२५ मिटर लम्बाइको पुल ४ वर्षमा आधामात्रै बन्यो

समाधान संवाददाता २०७७ असोज १ गते ९:२०

एसके थकाली, जोमसोम

कोरला सडकमा पर्ने कागबेनी पक्कीपुल निर्माणमा चरम ढिलाइ भएको छ । कालिगण्डकी करिडोरअन्र्तगतको निर्माणाधीन २५ मिटर लम्बाइको उक्त पुलको काम ४ वर्षमा आधामात्रा सकिएको हो ।

उक्त कागबेनी पक्की पुल राष्ट्रिय गौरवको आयोजना सुरवातसँगै ठेक्का टेन्डर भई २०७३ साल असार २९ मा सम्झौता गरी काम अघि बढाइएको थियो । पुल निर्माणको अवधि १८ महिना छ । पुल निर्माणका लागि भ्याट बाहेक २ करोड ८८ लाख रुपैयाँ लागतमा गाल्वा रफिना जेभीले सम्झौता गरेको थियो ।

Advertisement

१८ महिने सम्झौता अनुसार २०७४ साल पुस मसान्तसम्म पुलको काम सम्पन्न गर्नुपर्नेमा ठेकेदार कम्पनीका प्रतिनिधि रविन जोशी २ वर्षअघि काम नगरी सम्पर्कविहीन भएकाले पुलको काममा ढिलासुस्ती भएको स्थानीयको भनाइ छ ।

करिडोर सडक एक्लैले निर्माण गरेको दर्जनौं पुलमध्ये मुस्ताङको स्याङ खोला पुल अन्तिम चरणमा छ । अरु पुलको काम निर्माणको चरणमा छन् । करिडोरका अनुसार कागबेनी पुलको अहिले दुबै भागमा फाउन्डेसन जग उठाउने काम पूरा भएको छ ।

Advertisement

करिडोरका सबइन्जिनियर किरण घिमिरेले पुलको काम अहिले ५० प्रतिशत पूरा भएको जानकारी दिए । जसमा दायाँबायाँ फाउन्डेसनसँगै एकातर्फ स्ट्रिम र क्यापको काम सम्पन्न भएको छ । अर्को साइडतर्फ स्ट्रिम सकिएर क्यापको काम बाँकी रहेको सबइन्जिनियर घिमिरेले बताए ।

कागबेनी पुलको अब एकतर्फ क्यापको कामसहित स्ल्याब ढलान र एप्रोज रोड विस्तार गर्ने लगायत फिनिसिङको काम बाँकी रहेको जनाइएको छ । करिडोरका अनुसार सबै कुराले साथ दिएमा चालु आर्थिक वर्षभित्र पुलको काम सम्पन्न हुने छ ।

‘पुलको काममा विभिन्न कारणले ढिलो भएकै हो । अब यो वर्ष काम सक्ने लक्ष्य छ,’ आयोजनाका सब इन्जिनियर घिमिरेले भने, ‘कोरोना महामारीबीचमा पनि पुलको काम अघि बढेको छ । दशैंअघि नै स्ल्याब ढलानको काम पुरा हुन्छ ।’

जोमसोम—कोरलानाका जोड्ने पुलको काम अहिलेसम्म ३ पटक म्याग्द थप भइसकेको जनाइएको छ । थपिएको म्यादमा काम नहुने भएकाले चौथो पटक पुनः म्याद गर्ने तयारी भइरहेको सबइन्जिनियर घिमिरेले जानकारी दिए ।

निर्माण कम्पनीका इन्जिनियर प्रनिज पराजुलीले प्राकृतिक प्रकोप, प्राविधिक ढिलाइ, पुलको एप्रोज रोड पर्ने जग्गा विवाद र कोरोना कहरले पुलको कामले गति लिन नसकेको स्पष्ट पारे ।

उनका अनुसार २०७४ सालमा आएको बाढीले पुलको उत्तरतर्फको फाउन्डेसन वाल बगाएकाले त्यसलाई अर्को वर्ष नया उठाउँदा पनि थप ढिलाइ भएको हो । पुलको उत्तरतर्फको भागमा केही स्थानीयको खेतीयोग्य जमिन पर्ने भएकाले समस्या उब्जिएको छ ।

जग्गा विवाद समाधान नभए घुमाएर अर्को एप्रोज रोड विस्तार गर्दा अर्को ठेक्का लगाउनु पर्ने देखिएको इन्जिनियर पराजुलीले उल्लेख गरे ।

करिडोरको मुस्ताङ खण्डमा पर्ने म्याग्दी र मुस्ताङ सिमानामा निर्माणाधीन पक्की पुलको काममा पनि ढिलासुस्ती भएको थियो । पुलको फाउन्डेसन र स्ल्याब स्टक्चरको काम पुरा हँुदा बाढीले पुरै संरचनामा क्षति पुगेको छ ।

करिडोरका अलवा एलिट शंकरमाली जेभिले जिम्मा लिएको मुस्ताङ डोल्पा जोड्ने एक्लेभट्टी पाक्लिङ पुलको काममा समेत चरम ढिलासुस्ती देखिएको छ ।

उक्त पुल ११ करोड ७५ लाखमा निर्माण सम्झौता भएपनि २५ प्रतिशत पनि काम हुन सकेको छैन । उक्त पुल २०७३ पुस मसान्तमा सकिनुपर्नेमा निर्माण कम्पनीले माटो परीक्षण नगरी हचुवामा डिपिआर तयार गरेको भन्दै प्रिसर्भेको माग गरेको थियो ।

मुस्ताङको छयो कुञ्जो जोड्ने पक्की पुलको काममा पनि ढिलासुस्ती भएको पाइएको छ । पुल निर्माणको जिम्मा स्वच्छन्द निर्माण सेवाले लिएको छ ।

उसले सय मिटर लामो उक्त पुल बनाउन ११ करोड ३० लाखमा सम्झौता गरेको थियो । तर, पुलको २ भागमा फाउन्डेसन उठिसक्दा २०७५ सालको बाढीले पुलको पूर्वतर्फको फाउन्डेस कालिगण्डकी नदीको जोखिम बढेपछि प्रि—सर्वे डिजाइन गरिएको थियो । नयाँ डिजाइन अनुसार पूर्वतर्फ थप ३० मिटर लम्बाइ थप्ने गरी डिजाइन तयार भएपनि काम अझै बढेको छैन ।

निर्माण कम्पनीले सम्झौता अनुसार तोकिएको समयमा पुल सम्पन्न गर्न नसक्दा मुस्ताङका स्थानीयलाई बर्खायाममा आउजाउ गर्न समस्या छ भने जिल्लामा उत्पादित कृषि उपजको सहज बजारीकणमा समेत अप्ठ्यारो परेको छ ।

तपाईको प्रतिक्रिया