पोखरामा कोरोनाः संक्रमितको संख्यामा ‘रेकर्ड ब्रेक’

समाधान संवाददाता, पोखरा
पोखरामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । आज दिउँसो १ बजेसम्म पोखरामा ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
‘यसअघि सबैभन्दा धेरै भनेको एकैदिन ३४ जना हुनुहुन्थ्यो । आज अहिलेसम्मकै धेरै संक्रमित थपिनुभयो,’ पोखरा महानगरपालिकाका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले भने ।
स्याङ्जाको पुतलीबजार नगरपालिकाकी ८० वर्षीया महिला गण्डकी मेडिकल कलेजमा उपचाररत भएकाले उनलाई पनि पोखराको तथ्यांकमा समावेश गरिएको छ । अरु ५० संक्रमित पोखराकै हुन् ।
स्वास्थ्य निर्देशनालयले बिहान ६ः४० बजे जारी गरेको विज्ञप्तिमा १७ जना थपिएको उल्लेख थियो । त्यसपछि ११ः४५ बजेको विज्ञप्तिमा ३ जना र १ः२० बजेको विज्ञप्तिमा ३० जना थपिएको उल्लेख छ ।
योसहित पोखरामा कोरोना संक्रमितको संख्या ६१७ पुगेको छ । तीमध्ये २ सय ५८ जना निको भएको अधिकृत आचार्यले जानकारी दिए । पोखराका कुल संक्रमितमध्ये ७ जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६४ पुगेको छ । प्रदेशमा आजमात्रै ९१ संक्रमित थपिएका छन् । तीमध्ये १८ सय ६१ जना निको भएका छन् भने २९ संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्कीका ९, नवलपुर र गोरखाका ५, तनहुँका ४, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।
तपाईको प्रतिक्रिया