रुपाको आइसोलेसनमा लक्षण नभएका संक्रमित राख्न थालियो

समाधान संवाददाता २०७७ असोज १ गते ९:१३

समाधान संवाददाता, पोखरा

कास्कीको रुपा गाउँपालिकाले लक्षण नभएका कोरोना संक्रमितलाई आफ्नै आइसोलेसनमा राख्न थालेको छ । लक्षण देखिएमा संक्रमितलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा पठाइन्छ । लक्षण नभएका र स्वास्थ्य अवस्था सामान्य भएका ५ जनालाई भने गाउँकै आइसोलेसनमा राखिएको हो ।

कोरोना महामारीको सुरुआतमै भयावह स्थितिको पूर्वानुमान गर्दै रुपा गाउँपालिकाले वडा १ स्थित गैरीभञ्ज्याङमा आइसोलेसन बनाउन थालिसकेको थियो ।

Advertisement

फलस्वरुप आइसोलेसन निर्माणको ३ महिनापछि पहिलोपटक प्रयोगमा आएको छ । अदिभूमि संस्थाको तालिम केन्द्रको भवन १२ वर्षदेखि प्रयोगविहीन थियो । त्यही अलपत्र संरचनालाई मर्मत गरी रुपाले आइसोलेसनको रुप दिएको हो । आइसोलेसन २० शड्ढया क्षमताको छ ।

लक्षण नदेखिएका कोरोना संक्रमितलाई उक्त आइसोलेसनमा राखिसकिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

Advertisement

‘गाउँपालिकाको क्वारेन्टिनमा बसेकाहरुको परीक्षण गर्दा संक्रमण पुष्टि भएकाहरुलाई आफ्नै आइसोलेसनमा सोमबारदेखि राख्न थालेका छौं,’ उनले भने, ‘लक्षण देखिएकालाई पश्चिमाञ्चल अस्पतालको आइसोलेसनमा राखेका छौं । हाम्रो आइसोलेसनमा लक्षण नभएकामात्रै राख्छौं ।’

सोमबार संक्रमण पुष्टि भएका ५ जनालाई गैरीभञ्ज्याङको आइसोलेसनमा त्यही दिन राखिएको थियो । ६ जनाको टोली भारतको केरलाबाट आई गाउँपालिकाको क्वारेन्टिनमा बसेका थिए ।

जाँच गर्दा ५ जनामा कोरोना भेटियो । तीमध्ये १ जनामा कोरोना लक्षण देखिएकाले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा पठाइएको अध्यक्ष ओझाले जानकारी दिए । बुधबार पुष्टि भएका थप १ जनामा पनि लक्षण नभएकाले गाउँपालिकाकै आइसोलेसनमा राखिएको स्वास्थ्य संयोजक आनन्दलाल जोशीले जानकारी दिए ।

आइसोलेसन व्यवस्थापनका लागि गाउँपालिकाले विशेष टोली खटाएको छ । त्यहाँ खटिने टोली र संक्रमितले प्रयोग गर्ने धारा र शौचालय पनि छुट्टाछुट्टै व्यवस्था गरिएको अध्यक्षले बताए ।

चिकित्सक, अनमी, हेल्थ असिस्टेन्ट, सुरक्षाकर्मी र अन्य सहयोगीहरु गाउँपालिकाको तर्फबाट खटाइएको छ । गाउँपालिकामा हालसम्म १७ जनामा संक्रमण पुष्टि भएको छ ।

११ जना निको भई घर फर्किएका छन् । सक्रिय संक्रमित ६ जना छन् । मुलुकबाहिरबाट आई क्वारेन्टिनमा बस्नेको संख्या १३ रहेको गाउँपालिकाले जनाएको छ । बाहिरबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम गाउँपालिकाको छ ।

संक्रमितलाई आयुर्वेद औषधी

गाउँपालिकाको आइसोलेसनमा रहेका व्यक्तिहरुको हेरचाहमा ध्यान दिँदै उनीहरुलाई नियमित आयुर्वेद औषधी दिइएको छ । च्यावनप्रास, यष्टीमधु चूर्ण, गुडुची चूर्ण, तुलसी चिया, त्रिकटु चूर्ण लगायतका औषधि मात्रा मिलाएर दिन थालिएको हो ।

गाउँपालिकाका आयुर्वेद संयोजक वेचन शाहले संक्रमित सबैलाई आयुर्वेद औषधि दिइएको जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले स्वास्थ्यमा प्रभाव नपार्ने तर संक्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुग्ने औषधि सेवन गर्न भनेको छ ।

पहिलोपटक आइसोलेसन सञ्चालन गर्दा चुनौतीको रुपमा लिएको गाउँपालिकाका स्वास्थ्य संयोजक आनन्दलाल जोशीले बताए । संक्रमितको नियमित मनटरिङ गर्ने गरिएको र लक्षण देखिएमा पोखरा तुरुन्तै पठाइने व्यवस्था मिलाइएको उनको भनाई छ । आइसोलेसनमा रहेका संक्रमितलाई शारीरिक व्यायाम तथा योगासमेत गराउँदै आएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया