पोखराका डेढ सयभन्दा बढी संक्रमित घरमै, महानगरले पाएन ‘पेआइसोलेसन’

समाधान संवाददाता २०७७ भदौ ३१ गते २१:१०

अनुप आत्रेय
पोखरा, ३१ भदौ

पछिल्लो ४ दिनमा पोखरामा १ सय ३३ संक्रमित थपिएका छन् । तर अधिकांश संक्रमित घरमै बसेका छन् । त्यसअघिका पनि गरेर पोखराका १ सय ६५ संक्रमित होम आइसोलेसनमा बसेको पोखरा महानगरपालिकाको तथ्यांक छ ।

‘पछिल्लो ५ दिनमा ३० जना संक्रमित आइसोलेसन जानुभयो होला । अरु घरमै हुनुहुन्छ । अहिले १ सय ६५ जना होम आइसोलेसनमा बस्नुभएको छ,’ महानगरका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले भने ।

Advertisement

महानगरले आइसोलेसन बनाउन इच्छुक होटल, पार्टी प्यालेस, विद्यालयलगायतलाई प्रस्ताव दिन भन्दै ८ भदौमा ३ दिने सूचना निकाल्यो । तर पोखराका २ वटा होटलबाहेक अरु आइसोलेसन बनाउन इच्छुक देखिएनन् ।

पर्याप्त प्रस्ताव नआएपछि महानगरले दोस्रोपटक गत हप्ता फेरि सूचना निकाल्यो । २ पटक सूचना निकाल्दा आफूहरुले खोजेजस्तो ठाउँ नभेटिएको महानगरको कोरोना रोकथाम मूल समिति सदस्य किरण कोइरालाले जानकारी दिए ।

Advertisement

२ पटक निकालिएको सूचनामा चाउथेको होटल रोयल पाम र ड्यामसाइडको होटल स्टे पोखराले आइसोलेसन बनाउन इच्छा देखाए । ती होटलमा आइसोलेसन सञ्चालन गर्नेबारे महानगरले निर्णय गरेको छैन ।

‘कम्तीमा ५० बेड नभई आइसोलेसन बनाउन सम्भव हुँदैन । त्यस्ता खालका २ होटलबाहेक अरुको प्रस्ताव आएन,’ सदस्य कोइरालाले भने, ‘होटलमा राख्न के गर्ने भन्ने ४/५ दिनपछि टुंगो लाग्ला ।’

सरकारले लक्षण नदेखिएकाको कोरोना परीक्षण नगर्नेजस्ता अभिव्यक्ति सार्वजनिक गरेकाले पनि होटलमा आइसोलेसन सञ्चालन गर्ने विषय अन्योलमा परेको उनले बताए । होटलमा आइसोलेसन बन्ने सम्भावना कम रहेको सदस्य कोइराला बताउँछन् ।

‘केन्द्र सरकारले संकेत नदेखिएकाको परीक्षण नगर्न भनिसक्यो । परीक्षण गरेकालाई हस्पिटलले नै राख्छ,’ सदस्य कोइरालाले भने, ‘लामो रुटको बस र सिटी बस सञ्चालन गरेपछि कन्ट्र्याक ट्रेसिङसम्भव हुँदैन ।’

सुरक्षाको जोखिम बढी हुने भएकाले होटलहरुले आइसोलेसन बनाउन इच्छा नदेखाएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए । ‘सबै होटललाई जानकारी गराएका थियौं । पूर्वाधार नभएको र जोखिम बढी हुने भएकाले पनि इच्छा नदेखिएको होला,’ उनले भने, ‘पहिला क्वारेन्टाइन बनाउँदा पनि डाक्टर हुन्छन् भन्ने थियो । तर भनेजस्तो केही छैन ।’

प्रशासनले क्वारेन्टाइनका लागि सूचीकृत गरेका २४ होटलमध्ये ८ होटलले सक्रिय क्वारेन्टाइन सञ्चालन गरेको अध्यक्ष तुलाचनले बताए । ती होटलबाट साढे ५ सयभन्दा बढीले सेवा लिएका छन् ।

कम्तीमा १ सय बेड राख्न सकिने, पर्याप्त शौचालय, बिजुली, टेलिफोन र सडक सुविधा भएको, छरछिमेकले विरोध नगर्ने सुनिश्चित हुनुपर्ने लगायतका मापतण्ड तोकेर महानगरले २ पटकसम्म पोखरा महानगरले प्रस्ताव आह्वान गरेको थियो ।

पोखराको लेकसिटी हस्पिटल, कृषि तालिक केन्द्र, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र सरुवा रोग अस्पताललाई आइसोलेसन बनाइएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ३५ र लेखनाथको सरुवा रोग अस्पतालमा ४० बेडको आइसोलेसन छ ।

क्षेत्रीय अस्पतालमा लक्षण देखिएका संक्रमित राखिएको छ भने अरु आइसोलेसनमा लक्षण नभएका संक्रमितलाई राखिएको छ । सरुवा रोग अस्पतालमा ३८ संक्रमित उपचाररत छन्। क्षेत्रीय अस्पतालमा २८ संक्रमित छन् । बाँकी २ आइसोलेसनमा ४८ जना छन् । सरुवा रोग अस्पतालमा आवश्यकता अनुसार ५० बेड बनाउन सकिन्छ ।

उपचाररत संक्रमितको स्वास्थ्यमा समस्या भए क्षेत्रीय अस्पतालमा रेफर गर्ने गरिएको सरुवा रोग अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन भण्डारीले जानकारी दिए ।

‘सुरुमा ३४ बेड बनाएका थियौं । अहिले ६ बेड थपेर ४० पु-यायौं । यहाँ लक्षण नभएकाको मात्रै उपचार भइरहेको छ । कसैलाई सास्या भए क्षेत्रीय अस्पताल रेफर गर्छौं,’ उनले भने ।

क्षेत्रीय अस्पतालका २८ मध्ये ७ संक्रमितको सघन उपचार कक्षमा उपचार भइरहेको आइसोलेसन इन्चार्ज रत्ना शाक्यले जानकारी दिइन् ।

महानगरले पोखरा ३३ मा रहेको एउटा बेबारिसे भवनमा ५० बेडको आइसोलेसन बनाइरहेको छ । ‘बनाएरमात्रै राखेको एउटा भवन थियो । अहिले महानगरले त्यसमा आइसोलेसन बनाइरहेको छ । ५० लाख खर्च भइसक्यो,’ पोखरा ३३ का वडाध्यक्ष शिव आचार्यले भने ।

बुधबारसम्म पोखराका ६ सय ५९ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये २ सय ८४ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ । अहिलेसम्म कास्की जिल्लाभर १० जनाको मृत्यु भएको छ । पोखराका ८ बाहेक बाँकी २ जना अन्नपूर्ण र मादी गाउँपालिकाका हुन् ।

तपाईको प्रतिक्रिया