गण्डकीमा आज ३७ जनामा कोरोना पुष्टि

समाधान संवाददाता
पोखरा, ४ असोज
गण्डकी प्रदेशमा आइतबार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ३ जिल्लाका ३७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कास्कीका २०, लमजुङका १५ र तनहुँका २ जनामा कोरोना पुष्टि भएको हो । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४ सय ३९ पुगेको छ । तीमध्ये २१ सय १३ जना निको भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माका अनुसार सक्रिय कोरोना संक्रमित १२ सय ९४ छन् । आइतबार साँझसम्म सबैभन्दा धेरै कास्कीमा ८ सय १६ जनामा संक्रमण पुष्टि भएको छ । मुस्ताङ भने संक्रमणमुक्त छ ।
असार पहिलो साता कोरोना पुष्टि भएका ८३ वर्षे वृद्ध निको भएपछि त्यहाँ संक्रमित भेटिएका छैनन्। गण्डकीमा ३२ संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेमा कास्कीका १०, गोरखा र नवलपुरका ६/६, तनहुँका ४, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।
तपाईको प्रतिक्रिया