फड्केको भरमा मनाङ आउजाउ, बेलामा बन्न सकेन बेलिब्रिज

समाधान संवाददाता २०७७ असोज ३ गते १८:२९

समाधान संवाददाता


मनाङ जाने बाटोमा पर्ने घोप्टेभिरमा निर्माण गर्ने भनिएको पुल अझै पूरा हुन सकेको छैन । भदौमसान्तसम्म पूरा भइसक्नुपर्ने पुल नबन्दा फड्को भरमा आवतजावत भइरहेको छ । गाडी आउजाउ हुन सकेको छैन ।

Advertisement


हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेसीसहर–चामे सडक अवरुद्ध हुँदा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ‘वारिको गाडी वारिसम्म पुग्छन् र पारि फेरि अर्काे गाडीमा जानुपर्ने बाध्यता छ,’ मनाङका एक स्थानीयले भने ।


मनाङका संघीय सांसद पोल्देनछोपाङ गुरुङका अनुसार हिउँद लागेपछि चिसोकै कारण हिमाली जिल्ला र आसपासमा विकास निर्माणका काम गर्न कठिन हुन्छ । अहिलेको समयमै काम हुनुपर्ने हो । यो याम मनाङबाट स्याउ बजार ल्याउनुपर्ने, कतिपय सामान मनाङ लैजानुपर्ने बेला पनि भएको सांसद गुरुङ गुरुङ बताउँछन् ।

Advertisement


डुम्रे बेसिसहर चामे सडक योजना कार्यालयले घोप्टेभिरमा पुल निर्माण गर्न क्याराभान कन्स्ट्रक्सनलाई ठेक्का दिएको हो । ३० लाख रुपैयाँमा बेलिब्रिज बनाउने गरी उसले ठेक्का पाएको थियो । भदौ १ बाट सुरु गरी त्यसै महिनामा काम सक्नुपर्ने सम्झौता थियो । तर काम पूरा भएको छैन । योजना कार्यालयका इन्जिनियर सुरज महर्जनका अनुसार भौतिक पूर्वाधारका काम भने भइसकेका छन् र पुल जडानचाहिँ बाँकी छ । ‘यसपालि पानी धेरै पर्‍यो, साइटमै पहिरो पनि गयो र काम हुन पाएको छैन,’ इन्जिनियर महर्जनले भने, ‘काम सुरु भयो भने हप्ता १० दिनमै सकिन्छ ।’


घोप्टेखोलामा सधैं पानी हुँदैन । बर्खाका बेला उर्लिने भेल भने तर्न गाह्रो हुन्छ । मस्र्याङ्दी गाउँपालिका– ४ ताघ्रिङमा पर्ने उक्त भिरमा पुल नहुँदा मनाङका मात्रै नभई लमजुङकै बासिन्दालाई पनि सकस छ । उक्त भिरको खोल्सोमा पहिला राखिएको ह्युमपाइप यसपालिको बाढीले बगाएको जानकारी इन्जिनियर महर्जनले दिए ।


मनाङ जाने सडकका लागि नेपाली सेनाको सडक निर्माण कार्यदल गणले ०६९ सालमा ट्र्याक खुलाएको थियो । त्यसयता उक्त ट्र्याकमै गाडी गुड्दै आएका छन् ।

ट्र्याक स्तरोन्नति गरी सडककै अवस्था नपुर्‍याइएको हुँदा बाटोमा धेरै ठाउँमा जोखिम छ । मनाङपट्टिभन्दा लमजुङतिरकै भागको बढी विजोग भएको स्थानीय बताउँछन् । मनाङतिर भने सांसद पोल्देनले बेलाबखत आफ्नै खर्चमा समेत डोजर लगाएर बाटो सफा गर्ने र जोखिम कम गर्ने काम गर्दै आएका छन् ।

पहिला मनाङबाट समेत निर्वाचित देव गुरुङ अहिले लमजुङबाट संघीय सांसद छन् । सडक बिजोग भएको र पुल नबनेको भाग उनकै निर्वाचित क्षेत्रभित्र समेत पर्छ । अर्काेतिर लमजुङबाटै प्रदेश सभा सदस्य रहेका पृथ्वीसुब्बा गुरुङ गण्डकीमा मुख्यमन्त्री छन् । सत्तारुढ दल नेकपाको सचेतक देव गुरुङ र मुख्यमन्त्री पृथ्वीसुब्बाकै जिल्लामा विकास निर्माण ढिलासुस्ती भएको स्थानीयको गुनासो छ ।

तस्बिर :मनाङ जाने बाटोमा पर्ने घोप्टेभिरमा फड्के तर्दै मनाङीहरु । तस्बिर : टंक अधिकारीको फेसबुक

तपाईको प्रतिक्रिया