पाेखराकाे खानेपानी स्राेत प्रदूषित नगराउन उच्च अदालतकाे आदेश

समाधान संवाददाता २०७७ भदौ ३० गते ६:१०

समाधान संवाददाता
पोखरा

तीब्र सहरीकरण भएका बस्तीहरुमा खानेपानीको समस्या हुन्छ । पानीकै लागि धेरै समय खर्चिन सहरीयाहरु बाध्य हुन्छन् । पोखराको मुख्य बजारमा खानेपानीको खासै समस्या छैन । केही वडाहरुमा पानी अभाव भए पनि बोरिङबाट तानेर आपूर्ति हुँदै आएको छ । तर अझै पनि पोखरेली स्वच्छ पानीबाट बञ्चित छन् ।

मर्दीखोलाबाट सिधै ल्याएको पानी केवल थिग्र्याएको भरमा वितरण हुँदै आएको छ । पोखरेलीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने भनेर भन्ने थालेको पनि धेरै नै भयो । जापान सरकारको सहयोगमा यसैका लागि बृहत् योजना पनि अहिले चलिरहेकै छ । तर यहाँका उपभोक्ता ढुक्क हुन सकेका छैनन् ।

Advertisement

जसै बर्खा सुरु हुन्छ उसै पोखरेलीका धारामा पानी होइन लेदो झर्न थाल्छ । उपभोक्ताले जति गुनासो गर्दा पनि यसमा सुधार हुन सकेको छैन । खानेपानी वितरणको जिम्मा लिएको खानेपानी संस्थान बर्खा लागेपछि पत्रिका र रेडियोमा सूचना प्रकाशन÷प्रसारण गर्छ– बर्खाको बेला पानी उमालेर वा निर्मलीकरण गरेर खानुहोला भनेर ।

पोखरामा खानेपानी आउने मुख्य स्रोत मर्दीखोला र त्यसका सहायक खोलामा गिटी बालुवाका लागि लागि आह्वान गरिएको टेन्टर रद्ध गर्न जिल्ला समन्वय समिति कास्की प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीको ध्यानाकर्षण गर्दै नागरिक समाज कास्की । माछापुच्छ्रे गाउँ पालिकाद्वारा टेन्डर आह्वान गरिएकोमा यस्ता गतिविधिले पानी प्रदूषित हुने भएकाले ध्यानाकर्षण गराइएको नागरिक समाज पोखराका संस्थापक रामबहादुर पौडेलले बताए ।
तस्बिर : समाधान

खानेपानी भनेर जोडेको धारामा वर्षका ४ महिना लेदोमात्र झर्ने भएपछि उच्च अदालतमा परेको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । अधिवक्ता मीनाकुमारी रानाभाटले दायर गरेको रिटमा न्यायाधीशद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र विनोदमोहन आचार्यको इजलासले विपक्षीका नाममा आइतबार कारण देखाऊ आदेश जारी गरेको हो ।

Advertisement

अधिवक्ता रानाभाटले नेपाल खानेपानी संस्थान पोखरा, पोखरा महानगरपालिका, भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशसमेतलाई विपक्षी बनाई उच्च अदालतमा रिट दर्ता गरेकी हुन् ।

स्वच्छ खानेपानी मानवजीवनको स्वास्थ्यसँग सम्बन्धित भएकोले मर्दीखोला खानेपानी मुहान फोहोरमैला, हिलो मिसिएको पानी, चौपाया आहाल बस्ने, मानव दिसापिसाब लगायत प्रदूषित कार्य गर्ने गराउने लगायत मानवीय गतिविधि रोक्न र निगरानी गर्न अदालतले खानेपानी संस्थान पोखराका नाममा आदेश गरेको छ ।

तत्कालीन अवस्थामा गर्न सक्ने सम्भव भएसम्मको काम यथोचित प्रभावका रुपमा व्यवस्थापन गर्न पनि आदेश भएको छ । वितरण गरेको पानी पिउनयोग्य छ छैन सोको ल्याबसहितको प्रतिवेदन पेसीका दिन पेस गर्न पनि अदालतले संस्थानालई आदेश गरेको हो ।

‘विपक्षीले उल्लेखित कार्य गरे–नगरेको र खानेपानी मुहानको अवस्था के कस्तो छ अनुगमन नियमित रुपमा विपक्षी पोखरा महानगरपालिका र भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशको समन्वयबाट गरी मुद्दा पेसीका दिन सोको प्रतिवेदन पेस गर्न आदेश गरिएको छ,’ आदेशमा उल्लेख छ ।

निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता तीलक पराजुली, अधिवक्ता रोहितराज बास्तोला विनोद रेग्मी, शालिग्राम भट्टराई, उत्तम केसी र मीनाकुमारी रानाभाटले बहस गरेका थिए ।

नेपाल खानेपानी संस्थान पोखराका तर्फबाट अधिवक्ता कमलप्रसाद अर्याल, भौतिक पूर्वाधार विकास मन्त्रालयको तर्फबाट मुख्य न्यायाधिवक्ता कार्यालय पोखराका उपन्यायाधिवक्ता दयाशंकर अधिकारीले बहस गरेका थिए ।
मर्दीबाट पोखरा बजारमा आपूर्ति हुने पानीमा हिलो मिसिएको लेदो, पातपतिंगरका टुक्रा, जुका, गड्यौंलासमेत मिसिएर प्रदूषणयुक्त पानी धारामा आउने गरेकाले यसलाई रोक्न माग गर्दै रानाभाटले भदौ १६ मा रिट दायर गरेकी हुन् ।

खानेपानीको मुहान संरक्षण नगरेकै कारण मर्दीखोला, कालीखोला, लगायत मुहानमा लास जलाउने, चौपाया आहाल बस्ने गरेका र मानव दिसासमेत भेटिएको कुराहरु सञ्चार माध्यममार्फत् आइरहेको रिटमा उल्लेख छ ।

‘खानेपानी संस्थानले न त पानीको मुहानलाई संरक्षण गरी प्रदूषित हुनबाट जोगाएको छ, न त संकलित पानीलाई उपचार वा अन्य कुनै प्रविधिको प्रयोग गरी प्रदूषणरहित गरिएको छ,’ रिट निवदेनमा अधिवक्ता रानाभाटले भनेकी छन् । पोखरा नगर क्षेत्रमा खानेपानीको जिम्मा लिएको संस्थानले प्रदुषणयुक्त पानी उपलब्ध गराई नागरिकहरुको स्वास्थ्यप्रति खेलवाड गरिरहेको उनले आरोप लगाएकी छन् ।

तपाईको प्रतिक्रिया