म्याग्दीका बानियाँको किताबलाई यो वर्षको मदन पुरस्कार

समाधान संवाददाता २०७७ असोज ४ गते १८:१५

समाधान संवाददाता

म्याग्दीका चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीले यस वर्षको मदन पुरस्कार पाएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । सबैभन्दा प्रतिष्ठित मदन पुरस्कारबाट साविकको धौलागिरी अञ्चलकै पहिलोपटक म्याग्देली लेखकको हातमा परेको हो ।

बेनी नगरपालिका–५ पुलाचौर घरभई हाल पोखरामा बस्दै आएका बानियाँ पूर्व सांसद हुन् । राजनीतिकबाट टाढा रहेर लेखन क्षेत्रमा सक्रिय बानियाँद्वारा लिखित उपन्यास ऐतिहासिक विषयमा आधरित छ ।

Advertisement

पर्वत राज्यको विषयमा लेखिएको उपन्यासबाट इतिहासका धेरै कुरा बाहिर ल्याएको छ । ३ सय ६८ पेजको यो उपन्यासका लेखक बानियाँका यसअघि ‘मृत्यु संस्कार मन्थन’, ‘कुलपूजा’, ‘एतिहासिक पर्वत राज्य’ प्रकाशित भइसकेको छ ।

बानियाँ केही दिनमा निबन्ध संग्रह ‘भौज्या’ प्रकाशनको तयारीमा छन् । बानियाँले स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यमहरुमा तत्कालीन पर्वत राज्यको इतिहास लगायत धर्म, दर्शन र समसामयिक विषयमा आलेखहरु लेख्दै आएका छन् ।

Advertisement

यसअघि मदन पुरस्कार गुठीले मदन पुरस्कारका लागि ७ पुस्तक सूची सार्वजनिक गरेको थियो । चन्द्रप्रकाश बानियाँको महारानी, विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघन्टु, ललित विष्टको मोहपथ र शारदा शर्माको यात्रामा रहेका थिए ।

तपाईको प्रतिक्रिया