भूकम्पले बागलुङ र लमजुङमा घर भत्के

समाधान संवाददाता २०७७ भदौ ३१ गते १९:३३

पोखरा

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बुधबार बिहान गएको भूकम्पका कारण बागलुङ र लमजुङमा घर भत्केका छन् । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार बागलुङ नगरपालिका ६ भीरलाँकुरीमा दुर्गाबहादुर सुवेदीको २ तले घर भत्केको हो । ढुंगामाटोले बनेको, टिनको छानो भएको उक्त घर भत्केर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । घर बस्नै नहुने गरी भत्के पनि मानवीय क्षति भएको छैन ।

लमजुङ बेसिसहर नगरपालिका ११ तिवारीडाँडामा अम्बिका तिवारीको घर भूकम्पले भत्काएको छ । ढंगा माटोले बन्नेको २ तले कच्ची भत्किएको र मानवीय क्षति प्रहरीले जनाएको छ ।

Advertisement

सिन्धुपाल्चोकको रामचे आसपास केन्द्रविन्दु भएर ६ रिक्टर स्केलको परकम्प गएको थियो । बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प नभई गोरखा भूकम्प (७.६ रिक्टर स्केल) को परकम्प भएको केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।

बिहान सबेरै गएको परकम्पले काठमाडौंसहित पोखरामा पनि ठूलो धक्का दिएको छ । विसं २०७२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५ सय ५० भन्दा बढी परकम्प गएको केन्द्रले जनाएको छ ।

Advertisement

पोखरामा चट्याङले घर जल्यो
बुधबार दिउँसो पोखरा महानगरपालिका २७ को घर्तीथरमा चट्याङपछि बिजुलीको लाइन सर्ट हुँदा घरमा आगो लागेको छ । दिउँसो १ बजेतिर स्थानीय लक्ष्मी भुजेलको घरको मिटर बक्समा चट्याङपछि आगलागी हुँदा घरमा रहेको सिरक डसना, लत्ता कपडा जलेर क्षति भएको प्रदेश प्रहरीका डिएसपी राजेन्द्रबाबु रेग्मीले बताए । चट्याङले ट्वाइलेटमा समेत क्षति पुर्‍याएको छ ।

तपाईको प्रतिक्रिया