थोक बिक्रेताको मनपरीः ४० मा किनेको प्याज १११ मा बिक्री

समाधान संवाददाता २०७७ असोज १ गते २०:२६

— ‘थोक बिक्रेताले मूल्य बढेको भन्दै ४० रुपैयाँमा किनेको पुरानै स्टकलाई १११ रुपैयाँमा बेचेका पाइयो’

Advertisement

अनुप आत्रेय
पोखरा, १ असोज

बिहीबार बिहानै पोखराका एकजना खुद्रा व्यापारी शान्तिवनस्थित तरकारी बजार पुगे । उनी प्याज किन्न त्यहाँ गएका थिए । त्यहाँका होल्सेलरले जब प्याजको मूल्य सुनाए, उनको होस उड्यो । ३ दिन अघिसम्म ६० रुपैयाँमा प्याज किनेका ती व्यापारीलाई होलसेलरले प्रतिकेजी १ सय ११ रुपैयाँ लगाए । केही नबोली उनले १८ केजी प्याज किने । १८ केजीलाई २ हजार रुपैयाँ पर्‍यो ।

भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्

मूल्यमा मनपरी गरेपछि ट्रेडर्सले दिएको बिल ती व्यापारीले प्रदेश बजार अनुगमन समितिसम्म पुर्‍याए । त्यसपछि अनुगमन समिति तरकारी बजारको सन्दीपश्री ट्रेडर्स (सटर नम्बर ५१) पुग्यो । ‘बिहान रिटेलरको गुनासो आइपुग्यो । अनुगमन गर्दा मूल्य बढेको भन्दै ४० रुपैयाँमा किनेको पुरानै स्टकलाई १ सय ११ रुपैयाँमा बेचेका पाइयो,’ बजार अनुगमन समितिका संयोजक गोकुल शर्मा पौडेलले भने ।

Advertisement

तरकारी बजारको सटर नम्बर ५० र ५१ एउटै व्यवसायीले सञ्चालन गर्दै आएका छन् । कालोबजारी गरेको भेटेपछि अनुगमन टोलीले दुवै पसल बन्द गराएको छ । कारोबारमा किफायत देखिएपछि ५ सय बाेरा प्याज गोदाममै थन्काएर उक्त पसलको कारोबार रोक्का गरिएको हो । प्याज खरिद मूल्यका सबै बिल अध्ययन गरिने र त्यसपछि मात्रै पुनः व्यापार सञ्चालन गर्न दिइने संयोजक पौडेलले जानकारी दिए ।

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीले मनपरी गर्न थालेका छन् । प्याजको भाउ महँगो भएर आउँदा बिक्री मूल्य बढाउनु स्वाभाविक भए पनि पुरानै स्टक बाँकी रहँदारहँदै व्यापारीले आफै मनपरी गरिरहेको उनले बताए । ‘आफैले किन्ने मूल्य बढी हुँदा मूल्य बढाउनु छुट्टै कुरा भयो । तर स्टक हुँदाहुँदै कालोबजारी गर्नुचाहिँ हुँदैन । त्यस्तो गरेको पाए कारबाही गर्छौं,’ संयोजक पौडेलले भने ।

भारतले प्याजमा प्रतिबन्ध लगाएपछि अधिकांश प्याज गोदाम बन्द भइसकेका छन् । अनुगमन टोली शुक्रबार सिमलचौर, बगाले टोल र पस्र्याङस्थित प्याज गोदाममा पुग्दा ती गोदाम बन्द थिए । कृत्रिम अभाव सिर्जना गर्न गोदाम बन्द गरेको पाइएको अनुगमन समितिका सदस्य कपिलनाथ कोइराला बताउँछन् ।

‘३ वटा गोदाममा पुग्यौं । स्टक छैन भन्दै बन्द गरेको पाइयो । थोक बिक्रेताले अझै बढी चलखेल गर्ने देखिन्छ,’ उनले भने । प्याजको अधिकतम खुद्रा मूल्य १ सयभन्दा बढी लिए आफूहरुलाई खबर गर्न सदस्य कोइरालाले आग्रह गरे ।

भारतले प्याजमा निर्यातमा प्रतिबन्ध लगाएकाले प्याजको भाउ अझै बढ्ने कृषि उपज तथा थोक बजारकी योजना सहायक रुपा दाहाल बताउँछिन् । ‘पोखरामा आउने प्याज सबै भारतीय हुन् । कहिलेकाहीँ चीनबाट पनि आउँछ । बुटवल हुँदै अहिले पनि प्याज आइरहेको छ,’ उनले भनिन् । पोखरामा चाडपर्वको बेलामा धेरै प्याज खपत हुन्छ । सिजनमा हप्तामा ४० देखि ५० टन प्याज आयात हुने गरेको दाहालले जानकारी दिइन् ।

दक्षिण एसियाको प्याज भण्डार भारतले उत्पादन कम भएपछि भारतको केन्द्र सरकारले सोमबारदेखि निर्यातमा प्रतिबन्ध लगाएको छ ।भारतले प्रतिबन्ध लगाएको भोलिपल्टबाटै व्यापारीले प्याजको मूल्य बढाउन थालेका छन् ।

गुनासो आएपछि बिहीबार अनुगमनमा पुगेको टोलीले प्याजको मूल्यमा मनपरी नगर्न र गरेको पाइए कारबाही गरिने जनाएको छ । प्रदेश उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, उपभोक्ता मञ्च, गुणस्तर तथा नापतौल डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको टोली अनुगमनमा पुगेको थियो ।

तपाईको प्रतिक्रिया