फेसबुकमा अभियान चलाएर वडाध्यक्षले बनाइदिए अपांगमैत्री घर

समाधान संवाददाता २०७७ असोज १ गते ९:२२

गोरखा, रासस

सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठले फेसबुक अभियानमार्फत आर्थिक सहयोग संकलन गरी अपांगता भएका एक परिवारका लागि अपांगमैत्री पक्की घर निर्माण गरिदिएका छन् ।

वडाध्यक्ष श्रेष्ठले परिवारका ३ सन्तान पूर्णरुपमा अपांगता भएका वडाको कोटगाउँका स्थानीयवासी धनबहादुर श्रेष्ठको परिवारका लागि अपांगमैत्री घर निर्माण गरिदिएका हुन् । आर्थिक अवस्था अत्यन्तै कमजोर र परिवारका ३ सदस्य पूर्णरुपमा अपांगता भएका श्रेष्ठ परिवार बस्दै आएको घर गोरखा भूकम्पले पूर्णरुपमा क्षति पु¥याएपछि नयाँ घर निर्माण गर्न सकेका छैनन् ।

Advertisement

‘तीन सन्तान पूर्ण अपांगता भएकाले बृद्ध बुबाआमालाई छोराछोरीको स्याहार गरेर बस्नु पर्ने बाध्यता छ,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘उहाँको आर्थिक अवस्था कमजोर भएकाले श्रेष्ठ परिवारलाई दैनिक गुजारा चलाउनसमेत समस्या भएपछि घर बनाइदिने प्रतिबद्धतासहित अभियान थालेको थिए, जुन आज पूरा भएको छ ।’

अभियानबाट १४ लाख ८१ हजार ७४ संकलन भएपनि घर निर्माणका लागि भने १६ लाख ८३ हजार ७ सय ४८ खर्च भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘सबै क्षेत्रमा हारगुहार गरेर जसरी पनि घर बनाइदिनुपर्छ भनेर अठोट गरेको थिए,’ उनले भने, ‘धन हुनेले धन दिनुभयो, मन हुनेले मन दिनुभयो यसबाट एउटा समस्यामा परेको परिवारले राम्रो ओत पाउनुभएको छ ।’

Advertisement

वडाध्यक्ष श्रेष्ठद्वारा सञ्चालित फेसबुक अभियानमार्फत संकलित रकमले निर्माण सम्पन्न भएको ३ कोठा १ शौचालय सहितको अपांगमैत्री पक्की घर मंगलबार परिवारलाई घर हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले नवनिर्मित अपांगमैत्री घर श्रेष्ठ परिवारलाई घर हस्तान्तरण गरेका हुन् ।

धनबहादुर श्रेष्ठ तथा पोषकुमारी श्रेष्ठका ६ सन्तानमध्ये छोरा राजिब श्रेष्ठ, छोरीहरु शिला श्रेष्ठ र लिला श्रेष्ठ पूर्णरुपमा अशक्त छन् । उनीहरु सबै दैनिक क्रियाकलापसमेत गर्न नसक्ने अवस्था छन् ।

‘कामदारको अभाव, आर्थिक समस्यालगायत कारण भनेको समयमा घर निर्माण गर्न सकिएन तर केही ढिलो भएपनि समस्यामा परेको एउटा परिवारले घर पाउनु भएको छ,’ उनले भने, ‘यो अभियान मेरो मात्र नभएर यस साथदिने सबै सहयोगी मनहरुको अभियानबाट सफल भएको हो ।’

घर निर्माणका लागि रणसिहं दल गण गोरखाका ९ जनाले १० दिन कामसम्म सहयोग गरेको उनले जानकारी दिए । घर हस्तान्तरण कार्यक्रममा शहिद लखन गाउँपालिकाले उक्त परिवारलाई अपांगता भएकाहरुलाई सहायता सामग्री खरिद गर्न एक लाख रुपैयाँ सहयोग गरेको छ ।

वडाध्यक्ष श्रेष्ठले अपांग आवास निर्माण सहयोग समिति नै गठन गरेर अभियान सञ्चालन गरेका थिए । अभियानमा आर्थिक सहयोग संकलनका लागि गाउँपालिका वडा नम्बर ६ का बिष्णुकुमार श्रेष्ठ, वडा नम्बर ८ का अमृत श्रेष्ठ, काशिनाथ अम्गाईँ, उत्तरकुमार श्रेष्ठ, नवराज अम्गाईँ, वडा नम्बर ७ का किरण श्रेष्ठ लगायतले विशेष भूमिका खेलेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया