कम्युनिस्टका आश्रयदाता तथा शिक्षक नेता रेग्मी रहेनन्

समाधान संवाददाता २०७७ असोज १ गते १८:२७
दामोदर रेग्मीको अन्तिम संस्कार अघि पार्टोको झण्डा ओढाउँदै नेताहरु । तस्बिर : विक्रम न्यौपाने ।

समाधान संवाददाता

भूमिगत कम्युनिस्ट नेताहरुलाई पञ्चायतकालमा आश्रय प्रदान गरेका कास्कीका शिक्षक नेता दामोदर रेग्मीको निधन भएको छ । पोखरा १८ सराङकोट रोटेपानीका उनको बिहीबार अपराह्न सबा ३ जबे आफ्नै निवासमा निधन भएको हो ।

Advertisement

२००३ सालमा जन्मिएका रेग्मी पोखरा १६ दीपस्थित दिव्यश्वरी प्राविमा ३२ वर्ष सेवारत रहे । सेवाको सम्पूर्णजसो समय उनी प्रधानाध्यापक थिए । केही समययता क्यान्सरका बिरामी उनको बिहीबारै सेतीनदीको रामघाटमा अन्तिम संस्कार भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको गण्डकी इन्चार्जसमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, प्रदेश सांसद एवं नेकपा कास्की अध्ययक्ष कृष्ण थापा, पार्टीको महानगर कमिटी इन्चार्जसमेत रहेका पोखराका मेयर मानबहादुर जिसी, महानगर कमिटी अध्यक्ष दीपक पौडेल लगायत नेताहरुले दिवंगत रेग्मीको पार्थीव शरीरमा पार्टीको झण्डा ओढाएर विदाइ गरे ।

Advertisement

रेग्मी दसकअघि मात्रै शिक्षण पेसाबाट निवृत्त भएका हुन् । २०३६ सालमा स्थापित नेपाल राष्ट्रिय शिक्षक संगठनको कास्कीमा संस्थापक नेता रहेका रेग्मी उक्त संगठनको सचिव पनि भएका थिए । २ पटक उनी संगठनको केन्द्रीय प्रतिनिधि भए ।

‘उहाँ शिक्षक आन्दोलनको हस्ती हुनुहुन्थ्यो,’ शिक्षक संगठन कास्कीका पूर्वअध्यक्षसमेत रहेको नेकपा पोखरा महानगर कमिटी अध्यक्ष पौडेलल भने, ‘उहाँले भूमिगतकालमा कम्युनिस्ट नेता वामदेव गौतम, जीवराज आश्रित, राधा ज्ञवाली, किरण गुरुङलाई सेल्टर दिनुहुन्थ्यो । उहाँको घरमा कम्युनिस्ट पार्टीको बैठक बस्दथ्यो ।’ रेग्मी तत्कालीन नेकपा माले कास्कीको समेत संस्थापक नेतामध्येका एक रहेको पौडेलले जानकारी दिए । स्वर्गीय रेग्मीका श्रीमती र ३ छोरा छन् ।

तपाईको प्रतिक्रिया