पोखरा महानगरले गर्‍याे ४ प्राविधिक शिक्षालयसँग सम्झौता

समाधान संवाददाता २०७७ असोज १ गते २०:२४

पोखरा

राष्ट्रिय विज्ञान दिवसका अवसरमा पोखरा महानगरपालिका कार्यालयले विभिन्न फरक ४ वटा संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । पोखरास्थित विभिन्न प्राविधिक शिक्षालयहरुसँग महानगरपालिकाले समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।

महानगरस्थित प्राविधिक क्याम्पसहरुको सीप, ज्ञान र जनशक्तिलाई स्थानीय तहकोे विकासमा जोडेर लैजाने उद्देश्यका साथ महानगरले पश्चिमाञ्चल क्याम्पस, वन क्याम्पस, नर्सिङ क्याम्पस तथा जेन्टा क्लब पोखरासँग साझेदारी पत्रमा हस्ताक्षर गरेको हो ।

पोखरा महानगरपालिका कार्यालयको सभाहलमा सम्पन्न ‘राष्ट्रिय विज्ञान दिवस तथा समझदारी पत्र हस्ताक्षर कार्यक्रम’ मा पोखरा महानगरपालिकाको तर्फबाट महानगरका प्रमुख मानबहादुर जिसीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका प्रमुख रामप्रसाद पौडेल, वन क्याम्पस पोखराका प्रमुख विनोद ह्येजु, नर्सिङ क्याम्पस प्रमुख निता ताम्राकार र जेन्टा क्लव पोखराका उपाध्यक्ष निरुता थापाले क्याम्पससँग सम्वन्धित प्राविधिक ज्ञान, सिप र जनशक्तिको सहकार्य गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

महानगरस्थित प्राविधिक शिक्षालयहरुको सिप, ज्ञान र जनशक्तिलाई महानगरको विकासमा प्रयोग गर्ने अभिप्रायले समझदारीपत्रमा हस्ताक्षर भएको महानगरका प्रमुख मानबहादुर जिसीले बताए । महानगरमा सञ्चालित प्राविधिक शिक्षालयहरुले नगरवासीको विकाससँग सम्वन्धित क्रियाकलापमा आफूलाई जोड्दै लैजानपर्ने उनको धारणा थियो । हाललाई चारवटा शिक्षालयसँग सम्झौता पत्रमा हस्ताक्षर भएको र आगामी दिनमा बाँकी अन्य क्याम्पसहरुसँग पनि सम्झौता गरेर अगाडि बढ्ने महानगरले लक्ष्य लिएको उनले बताए ।
कार्यक्रममा महानगरका उप–प्रमुख मञ्जुदेवी गुरुङले जुन लक्ष्य प्राप्तिका लागि महानगरले शिक्षालयहरुसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ त्यो पूरा गर्न महानगर प्रविवद्ध रहेको बताए ।
पश्चिमाञ्चल क्याम्पसका प्रमुख रामप्रसाद पौडेलले शैक्षिक संस्था र राज्यका कार्यकारी निकायहरुबीच सहकार्य अनिवार्य रहेको र महानगरले सो को तदारुकता देखाएकोमा खुसी व्यक्त गए ।

तपाईको प्रतिक्रिया