पोखरामा आजदेखि डेढ सय सार्वजनिक बस चल्ने

समाधान संवाददाता २०७७ भदौ २७ गते १९:५०

समाधान संवाददाता, पोखरा

कास्कीमा निषेधाज्ञा जारी भएपछि थन्किएका सार्वजनिक गाडी आइतबारदेखि चल्ने भएका छन् । जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबारको बैठकले सार्वजनिक गाडी चलाउन दिने निर्णय गरेसँगै पोखरामा डेढ सय बस चल्ने भएका हुन् ।

पोखरा बस व्यवसायी कम्पनीका अध्यक्ष देउप्रसाद गुरुङले आवश्यक सुरक्षा सतर्कता अपनाएर ५० प्रतिशत गाडी चल्ने बताए ।

Advertisement

‘कसैको गाडी बनाउनु छ । कसैका चालक/सहचालक छैनन् । आइतबारदेखि लगभग ५० प्रतिशत गाडी गुड्छन्,’ उनले भने । पोखरामा ३ सय ७५ भन्दा धेरै सार्वजनिक बस छन् । आइतबारेदेखि गुड्ने बसले यात्रुसँग दोब्बर भाडा लिन पाउने छन् तर क्षमताभन्दा आधामात्रै यात्रु राख्नुपर्नेछ ।

कोरोना संक्रमित बढ्न थालेपछि कास्कीमा ३ भदौदेखि निषेधाज्ञा जारी गरिएको थियो । ७ भदौपछि प्रशासनले निषेधाज्ञा सर्तसहित खुकुलो बनाइँदै आएको छ ।

Advertisement

१२ भदौसम्म निषेधाज्ञा कडा भए पनि त्यसयता कास्कीमा निषेधाज्ञामा कडाइ गरिएको थिएन । १३ भदैदेखि प्रशासनले ट्याक्सी सञ्चालन र रेस्टुरेन्टको टेक अवे सेवामा छुट दिएको थियो ।

१३ भदौदेखि प्रशासनले जोरबिजोर प्रणाली लागु गरेको थियो । तर जोरबिजोर निर्णयमा मात्रै सीमित रह्यो । निर्णयमा सीमति जोरबिजोर प्रणाली हटाएर प्रशासनले सबै खाले निजी सवारी साधन बिहान ६ बजेदेखि राति ८ बजेसम्म चलाउने पाइने निर्णय गरेको छ ।

शैक्षिक संस्था, जिम, रंगशाला, ब्युटी पार्लल, सैलुन, मेला महोत्सव र अन्य भीडभाड हुने क्रियाकलाप ७ असोजसम्म सञ्चालन गर्न नपाइने सिडिओ ज्ञानप्रसाद ढकालले जानकारी दिए ।सहकारी, बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयले सामाजिक दुरी कायम गरेर सेवा प्रवाह गर्न सक्ने सिडिओ ढकालले बताए।

तपाईको प्रतिक्रिया