खुल्यो गण्डकी संसदको अवरोध

समाधान संवाददाता
पोखरा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राखेका मागबारे मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सदनमै सम्वोधन गरेपछि गण्डकी प्रदेश सभाको बैठक साेमबारबाट खुलेको छ । कोरोना नियन्त्रण र रोकथाममा सरकार संवेदनशील नभएको र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको बजेट बाँडफाँटमा सांसदबीच विभेद भएको भन्दै कांग्रेसले सदन अवरुद्ध गरेको थियो । बीचको समय कोरोनाको त्रास बढेको र चाडबाड पनि परेकाले १ महिना सदन चलेको थिएन ।
संसदमा जवाफ दिँदै मुख्यमन्त्री गुरुङले प्रदेशका ११ वटै जिल्ला अस्पतालमा आइसियु र भेन्टिलेटर खरिद गरी सघन उपचार कक्ष सञ्चालन गर्न आवश्यक रकम व्यवस्था गरी सबै अस्पतालहरुमा अख्तियारी पठाइसकिएको बताए । लकडाउनकै बीचमा पनि १७ वटा भेन्टिलेटर र २७ वटा आइसियु बेड खरिद भइसकेको उनले जानकारी गराए । उनले भने, ‘लक्ष्य बमोजिम सबै जिल्लाहरुमा आइसियु बेड र भेन्टिलेटर खरिद गर्ने गरी चालु आर्थिक वर्षमा आवश्यक बजेट व्यवस्था गरी खरिद प्रक्रिया अघि बढाइएको छ ।’
धवलागिरी अस्पतालमा अक्सिजन उत्पादन सुरु भइसकेको, मातृशिशु मितेरी अस्पतालमा मेसिन जडान भएको र केही दिनमा उत्पादन हुने उनले बताएका छन् । उनका अनुसार गोरखा, बेनी, पर्वत, मनाङ, मुस्ताङ र स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट खरिद भइसकेको छ ।
प्रदेशभरका अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्वेद केन्द्रमा रिक्त रहेको दरबन्दीमा करारद्वारा पदपूर्ति गर्न प्रदेश सरकाले कार्यविधि स्वीकृत गरिसकेको छ । हाल करारमा लिनै पर्ने अत्यावश्यक पद संख्या निर्धारण गरी तत्कालका लागि १ सय ४ जनशक्ति करारमा लिने गरी प्रक्रिया अगाडि बढाइसकिएको उनले बताए ।
प्रदेश अन्तर्गतका अस्पतालहरुको स्तरोन्नति गर्ने निर्णय भएको र कतिपयमा प्रक्रिया नै थालिएको उनले सदनमा जानकारी गराए । मनाङ र मुस्ताङ अस्पताललाई २५÷२५ शड्ढया र पर्वत, स्याङ्जा, मातृशिशु मितेरी, दमौली र मध्यविन्दु अस्पताललाई ५०÷५० शड्ढया र धवलागिरी अस्पताललाई ३ सय शयाको अस्पतालमा स्तरोन्नति गर्न सरकारले काम थालेको छ । उनले भने, ‘मुस्ताङ जिल्ला
अस्पतालको डिपिआर एवं इआइए भई लागत अनुमान समेत स्वीकृत भइसकेको छ ।’
महामारीलाई ख्याल गरी गण्डकी सरकारले सञ्चालनमा ल्याएको संक्रामक तथा सरुवा रोग अस्पताल स्थापना गरी सञ्चालनमा ल्याएको छ । ४० शड्ढया सञ्चालन रहेको अस्पतालमा १० शड्ढया थपिने भन्दै सञ्चालनका लागि तलब, भत्ता, कार्यालय सञ्चालन, सवारी साधन, औषधी उपकरणका लागि ४ करोड ४८ लाख निकासा भइसकेको उनले जानकारी गराए ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि आवश्यक औजार, उपकरण, मेसिन, किट्स आदिका साथै जनशक्तिको समेत पर्याप्त व्यवस्था गरिएको उनले बताए । मुख्यमन्त्री गुरुङले भने, ‘प्रयोगशालाको स्तरोन्नति गरी अत्याधुनिक रुपमा व्यवस्थित रुपमा सञ्चालन गर्न भवन निर्माण एवं पूर्वाधार विकासका लागि जग्गा प्राप्ति र डिपिआरको प्रक्रिया सुरु भएको छ ।’ धवलागिरी अस्पताल वागलुङमा समेत संघीय सरकारसँगको समन्वयमा पिसिआर ल्याब स्थापना गरी सञ्चालनमा ल्याउने गरी काम सुरु भइसकेको उनले बताए ।
पोस्टमार्टम हुने जिल्ला अस्पतालहरुमा मर्चरी च्याम्बर खरिद गर्न प्रत्येक अस्पतालमा ८ लाखका दरले ७२ लाख विनियोजन भएको छ । त्यसबाट स्याङ्जा, लमजुङ र मनाङ अस्पताल बाहेक सबैमा खरिद भइसकेको उनले बताए ।
त्यसअघि प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले कोरोना नियन्त्रण र रोकथामका बारेमा कांग्रेसले दर्ता गराएको संकल्प प्रस्ताव सदनबाटै अस्वीकृत भए पनि दलका माग यथावतै रहेको बताउ । निषेधाज्ञा खुलेको र अब पर्यटकको चहलपहल समेत बढ्ने, चाडबाडसमेत नजिकिएकाले कम्तीमा ५० हजारजनाको पिसिआर परीक्षण गर्ने गरी सामानको जोहो गर्ने उनले माग गरे । बागलुङ अस्पताललाई उपप्रादेशिक अस्पताल घोषणा गर्न, बागलुङ र नवलपुरमा पिसिआर मेसिन तत्काल राख्न पनि उनले आग्रह गरेका छन् । नवलपुरका नागरिकको पिसिआर परीक्षणका लागि कहिले चितवन त कहिले बुटवल धाउनुपरेको भन्दै उनले जिल्लामै मेसिन राख्न सके अर्को प्रदेश धाउनुपर्ने अवस्था अन्त्य हुने भनाइ राखे ।
११ वटै जिल्लाका अस्पतालमा शवगृह बनाउनुपर्नेे, लेखनाथको सरुवा अस्पतालको पूर्वाधार र जनशक्तिका लागि तत्काल पहल थाल्नुपर्ने, जिल्ला अस्पतालहरुमा बनाउने भनिएको आइसियु र भेन्टिलेटरको व्यवस्था हुनुपर्ने माग पनि कांग्रेसले राखेको छ । कोरोना बिरामीका उपचारका लागि अक्सिजन चाहिने र सिलिन्डर ओसारपसार गर्न झन्झट हुने भएकाले जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट र त्यसका लागि जनशक्ति पनि उपलब्ध गराउन सरकारसँग कांग्रेसको आग्रह छ । प्रादेशिक प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन सरकारले सदनबाटै प्रतिबद्धता जनाउनुपर्ने कांग्रेसको माग छ ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट बाँडफाँट सम्बन्धी कार्यविधिमा कांग्रेसको असहमति जारी नै रहे पनि संसद बैठक भने यसैका लागि अवरुद्ध नगरिने पोखरेलले बताए । उनले भने, ‘कार्यविधिले सांसदबीच दुरी बढाउने काम गरेको छ, यसको हामी विरोध गरिरहन्छौं ।’ कांग्रेसले साउन ३२ गते एकै दिन २ पटक र भदौ १ गतेको बैठक अवरुद्ध गरेको थियो ।
……………..




पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया