प्रधानमन्त्रीसँग मुख्यमन्त्री गुरुङको भेट, के भयो कुरा ?

समाधान संवाददाता २०७७ भदौ ३० गते १७:३३

समाधान संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार अपराह्न भेटघाट गरेका छन् । प्रधानमन्त्रीसँग उनकै निवासमा मंगलबार अपराह्न ४ बजेपछि मुख्यमन्त्रीले भेटेर छलफल गरेका थिए ।

Advertisement

पार्टी एकता लगायत समसामयिक विषयमा मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग कुराकानी गरे । मुख्यमन्त्री गुरुङले प्रधानमन्त्री ओलीलाई फेवाताल संरक्षणका सन्दर्भमा सर्वाेच्च अदालतले गरेको फैसला कार्यान्वयनका लागि तालको सीमांकन संघ सरकारबाट छिटो गरिदिन अनुरोध समेत गरेको स्रोत बताउँछ । ‘मुख्यमन्त्रीले गर्नुभएको अनुरोधमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ’, बालुवाटार स्रोतले भन्यो ।

यसअघि सोमबार मुख्यमन्त्री, पोखराका मेयर मानबहादुर जिसीसहितको टोलीले पनि प्रधानमन्त्रीलाई भेटेको थियो । फेवाताल संरक्षणका विषयमा सर्वाेच्च अदालतको फैसला कार्यान्वयन सन्दर्भमा प्रदेश, महानगरपालिका, नापी कार्यालय र विज्ञ मिलेर तयार पारिएको प्रतिवेदन मेयर जिसीले सोमबार प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।

Advertisement

मुख्यमन्त्री गुरुङले प्रधानमन्त्रीसँग मंगलबारको भेटमा गण्डकी प्रदेशले स्थापना गरेको गण्डकी विश्वविद्यालयले सञ्चालन गर्ने शिक्षण अस्पतालका लागि आवश्यक जमिन, आइटी पार्कका लागि जमिन र हुलाक कार्यालय भवन प्रदेश सरकारलाई छिटो उपलब्ध गराइदिन आग्रह गरेका थिए ।

गण्डकी प्रदेशमा मन्त्रिपरिषद हेरफेरको चर्चा चलिरहेका बेला मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग गरेको भेट त्यस सन्दर्भमा पनि जोडेर हेरिएको छ । सत्तारुढ नेकपाको स्थायी कमिटीको २६ गते शुक्रबारको बैठकले समेत प्रदेश मन्त्रिपरिषद आवश्यकता अनुसार विस्तार पुनर्गठन गर्ने निर्णय गरेको थियो । ‘प्रदेश मन्त्रिपरिषद नितान्त मुख्यमन्त्रीकै अधिकार क्षेत्र भएकाले प्रधानमन्त्रीसँग आजको भेटमा त्यसबारे कुराकानी नभएको हुनुपर्छ,’ बालुवाटार स्रोतले भन्यो ।

फाइल तस्बिर

तपाईको प्रतिक्रिया