पोखरामा प्याज केजीकाे ७० रुपैयाँभन्दा बढी लिन नपाइने

समाधान संवाददाता २०७७ असोज ४ गते २१:०२

समाधान संवाददाता
पोखरा, ४ असोज

पोखरामा प्याजको उपभोक्ता मूल्य ७० रुपैयाँ कायम गरिएको छ । मूल्य बढेको थाहा पाएपछि प्रदेश बजार अनुगमन समितिले पोखरा शन्ति वनस्थित तरकारी बजारमा गत बिहीबार अनुगमन गरेको थियो ।

अनुगमनपछि बजार व्यवस्थापन र व्यवसायीबीच भएको सहमतिले होलसेल मूल्य ५५ रुपैयाँ कायम गरेको समितिकी योजना सहायक रुपा दाहालले जानकारी दिइन् ।

Advertisement

‘अनुगमन गर्दा १८ केजीको बोरालाई २ हजार लिएको पाइयो । अहिले व्यवसायीले १ हजारमा होलसेलमा बेच्नुभएको छ,’ उनले भनिन् । मूल्य घटे पनि स्टक सकिने भएकाले अब २ दिनपछि पोखरामा प्याजको अभाव देखिने भएको छ । भारतबाट प्याज आउन छोडेको र भएको स्टकले २ दिन धान्ने दाहालले बताइन् । ‘यहाँ २ सय बोरा स्टक छ । अहिले प्याज आएको छैन,’ उनले भनिन् ।

चाडपर्वमा पोखरामा धेरै प्याज खपत हुन्छ । दाहालका अनुसार चाडपर्वका बेला हप्तामा ४० देखि ५० टन प्याज आयात हुने गरेको छ । अरुबेला ४० टनसम्म प्याज खपत हुन्छ ।

Advertisement

पोखरामा सुनौली नाका हुँदै प्याज भित्रिने गरेको छ । दक्षिण एसियाको प्याज भण्डार भारतले उत्पादन कम भएपछि त्यहाँको केन्द्र सरकारले गत हप्तादेखि निर्यातमा प्रतिबन्ध लगाएको छ ।भारतले प्रतिबन्ध लगाएको भोलिपल्टबाटै व्यापारीले पुरानै प्याजको मूल्य बढाउन थालेका थिए ।

पुरानै स्टकमा २ सय प्रतिशत फाइदा खाएर बेचेको पाएपछि तरकारी बजारको सटर नम्बर ५० र ५१ बन्द गराइएको थियो । बढी मूल्य लिएका ती व्यापारीलाई कालोबजारी ऐनअनुसार कारबाही अगाडि बढाइएको प्रदेश बजार अनुगमन समितिका सदस्य कपिलनाथ कोइरालाले जानकारी दिए ।

अनुगमनको प्रभावकारिता देखिएको र कालोबजारी रोक्न उपभोक्ता अझ चनाखो हुनुपर्ने उनले बताए । खुद्रा बिक्रेताले १५ रुपैयाँसम्म फाइदा खाएर ७० रुपैयाँमा प्याज बिक्री गर्नुपर्ने उनले जानकारी दिए । होलसेलबाट ५५ र खुद्राबाट ७० भन्दा बढी मूल्य लिए आफूहरुलाई खबर गर्न सदस्य कोइरालाले आग्रह गरे ।

तपाईको प्रतिक्रिया