नम्बर हुनेछ ।

अन्तर्राष्ट्रिय स्तरको मापदण्ड रहेको परिचयपत्र अर्थात स्मार्ट कार्ड राष्ट्रिय पहिचान सहितको कानुनी दस्तावेज मानिएको छ । यसभित्र नागरिकको राहदानी, नागरिकता, मालपोत, यातायात, पञ्जीकरण कार्यालय, लोकसेवा आयोग, स्थानीय निकाय, बैंक तथा वित्तीय संस्था, टेलिकम, लाइसेन्स, पान नम्बर लगायत नागरिकको सबै प्रकारको परिचय खुल्ने केन्द्रीकृत अभिलेख हुनेछ ।

तपाईको प्रतिक्रिया