मुस्ताङ जिसस प्रमुख छिरिङलाई सुप्रवल जनसेवा श्री पदक

समाधान संवाददाता २०७७ असोज ३ गते १५:०३

एसके थकाली
जोमसोम

मुस्ताङकी जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ सुप्रवल जनसेवा पदक श्री (तृतीय)बाट सम्मानित हुने भएकी छन् । सरकारले ५ सय ९४ जना विभिन्न व्यक्तित्वलाई मानपदवी, अलंकार र पदकले सम्मान गर्ने क्रममा सुप्रवल जनसेवा पदक प्राप्त गर्ने व्यक्तिको पंक्तिमा उनको नाममा पहिलो नम्बरमा राखिएको छ ।

संविधान दिवसको अवसरमा यसपटक सरकारले सुप्रवल जनसेवा श्री (पदक) बाट ८७ जना व्यक्तिको नाम सार्वजनिक गरेको हो ।
सरकारले बर्सेनि संविधान दिवसका अवसरमा राष्ट्रिय गौरव बढाउने, राष्ट्रिय कीर्तिमानी राख्ने र विभिन्न क्षेत्रबाट राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्ति÷व्यक्तित्वलाई सरकारले सम्मान गर्दैै आइरहेको छ । घोषित पदक पाउने व्यक्तिलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान गर्ने जनाइएको छ ।

Advertisement

मुस्ताङ जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिका—१ मराङ जस्तो दुर्गम गाउँमा जन्मिएकी २७ वर्षीय छिरिङ ल्हामो गुरुङ विगत साढे २ वर्षअघिबाट मुस्ताङको समन्वय प्रमुख पदमा छन् । दुर्गम गाउँमा जन्मिएकी छिरिङ सामान्य परिवारकी सदस्य हुन् ।

जिल्लाको जनहित मावि जोमसोममा प्लस टु सम्मको अध्ययन पूरा गरेकी उनी समन्वय प्रमुख हुनुअघि गाउँकै एक गुम्बा विद्यालयको शिक्षण पेसामा आवद्ध थिइन् । उनी नेपालकै कान्छी समन्वय प्रमुख पनि हुन् । गत वर्ष उनी प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण दलमा उनी सहभागी थिइन् ।

Advertisement

सरकारले आफूलाई राष्ट्रिय विभूषण सुप्रवल जनसेवा पदकबाट सम्मान गर्ने खबरले निकै उत्साहित बनाएको उनले बताएकी छन् । यसरी आफूले जनप्रतिनिधिका हैसियतले जिल्लामा गरेको कर्मलाई राष्ट्रले यसरी सम्मान गर्ला भन्ने कल्पना समेत नगरेको उनले सुनाइन् । छिरिङ भन्छिन्, ‘जिल्ला समन्वय समिति भूमिकाविहीन छ । कुनै ठूला निर्णय गर्ने अधिकार हामीलाई छैन । तैपनि जनताको घरदैलोमा जाने, जिल्लाका लागि आवश्यक पर्ने कामकाजमा समन्वय र सहजीकरण गर्ने कामको दायित्व पूरा गरेको छु जस्तो लाग्छ ।’

तपाईको प्रतिक्रिया