कांग्रेस नेता गुरुङको अन्त्येष्टि

समाधान संवाददाता २०७७ भदौ ३० गते ६:२४


समाधान संवाददाता
पोखरा

नेपाली कांग्रेस कास्कीका नेता सिकन्दर कुमार गुरुङ ‘भोजे’ को सोमबार अन्त्येष्टि गरिएको छ ।

पोखरा रामघाटस्थित बौद्व अर्घाै सदनमा गुरुङ बौद्व परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि अघि पोखरा ५ पस्र्याङस्थित निवासमा नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत, पूर्व महामन्त्री तारानाथ रानाभाट, नेता शुक्रराज शर्मा, कास्की कांग्रेस सभापति कृष्ण केसी र पूर्व सभापति यज्ञबहादुर थापाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए ।

Advertisement

श्रद्वाञ्जली अर्पणका लागि पार्टीका नेता, सयौं कार्यकर्ता र शुभेच्छुक पुगेको कांग्रेस प्रचार विभागका केन्द्रीय सदस्य राजबहादुर गुरुङ जनाएका छन् । निवासदेखि बौद्व अर्घाै सदनसम्म शवयात्रा गरिएको थियो ।

केही समय अघिदेखि हेपाटाइटिसबाट प्रभावित गुरुङको उपचारका क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा आइतबार दिउँसो निधन भएको हो । उनी ५८ वर्षका थिए । उनका पत्नी र २ छोरा छन् ।

Advertisement

२०१९ साल असार २९ गते कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ भदौरे, देउरालीमा जन्मेका गुरुङ हाल पोखरा ५ पस्र्याङमा बस्दै आएका थिए ।

गुरुङ पार्टीभित्र इमान्दार, निष्ठावान, सरल र त्यागि नेताका रुपमा लोकप्रिय थिए । २०३६ र २०४६ को क्रान्तिमा अग्रमोर्चामा रहेर भूमिका निर्वाह गरेका गुरुङ निडर र स्पष्ट वक्ता थिए ।

बिना स्वार्थ पार्टीको सशक्तीकरण र कार्यकर्ताको समस्या बारेमा खुलेर बोल्न सक्ने नेताकोे छवि बनाएका थिए । उनी पछिल्लो पटक कास्की क्षेत्र नं ३(ख) प्रदेशसभामा उम्मेदवार बनेका थिए ।

नेपाली कांग्रेस कास्कीले सोमबार शोक विज्ञप्ति प्रकाशित गरी गुरुङको निधनले पार्टी स्तब्ध भएको जनाएको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीद्वारा प्रकाशित शोक विज्ञप्तिमा नेपाल विद्यार्थी संघमा क्रियाशील रहँदा देखिनै जुझारु क्रान्तिकारी स्वभावका गुरुङ निष्ठावान, इमान्दार, त्यागी, निडर र निस्वार्थी स्वभावको भएको उल्लेख छ ।

विद्यार्थी आन्दोलनमा पटक पटक नेतृत्वदायी भूमिका निर्वाह गरेका उनी युवा तरुणबीच प्रिय नेताका रुपमा परिचित रहेको र पंचायती व्यवस्था विरुद्धको आन्दोलनसहित नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा अग्रपंक्तिमा रही महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाइएको छ ।

सिद्धान्तप्रति निष्ठावान, कर्मशील, निडर र प्रष्ट नेता गुरुङको निधनले नेपाली काँग्रेस कास्कीको संगठनमा गम्भीर क्षति पुगेको भन्दै दुःख व्यक्त गरिएको छ ।

शोक विज्ञप्तिमा दिवंगत आत्माको चीरशान्तिको कामनासहित शोक सन्तप्त पिता लोकबहादुर गुरुङ, धर्मपत्नीे देवी गुरुङ, छोराहरु अभिनास गुरुङ, अनिश गुरुङसहितका सम्पूर्ण परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया