क्यानको कार्यक्रमः असोजभित्र साधारणसभा, मंसिरमा राष्ट्रिय प्रतियोगिता

समाधान संवाददाता २०७७ असोज ६ गते २०:४०

समाधान संवाददाता, पोखरा

नेपाल क्रिकेट संघ (क्यान)ले आउँदो २८ गते साधारणसभा डाकेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट ससर्त फुकुवा भएपछि क्यानले साधारणसभा तय गरेको हो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बोर्ड बैठकको निणर्य सुनाउँदै असोज २८ मा भर्चुअल सभा बोलाएको जानकारी दिए । आइसिसीको सर्त अनुरुप क्यानले असोजभित्र साधारणसभा बसी सक्नुपर्नेछ ।

Advertisement

७ महिनादेखि ठप्प क्रिकेटका प्रतियोगिता आयोजना गर्न क्यानले पहलकदमी लिने चन्दले सुनाए । मंसिरभित्र प्रधानमन्त्री कप पुरुष तथा महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना तथा बन्द प्रशिक्षणमा राख्न क्यानले राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग समन्वय गर्ने भएको छ । ‘आइसिसीको घरेलु प्रतियोगिता सञ्चालन सम्बन्धीसर्तअनुसार मंसिरभित्र प्रधानमन्त्री कप प्रतियोगिता आयोजना गरिने छ,’ चन्दले भने ।

नेपालमा गत फेब्रुअरीमा आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच त्रिकोणात्मक सिरिज आयोजना भएको थियो । त्यसपश्चात तय भएका घरेलु तथा अन्तर्राष्ट्रिय खेल भने कोरोना महामारीका कारण रद्द भएका थिए ।

Advertisement

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडीलाई पहिलोपटक सेन्ट्रल कन्ट्र्याक्ट दिइएको छ । बैठकले पहिलोपटक महिला खेलाडीलाई सेन्ट्रल कन्ट्र्याक्ट प्रदान गरेको हो । क्यानले १९ जना महिला खेलाडीलाई ३ ग्रेडमा विभाजन गर्दै सेन्ट्रल कन्ट्र्याक्टमा राखेको हो । ‘ए’ ग्रेडमा ५, ‘बी’ मा ८ र ‘सी’ मा ६ जना खेलाडी राखिएको क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंहले जानकारी दिए ।

पुरुष टोलीका खेलाडीको भने तलब वृद्धि गरिएको छ । हरेक ग्रेडको तलब ५-५ हजारको दरले वृद्धि भएको हो । यस वर्षदेखि ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडका खेलाडीले क्रमशः ५० हजार, ४५ हजार र ४० हजार पाउने छन् ।

गत साता धनगढीमा सडक दुर्घटनामा परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित भण्डारीको उपचारमा क्यानले आवश्यक सहयोगसमेत गर्ने भएको छ । घाइते भण्डारी काठमाडौंस्थित निजी अस्पतालमा उपचाररत छन् ।

तपाईको प्रतिक्रिया