पोखरा–काठमाण्डौं उडान भोलिदेखि, जोमसोमको टुङ्गो छैन

समाधान संवाददाता २०७७ असोज ४ गते ७:४३

समाधान संवाददाता, पाेखरा ।

कोरोनाको महामारीका कारण चैत्र दोश्रो हप्ताबाट बन्द रहेको आन्तरिक हवाई सेवा (भोलि) सोमबारदेखि सुरु हुने भएको छ । यसका लागि हवाई सेवा कम्पनीहरुले तयारी पुरा गरिसकेका छन् ।

सोमबार पोखरा काठमाण्डौं पोखरा उडान भर्न बुद्ध एअर र यति एअरले टिकट बुकिङ्ख गरेका छन् । सोमबारका लागि बुद्धले २ वटा र यतिले २ वटा उडान तालिका सार्बजनिक गर्दै टिकट बुकिङ्ग खुल्ला गरेका छन् ।

Advertisement

सरकारले तयार पारेको कोरोना सम्बन्धि प्रोटोकल पालना गरेर सोमबारदेखि आन्तरिक उडान सुरु गरिने पोखरा विमानस्थलका कार्यालय प्रमुख भोलाप्रसाद गुरागाईले समधानलाई बताए । “सोमबार बुद्ध र यतिले उडान भर्ने तयारी गरेका छन्, अरुले बिस्तारै सुरु गर्लान ।’ गुरागाईले भने ।

सोमबारको पहिलो उडान बुद्ध एअरले भर्दैछ । बुद्ध एअरका पोखरा प्रमुख गौतम बरालका अनुसार सोमबार विहान ८.३० बजे काठमाण्डौंबाट पोखराका लागि पहिलो उडान हुनेछ । “सोमबारका लागि २ वटा उडान छन् । त्यसपछि यात्रुको चाप अनुसार थप्दै जानेछौं ।’ उनले भने ।

Advertisement

त्यस्तै सोमबारकै लागि २ वटा उडानको तयारी गरेको यति एअरले यात्रुको बुकिङ्ग उत्साहजनक भएको भन्दै खुशी व्यक्त गरेको छ । ‘बुकिङ्ग पनि राम्रै छ । इन्क्वाइरी धेरै छ ।’ यति एअरका पोखरा प्रमुख राम लामिछानले समाधानसँग भने ‘सरकारी प्रोटोकल पुरा गरेरै उडान भर्ने तयारी गरेका छौं ।’

पोखरा विमानस्थलबाट हवाई उडाउन हुने ४ गन्तब्य मध्ये अन्य ३ गन्तब्यमा कहिलेदेखि उडान हुन्छ कुनै टुङ्गो छैन ।

पोखराबाट काठमाण्डौं पछि सबै भन्दा धेरै उडाउन हुने जोमसोम हो । तर जोमसोममा कहिले देखि उडान भर्ने कुनै टुङ्गो छैन । ‘अहिले काठमाण्डौं पोखराको मात्र कुरा भएको छ, जोमसोम बुकिङ्ग खोलेका छैनौं ।’ यति एअरका राम लामिछानेले भने ।

त्यस्तै पोखराबाट चितवनको भरतपुर र भैरहवामा पनि नियमित उडान हुन्थ्यो । ती उडानका बारेमा पनि एअरलायन्सहरुले कुनै तयारी गरेका छैनन् ।

सोमबारदेखि सुरु हुने आन्तरिक उडानमा भाडादर भने पुरानै अनुसार हुने एअरलायन्सहरुले बताएका छन् । सरकारले जहाजलाई पुरै सिट क्षमता अनुसार उडाउन दिने भएपछि भाडादर भने पुरानै कायम गरिएको हो ।

तपाईको प्रतिक्रिया