रुप्सेको बाढीले डाइभर्सन बगाएपछि बेनी-जोमसोम सडक अवरुद्ध

समाधान संवाददाता २०७७ भदौ ३१ गते १०:०८

एसके थकाली, जोमसोम

निर्माणधिन राष्ट्रिय गौरवको बेनी—जोमसोम ७६ किमी सडक अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका—३ रुप्से खोलामा सडक डाइभर्सन बाढीले बगाउँदा बेनी—जोमसोम सिधा यातायात सम्पर्क अवरुद्ध भएको छ ।

बर्खायामको गत श्रावण ५ को रुप्से झरनाको बाढीले साविक रुप्सेमा सडक बगाएको थियो । उक्त सडकको केही तलबाट करिडोर तथा शर्मा गजुरमुखि जेभीले अर्को डाइभर्सन सडक निर्माण गरी ट्रयाक सञ्चालनमा ल्यायो । तर, निरन्तरको वर्षाले उक्त डाइभर्सन सडक पनि सोमबार दिउँसो आएको बाढीले बगायो ।

Advertisement

त्यसलाई पुनः स्तरोन्नति गर्ने काम पुरा हन नपाउँदै फेरि मंगलबार मध्यराति आएको रुप्से खोलाको बाढीले अन्दाजी २५ मिटर डाइभर्सन सडक बगाएको निर्माण कम्पनीका सडक सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।

यसअघि बेनी—जोमसोम सडकको दर्जनौ स्थानमा बाढीपहिरो र नदी कटानले सडक संरचना पुरिने र भासिएपछि झन्डै डेढ महिनासम्म सिधा सम्पर्क अवरुद्ध भएको थियो । मुस्ताङको थासाङ—४ घोप्टेभीर, कैकु, घाँसा र लेते खोलामा अविरल वर्षाले त्यससमय सडकमा क्षति पुगेको थियो ।

Advertisement

म्याग्दीको अन्नपूर्ण गापाको तातोपानी, गुईठे, बेगखोला, रुप्से र म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर लगायतका स्थानमा बाढी÷पहिरो र नदी कटानले सडक अवरुद्ध भएको थियो । करिडोर, निर्माण कम्पनी, स्थानीय, जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायको अथक प्रयासपछि बेनी÷जोमसोम सडक सञ्चालनमा आएको थियो ।

बेनी—जोमसोम सिधा यातायात सञ्चालन भएको ३ सातापछि फेरि म्याग्दी रुप्सेमा बाढीले सडक अवरुद्ध भएको आयोजनाका सवईन्जिनीयर किरण घिमिरेले जानकारी दिए । अविरल वर्षाका कारण पटकपटक आएको बाढीपहिरोले बेनी-जोमसोम सडक सास्ती भएको उनले बताए ।

रुप्सेमा आएको बाढीले डाइभर्सन सडकमा क्षति पुगेपछि अलपत्र परेका मालबहाक सवारी । तस्विर : ईन्द्रसिंह शेरचन

गए रातिको रुप्से खोलाको बाढीले पैदलयात्री आउजाउ गर्ने काठको साँघो समेत बगाएकाले पैदलयात्री वारपार गर्न समस्या बनेको उनले जानकारी दिए । सवइन्जिनियर घिमिरेले रुप्से खोलामा पानी बहाव उच्च भएकाले सडक सुचारु गर्न अप्ठ्यारो परेको र पानीको बहाव नघटेसम्म काम गर्नसक्ने अवस्था नरहेको उल्लेख गरे ।

बाढीले करिव एक सय मिटर सडकमा क्षति पुगेको र करिव २५ मिटर सडकमा काम गर्न कठिन परेको सवइन्जिनियर घिमिरेले सुनाए । उनले भने, ‘पानी घटेपछि काम सुरु गर्छौं । सडक खोल्न कति दिन लाग्छ अहिलेनै एकिन गर्न सकिदैन ।’ निर्माण कम्पनीका २ वटा सडक खुलाउने उपकरण स्पोर्टमा रहे पनि काम गर्ने अवस्था नरहेको करिडोर आयोजनाले जनाएको छ ।

म्याग्दीको रुप्से खोलामा डाइभर्सन सडक बगाएपछि मुस्ताङ आउजाउ गर्ने खाद्यान्न, निर्माण समाग्री बोकेका मालवाहक र पेट्रोलियम पदार्थ बोक्ने ट्रक र ट्याक्टर लगायतका सवारी सडकमै अलपत्र परेका छन् ।

सडक सुपरभाइजर शेरचनले मुस्ताङतर्फ आउँदै गरेका २ दर्जन मालवाहक सवारी बाटोमा रोकिएको जानकारी दिए । सरकारले मंगलबार लामोदुरीको यातायात संञ्चालन गर्ने भनिए पनि रुप्सेको बाढीले सिधा यातायात तत्कालै खोल्ने अवस्था नरहेको हो ।

यसअघि बर्खायामको बाढी-पहिरो र नदी कटानले बेनी÷जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङमा खाद्यान्न र पेट्रोलियम पदार्थ अभाव हुदाँ समस्या उत्पन्न भएको थियो । त्यस समय मुस्ताङमा निर्माण समाग्री ढुवानी रोकिँदा विकास निर्माणका काम समेत प्रभावित बनेको थियो ।

तपाईको प्रतिक्रिया