मुस्ताङको उच्चलेकमा रोगले मर्न थाले ‘हिमाली नाउर’

समाधान संवाददाता २०७७ भदौ २९ गते १२:१०

एसके थकाली
जोमसोम

विश्वकै अग्लो उचाइमा अवस्थित तिलिचो पदमार्गको मुस्ताङतर्फ पर्ने मेसोकोन्दो लेंकमा हिमाली वन्यजन्तु नाउर धमाधम रोगले मर्न थालेका छन् । अन्नपूर्ण संरक्षण आयोजना अन्र्तगत पर्ने मुस्ताङको ठिनी हुँदै तिलिचो पदमार्गको उच्चलेकमा पछिल्लो समय वन्यजन्तु नाउर रोगले मर्न थालेका हुन् ।

अन्नपूर्ण संरक्षणक्षेत्र आयोजनाको वन्यजन्तु वर्गीकरण नियमावली अनुसार नाउर अर्धसंरक्षित प्रजातिका रुपमा मानिएको छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड—१९ का कारण मुस्ताङका व्यवसायी तिलिचो भ्रमण गर्ने क्रममा वन्यजन्तु नाउर उच्चलेकमा फेला परेको हो ।

Advertisement

तिलिचोबाट फर्किएका केही व्यक्तिहरुले उच्चलेकमा नाउर रोगव्याधिले मरेको खबर गराएपछि अहिले एक्यापको प्राविधिक तथा संरक्षण व्यवस्थापन समितिको टोली घटना स्थलमा जाँदै गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसीप्रसाद दाहालले जानकारी दिए ।

कार्यालय प्रमुख दाहालका अनुसार प्रारम्भिक जानकारीमा ३ वटा हिमाली नाउर मरेको पुष्टि भएको छ । लेक पूरै चाहार्दै गएपछि कतिसंख्यामा मरेको भन्ने एकिन गर्न सकिने कार्यालय प्रमुख दाहालले स्पष्ट पारे ।

Advertisement

तिलिचो घुमेर र्फिर्कएका व्यक्तिहरुले उच्चलेंकमा बस्ने याकचौरी गोठालासँग सोधपुछ गर्दा नाउरहरुमा आखा पाक्ने समस्या देखिएको हो । जस्तोसुकै अप्ठ्यारोमा पनि सहज रुपमा आउजाउ गर्न सक्ने वन्यजन्तु नाउर आँखामा रोग लागेपछि आँखा देख्न छाडी भीरबाट लडेर मर्न थालेको जनाइएको छ । २ दिन अघि तिलिचो पुगेर फर्किएका जोमसोमका स्थानीय विकल गुरुङले उच्चलेंकमा दर्जनौ नाउर मरेको हुनसक्ने आशंका व्यक्त गरे ।

एक्याप जोमसोमले वन्यजन्तु के कारण र कसरी ÷कुन प्रकारको रोग लागेको हो भन्ने अनुसन्धानकार्य बढाउने जनाएको छ । एक्याप प्रमुख दाहालले घटना स्थलबाट टोलि फर्किएपछि मरेका नाउरको र्‍याल संकलन गरी राष्ट्रिय प्रकृति संरक्षण कोष अन्र्तगतको जैविक विविधता केन्द्र चितवनको प्रयोगशाला पठाइने जानकारी दिए ।

‘र्‍याल ल्याबमा पठाउने तैयारी भएको छ । प्रयोगशालाको अनुसन्धानपछि रोगको पहिचान हुने र त्यसको रोकथामका लागि आवश्यक पहल गरिनेछ ।’
समुन्द्री सतहबाट करिब ३ हजार देखि ५ हजारभन्दा बढी उचाइसम्मको उच्चलेक नाउरको मुख्य बासस्थान हो । मुस्ताङको तल्लोक्षेत्र थासाङ गाउपालिकाको कोवाङ देखि माथिका उच्चलेंकमा नाउर पाइने गर्छ ।

गर्मीयामको मौसममा नाउर पानी खान कालिगण्डकी नदीमा आइपुग्छन् ।
हिमाली क्षेत्रका भूगोलसँग मिल्दो नाउरको प्राकृतिक विशेषताले नजिकैबाट नाउर ठम्याउन सकिँदैन । मुस्ताङमा अधिकांशले बुद्ध धर्म मान्ने भएकाले बस्ती नजिक आएका नाउर देखेर पनि स्थानीयले को शिकार गर्दैनन् ।

स्तनधारी जनावरको रुपमा चिनिने नाउर नेपालका हिमाली जिल्लाहरुमा पाइने गर्छ । नेपाल र तिब्बतमा नाउर पाइन्छ । हिमाली क्षेत्रमा नाउरको ५ वटा प्रजातिहरु रहेको पाइन्छ । त्यसमध्येको नेपालमा धेरै पाइने मुख्य हिमाली भेडा नाउरनै हो । यसको पेट तथा सपेटामा हल्का खैरो र अन्य भागमा खैरो रङको देखिन्छ ।

नाउर गर्मी समयमा करिब १५ हजार फिटभन्दा माथि नै बस्ने गर्छ । जाडो समयमा अलि तल झर्ने गर्छ । बिहान र साँझपख मात्रै आहाराका लागि निकै सक्रिय हुने गर्छन् ।

तपाईको प्रतिक्रिया