महानगरमा ठूला करदाताको छुट्टै कार्यालय, सोफामा राखेर चिया खुवाउदै कर उठाउने

समाधान संवाददाता २०७७ असोज ६ गते १५:०५
sdr

समाधान संवाददाता, पाेखरा ।

पोखरा महानरपालिकाले ठूला करदाताका लागि कर तिर्ने छुट्टै कार्यालय सञ्चालन गर्ने भएको छ । महानगरपालिकाको ४१ औं पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

ठूला करदाताको सूचीकरण गरिएपछि उनीहरुले राजस्व बुझाउने कार्यालय छुट्टै हुनेछ । ठूला करदातालाई सोफामा राखेर सम्मानका साथ राजस्व बुझाउने प्रणाली विकास गर्ने तयारी महानगरको छ ।

Advertisement

संघीय सरकारले यस्तो अभ्यास गर्दै आएको छ । संघीय सरकारमा ठूला करदातालाई हेर्ने गरी छुट्टै कार्यालय छ भने मझौलाका पनि पनि त्यस्तै व्यवस्था छ । जुन प्रभावकारी भएको ठहर गर्दै पोखरा महानगरपालिकाले पनि त्यस्तै व्यवस्था गर्न लागेको हो ।

पोखरा महानगर पालिकाको ठूला करदाताको कार्यालय सिर्जनाचोकमा रहने प्रमुख प्रशासकीय अधिकृत महेश बरालले बताए । सिर्जनाचोकैमा रहेको महानगरको आफ्नै भवनलाई ठूला करदाता कार्यालय बनाइने उनले बताए ।

Advertisement

ठूला करदातालाई छुट्टै कार्यालयको व्यवस्था गर्ने अवधारणा पनि प्रमुख प्रशासकीय अधिकृत बरालकै हो । बरालको अवधारणालाई महानगरका प्रमुखले सहजै स्वीकारेपछि बोर्ड बैठकमा प्रस्तुत गरिएको थियो । ‘पोखरा महानगर दिनानुदिन ठूलो सहर बन्दैछ, सोही अनुसार करदाताको संख्या पनि बढ्दैछ,’ प्रमुख प्रशासकीय अधिकृत बरालले समाधानसँग भने ‘त्यसैले अब कर उठाउने कार्यालय पनि थप्नुपर्छ र व्यवस्थित गर्नुपर्छ भन्ने महसुस गरेरै बैठकले सर्वसम्मत निर्णय गरेको हो ।’

‘ठूला करदातालाई महानगरकै कर्मचारीले फोन गर्ने, कर तिर्ने समय सम्झाउने र कर तिर्न आएको बेलामा सम्मानका साथ सोफामा राखेर चियापानीले स्वागत गर्ने गरी व्यवस्था गर्न लागिएको छ,’ बरालले भने । महानगरमा कर तिर्न जाँदा भिड भएर घन्टौं लाइनमा बस्नुपर्ने अवस्था छ । बैंक भौचर भर्न पनि लाइनमै बस्नु पर्दा ठूला करदाता करै तिर्न नआउने गरेको महानगरको बुझाइ छ ।

ठूला करदाताको कार्यालय स्थापना भएपछि भने महानगरकै कर्मचारीले उनीहरुलाई फोन गरेर कर तिर्ने मिति र करको रकमसमेत सम्झाउने छन् । ‘ठूला करदाताको कार्यालयमा २÷३ जना कर्मचारी हुनेछन् । उनीहरुलाई वर्षमा राजस्व उठाउने टार्गेट दिइन्छ,’ प्रमुख प्रशासकीय अधिकृत बरालले भने, ‘ती कर्मचारीले दिनको ८÷१० जनाबाट राजस्व संकलन गर्नेछन् भने ८÷१० जनालाई कर तिर्न सम्झाउनेछन् ।’

कति राजस्व तिर्ने करदातालाई ठूला करदाताको सूचीमा राख्ने भन्ने कुरा अझै निक्र्योल भइसकेको छैन । ‘राजस्व परामर्श समितिले अध्ययन गर्दैछ । वार्षिक १ लाख रुपैयाँभन्दा माथि तिर्ने वा ५० हजार रुपैयाँभन्दा माथि कर तिर्ने करदाता ठूला करदातामा पर्न सक्छन्,’ बरालले भने ।

आय ठेक्का व्यवस्थापन शाखा पनि छुट्टै

पोखरा महानगरको ४१ औं बोर्ड बैठकले राजस्व शाखालाई ३ भागमा वर्गीकरण गरेको छ । पहिलेको नियमित राजस्व शाखाका अतिरिक्त ठूला करदाताको छुट्टै कार्यालय भए जस्तै राजस्वका उठाउने गरी दिइने ठेक्काको अनुगमन तथा राजस्व असुली गर्न ‘आय ठेक्का शाखा’ शाखाको कार्यालय पनि स्थापना गर्ने भएको छ ।

राजस्व शाखाका कर्मचारीको कमजोरीकै कारण गिटी, बालुवा निकासी कर, कवाडी निकासी कर, होडिङ बोर्ड कर लगायत करबाट हुने आम्दानी जोखिममा परेपछि यस्ता ठेक्का पट्टाबाट हुने आय हेर्न छुट्टै कार्यालय स्थापना गर्न लागिएको हो ।

‘यो शाखामा बस्ने कर्मचारीले ठेक्कापट्टाबाट हुने आम्दानी, बैंक ग्यारेन्टीको समय र असुली लगायतको फलोअप गरिरहनेछन्,’ प्रमुख प्रशासकीय अधिकृत बरालले समाधानसँग भने ।

तपाईको प्रतिक्रिया