मिस्ट्री खोला जलविद्युतकाे साधारण सेयर निष्कासन

समाधान संवाददाता २०७७ असोज ४ गते १५:२४

म्याग्दी, ४ असोज (रासस)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणको अन्तिम चरणमा पुगेको मिस्ट्री खोला जलविद्युत आयोजनाको साधारण सेयर (आइपिओ) निष्कासन भएको छ ।

४२ मेगावाट क्षमताको मिस्ट्री र नुवाकोटस्थित ५ मेगावाट क्षमताको तादीखोला जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि एकैपटक १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन भएको हो । दुईवटै आयोजनाको प्रवद्र्धक माउन्टेन इनर्जी नेपाल लिमिटेड रहेको छ ।

Advertisement

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० देखि अधिकतम २० हजार कित्ता सेयर खरिद गर्न पाउने माउन्टेन इनर्जीका प्रशासन तथा लेखा प्रमुख राजेन्द्र शर्माले जानकारी दिए ।

‘गत साउन ८ गतेदेखि सेयर निष्कासन गर्ने भनिएकामा बाढीपहिराका कारण सर्वसाधारणलाई बैंकमा जान आउन समस्या भएपछि स्थगित भएको थियो,’ उनले भने, ‘भदौ ३१ गतेदेखि निस्कासन भएको सेयर छिटोमा असोज १४ र ढिलोमा असोज २९ गतेसम्म बन्द हुनेछ ।’

Advertisement

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिकता दिएर कूल लागतको १० प्रतिशत सेयर निस्कासन गरेको हो । मिस्ट्री खोला निर्माण स्थल नारच्याङ र तादी खोला (थप्रेक) जलविद्युत् आयोजना प्रभावित तादी, पञ्चकन्या र लिखु गाउँपालिकाका बासिन्दाका लागि चालीस र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका लागि ६० प्रतिशत शेयर निस्कासन गरेको हो ।

१९ करोड ६८ लाख दुई हजार ७०० मूल्य बराबरको सेयर निष्कासन भएको छ । नारच्याङ र अन्नपूर्ण गाउँपालिकाका बासिन्दाले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बेनी, ग्लोबल आइएमई बैंक लिमिटेड बेनी, गरिमा विकास बैंक लिमिटेड पोखरेबगर र प्रभु बैंकको अन्नपूर्ण शाखाबाट सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

आइपिओ निष्कासन गर्न कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र सिबिआइएल क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको आइपिओलाई केयर रेटिङ नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ ।

मिस्ट्री खोलाको ९८ प्रतिशत निर्माण सकिएको आयोजनाको परामर्शदाता इन्जिनीयर दिवाकर खड्काले बताए । ‘बाँध र पेनस्टकको काम सकिएको छ,’ उनले भने, ‘विद्युत् गृहमा जडान भएका उपकरणको परीक्षण र टनेलको बाँकी काम अन्तिम चरणमा पुगेको छ ।’

मिस्ट्री खोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेकामध्ये सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा छ । पाँच मेगावाटको घलेम्दी खोलाले गत माघ महिनादेखि उत्पादन सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया