पोखरामा धर्म–अर्थ–काम र मोक्ष विषयमा बहस

समाधान संवाददाता २०७७ असोज ४ गते १५:१७

समाधान संवाददाता, पोखरा

धर्म–अर्थ–काम र मोक्ष विषयमा पोखरामा शनिबार छलफल भएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले संविधान दिवसका दिन साधारण सभा, साहित्यकार गीता भट्टराईको स्मृति सभासहित विचार गोष्ठी गरेको हो ।

गोष्ठीमा डा. लेखनाथ आचार्यले मोक्ष विषयमा बोल्दै बोध हुनेहरु बोल्दैनन्, बोल्नेहरुमा बोध हुँदैन यसैले समाज अप्ठ्यारोमा परेको बताए । आचार्यले मनको शान्तिका लागि मान्छे मन्दिर धाउँछ तर उसले शौचालय पनि मन्दिर हो भन्ने नबुझ्नु दुखद भएको धारणा राखे ।

Advertisement

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले अर्थका बारेमा विचार राख्दै विश्व अर्थ अवस्थाकै कारण भीषण युद्धमा फस्ँदै गएको बताए । उनले जीवनको प्रत्येक क्षणमा अर्थको महत्व रहने तर मान्छेले सम्यक हिसाबले अर्थोपार्जन गर्नुपर्ने उल्लेख गर्दै आर्थिक महत्वकांक्षाकै कारण व्यक्ति आत्महत्याको तहसम्म पुग्ने र समाज भाँडिदै गएको जिकिर गरे ।

माक्र्सवादी चिन्तक विश्वप्रकाश लामिछानेले मान्छे स्वभाविकैले धार्मिक भए पनि ढोंगीहरुले धर्मको महत्व घटाउँदै लगेको बताए । लामिछानेले शोषणविहीन समाजको परिकल्पना अनुरुपको कर्म नै धर्म भने ।

Advertisement

लेखक सावित्री गौतमले कामका बारेमा प्रकाश पारेकी थिइन् । उनले काम भनेको यौन मात्र बुझ्ने संस्कार गलत भएको धारणा राख्दै आफ्नो नित्य कर्म नै काम हो भनिन् ।

महिलाको सधैं काम बित्ने बताइन् । हिन्दू धर्मको कामदेव जस्तै ग्रिकमा पनि पुरुषलाई यौनदेवता मान्ने चलन रहेको उल्लेख गर्दै इन्द्रले अपराध गर्दा अहिल्या आदिले सजाय भोग्नु परेको तिक्तता पोखिन् । महिलाले यौन चाहना दमन गर्नुपर्ने, पुरुषलाई जहिले जतिसुकै बेला पनि हाम्रो समाजमा यौन स्वतन्त्रता रहेको बताइन् ।

विश्वहिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष शंकर खरालले साहित्यिक संस्थाले यस्तो मर्मभेदी विषयमा बहस चलाउनु अनुकरणीय कार्य हो भने । संस्थाले आगामी दिनमा यस्तै प्रकृतिका विचारप्रधान र रसप्रधान कार्य गर्दै अगाडि बढ्न आवश्यक रहेको विचार व्यक्त गरे ।

कार्यक्रममा वडा ३ की सचिव साहित्यकार चन्द्रावती वाग्ले, साहित्यकार रामनाथ अधिकारी संगी, विष्णु बास्तोला र नरेन्द्र रानाभाटले रचनावाचन गरेका थिए ।

कोरोना सचेतना सामग्री वितरण गरी सामाजिक दूरी कायम गर्दै सीमित समूहमा उक्त कार्यक्रम भएको हो ।

सोही समारोहबीच संस्थाको प्रथम साधारणसभासमेत भएको छ । सभाले महासचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पास गरेको थियो ।

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले समसामयिक विषयका विभिन्न वहस, पैरवी गर्दै साहित्यको उन्नति, देशभक्ति र राष्ट्रिय एकताका पक्षमा वकालत गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया