आन्तरिक उडान सुरु, आज १३४ जना जहाजमा पोखरा आए

समाधान संवाददाता २०७७ असोज ५ गते २१:०६

अनुप आत्रेय
पोखरा, ५ असोज

लकडाउनका कारण चैत दोस्रो सातादेखि ठप्प आन्तरिक उडान सोमबारदेखि सुरु भएको छ । उडान खुलेसँगै ६ महिनापछि पोखरा विमानस्थलमा सोमबार बिहानैदेखि यात्रुको चहलपहल रह्यो । सोमबार १ सय ३४ जना पोखरा आए भने १ सय १४ जनाले पोखरा छोडे ।

बुद्ध एअरका २ र यती एअरको एउटा जहाजले सोमबार उडान भरेको पोखरा विमानस्थलका प्रमुख भोला गुरागाईंले जानकारी दिए । यतीले २ वटा उडान गर्ने तयारी गरेकोमा एउटा उडान रद्द भएको हो ।

Advertisement

बुद्धले २ उडानमार्फत २ सय जनालाई रएउटा उडान गरेको यति एअरले ४८ जनालाई सेवा दिएको छ । पहिलो दिनमै साढे २ सयले सेवा लिनु धेरै राम्रो भएको प्रमुख गुरागाईंले बताए । ‘पहिले दिनमै यति हुनु भनेको राम्रो हो । पछि अझै यो संख्या बढ्ला,’ प्रमुख गुरागाईंले भने ।

पोखराबाट काठमाडौं, भैरहवा र जोमसोम उडान हुने गरे पनि हाललाई काठमाडौं आवातजावत मात्रै भएको छ । ‘यहाँबाट हुने भनेको काठमाडौं, भैरहवा, चितवन र जोमसोम हो । अहिले काठमाडौं आवतजावतमात्रै छ । अरु ठाउँमा पनि विस्तारै होला,’ प्रमुख गुरागाईंले थपे, ‘एअरलाइन्सले पहिला गर्ने उडानको २५ प्रतिशतमात्रै गर्न पाउँछन् । पछि यात्रुको चाप बडेपछि सेड्युल फेरिन्छ ।’

Advertisement

बुद्धले ७२ सिट र यतिले २९ सिट क्षमताको जहाजमार्फत सेवा सुरु गरेका हुन् । बुद्ध एअरका पोखरा कार्यालय प्रमुख गौतम बरालले सुरक्षाका सबै विधि अपनाएर सोमबार आफूहरुले उडान गरेको बताए ।

‘नागरिक उड्डयन प्राधिकरण र हाम्रो आफ्नै प्रोटोकल अनुसार उडान भयो । हात धुने व्यवस्था, सामाजिक दुरी कायम गरेर र कोभिड फर्म भरेका छौं,’ उनले भने । पोखरा–काठमाडौं २४ सय र काठमाडौं–पोखराउडान २ हजारमा भइरहेको प्रमुख बरालले जानकारी दिए ।

यति एअरलाइन्सले पनि २२ सय रुपैयाँमा पोखरादेखि काठमाडौं उडान गरेको छ । काठमाडौंबाट पोखरा आउँदा ३ सय रुपैयाँ कम लाग्छ । पोखरा विमानस्थल सबैभन्दा बढी उडान हुने आन्तरिक विमानस्थल हो । लकडाउन अघिसम्म विमानस्थलबाट जहाज, अल्ट्रालाइट, हेली उडान लगायत गरेर १ सयभन्दा बढी उडान हुने गरेको विमानस्थल प्रमुख गुरागाईंले जानकारी दिए ।

सरकारले १ असोजदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरे पनि वायुसेवा सञ्चालकले पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने अडान लिएका थिए । सुरुमा आन्तरिक उडानका जहाजले ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरिएको थियो । व्यवसायीले विरोध जनाएपछि सत प्रतिशत यात्रु राखेर उडाउने निर्णय गरिएको हो ।

पर्यटक बढ्ने आश

आन्तरिक उडान खुलेसँगै आन्तरिक पर्यटकको आवागमन बढ्नेमा पोखरेली पर्यटन व्यवसायी आशावादी छन् । आन्तरिक उडान खुल्दा ६ महिनादेखि चौपट व्यवसायलाई थोरै भए पनि राहत मिल्ने पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन बताउँछन् ।

‘तत्काल धेरै पर्यटक आउँछन् भन्नेमा छैनौं । आन्तरिक उडान खुलेपछि थोरै भए पनि चहलपहल बढ्छ,’ उनले भने । दशैंतिहार नजिकिएको र विस्तारै पर्यटकको संख्या बढ्ने अध्यक्ष तुलाचानले बताए ।

पोखराका ७ सय पर्यटकस्तरका होटलमध्ये ३० प्रतिशतले मात्रै सेवा प्रवाह गरिरहेका छन् । २४ होटललाई प्रशासनले क्वारेन्टाइनको रुपमा सूचीकृत गरेको छ । त्यसमध्ये क्वारेन्टाइन सेवा दिइरहेको ८ होटलबाट ६ सयभन्दा बढीले सेवा लिएका छन् ।

कर्मचारी बिदामा रहेको र अन्य आवश्यक पूर्वाधारको व्यवस्थापन भइनसकेकाले सबै होटल तत्काल नखुल्ने अध्यक्ष तुलाचनले जानकारी दिए । सरकारले बजेटमा व्यवसायीलाई पुनर्कर्जा दिने भनेको र त्यसलाई जतिसक्दो छिटो व्यवसायीसम्म पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

‘सरकारले घोषणा गरेको पुर्नकर्जा पनि पाइसकेको स्थिति छैन । अहिले व्यवसायीलाई नगदको अभाव छ,’ अध्यक्ष तुलाचनले भने, ‘व्यवसाय चलाउन कम्तीमा ५/६ जनालाई धान्न सक्ने गरी पुँजी चाहिन्छ ।’

तपाईको प्रतिक्रिया