सिन्धुपाल्चाेक पहिराेमा कम्तीमा २३ बेपत्ता, बिहानैबाट उद्धार सुरु

समाधान संवाददाता २०७७ भदौ २८ गते ७:४९

पाेखरा

सिन्धुपाल्चोकको बाह्रविसेस्थित भिरखर्क, डाँडागाउँ, नागपूजे, जुगलसहितका स्थानमा पहिरो जाँदा कम्तीमा पनि १८ घर पुरिएका छन्।

लगातारको वर्षापछि आइतबार बिहान गएको पहिरोले घरहरु पुरिएको र २३ जना हराइरहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

Advertisement

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले पहिरोको जानकारी आएको तर क्षतिको विवरण भने नआएको बताए।

घटनास्थलमा सुरक्षा टोली पुगेको प्रहरीले जनाएको छ।

Advertisement

नागपूजे पहिरोले ९ घर पुरिएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन्।

अरु ठाउँमा पनि घर बगाएको र मानिसहरु बेपत्ता भएको जानकारी आए पनि यकिन नभएको उनले बताए। पहिरो गएका स्थानमा आर्मी, प्रहरी, सशस्त्र परिचालन भएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए।

तर बाह्रविसे नगरपालिका–७ को भिरखर्कबाट आएको पहिरोले भिरखर्कका तीन घर बगाएको र ६ जना बेपत्ता भएको मेयर निमफुन्जो शेर्पाले जानकारी दिएका छन् ।

सो पहिरोले नागपूजेमा ९ घर बगाउँदा १७ जना बेपत्ता भएको र एकजनाको शव फेला परेको उनले बताए । यस्तै नागपूजेमा एकजना घाइते भएको जानकारी दिएका मेयर शेर्पाले आफू घटनास्थल पुग्दै गरेको बताए ।

सिन्धुपाल्चोकको लिदीमा गएका साउन ३० गते गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन्।

तपाईको प्रतिक्रिया