ड्रागन फ्रुटको स्रोत बगैंचा निर्माण गर्दै कालीगण्डकी

समाधान संवाददाता २०७७ भदौ २९ गते ९:५७

सुशील सुवेदी
वालिङ, २९ भदौ

सिउँडी प्रजातिको नौलो फल ड्रागन फ्रुट नेपालमा पनि लोकप्रिय हुन थालेको छ । दक्षिण अमेरिकाको मेक्सिकोबाट उत्पत्ति भएको यो फललाई स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले स्रोत बगैंचाको रुपमा विकास गर्न सुरु गरेको छ ।

पालिकाको पहिचान नै यस फलबाट बनाउने उदेद्दयले स्रोत बगंैचा स्थापना गर्दै प्रत्येक किसानलाइ बिरुवा वितरण गर्न बगैंचाको निर्माण गरिएको हो । यस बगैंचाबाट आगामी वर्ष १० हजार विरुवा उत्पादन हुने र कृषकलाइ वितरण गरिने गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए ।

Advertisement

बाँदरको समस्यामा रहेका किसानलाई पनि यो खेती फलदायी हुने बताउँदै थापा भन्छन्, ‘नयाँ फलको बजारमूल्य, अत्यधिक माग र हाम्रो भूगोलमा सम्भावना देख्यौं र पालिकाको पहिचान ड्रागन फ्रुट बनाउने गरी अभियान सुरु गरेका छौं ।’

माटो परीक्षण गरे पश्चात् यस श्रेत्रमा ड्रागन फलफूलको सम्भावना देखेपछि पालिकाले मुख्य खेती ड्रागन फलफूल बनाउन अभियान सुरु गरेको हो । यस खेतीबाट राम्रो आम्दानी हुनेभएपछि यहाँका कृषक उत्साहित भएको गाउँपालिका उपाध्यक्ष सावित्रा कोइरालाले बताइन् ।

Advertisement

संघीय सरकार अन्तर्गत भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको ४० लाख र स्थानीय तहको १० लाखको लागतमा स्रोत बगैंचा निर्माण गरिएको हो । पालिकाले २४ रोपनी जग्गा १५ वर्षको लागि भाडामा लिएर बगैंचा निर्माण गरेको हो । कृषकले वार्षिक २ हजारदेखि २ हजार २ सय रुपैयाँप्रति रोपनी भाडामा दिएका छन् ।

यो खेतीलाई पहिलो चरणमा वडा नं ५ मा परीक्षण गरिएको थियो । नौलो फलफूल ड्रागन फ्रुटलाई कालिगण्डकी गाउँपालिकाले महत्वपूर्ण नगदे बाली बनाउने भएपछि बाँदर आतंकले पीडित कृषकलाई पनि केही राहत मिल्ने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया