गण्डकीकाे खेलकुद विधेयक संसदमा, सांसद भन्छन्: खेलकुदको लगानी खर्च होइन आम्दानी

समाधान संवाददाता २०७७ असोज ७ गते ६:२२

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेशमा खेलकुदको विकास गर्ने सम्बन्धमा बनेको विधेयकमाथि बुधबार संसदमा छलफल सुरु भएको छ । छलफलमा भाग लिँदै सांसदहरुले मुलुकको विकासको चिनारी खेलकुदले गराउने भन्दै यसमा लगानी बढाउन आग्रह गरेका छन् ।

नेकपा सांसद दीपक कोइरालाले आजको दिनमा खेलकुद खेल्ने र कुद्नेमा मात्र सीमित नरही अर्थोपार्जनसँग पनि जोडिएको बताए । संसारभरका विकसित मुलुकहरुमा आफ्नो मुलुको झण्डा फहराउने अवसर खेलकुदले दिने भन्दै शक्तिशाली मुलुकहरुसँग प्रतिस्पर्धा गर्ने मौका पनि खेलकुदले नै दिने भएकाले यसको बढी महत्व रहेको बताए ।

Advertisement

उनले भने, ‘मुलुक कति समृद्ध छ भनेर नाप्ने इन्डिकेटर खेलकुद बनेको छ । विकसित मुलुकहरुले खेलकुदमा ठूलो लगानी गरेका हुन्छन् ।’ ब्राजिलको आम्दानीको सबैभन्दा धेरै हिस्सा फुटबल खेलाडीबाट रेमिट्यान्ट आउने गरेको दृष्टान्त दिँदै उनले खेलकुदमा लगानी गरेकै कारण ब्राजिल त्यो अवस्थामा पुगेको बताए ।

मानिसको स्वास्थ्यका लागि पनि खेलकुद आवश्यक रहेको भन्दै उनले अस्पताल कम गरेर रंगशाला बढाउनुपर्छ भन्ने भनाइ यसै नआएको भनाइ राखे ।

Advertisement

कांग्रेस सांसद विष्णुप्रसाद लामिछानेले प्रदेशका धेरै खेलाडी यो विधेयकको प्रतीक्षामा रहेको भन्दै पहिल्यै आउनुपर्ने ढिलै भए पनि आएको भन्दै खुसी व्यक्त गरे । प्रदेशलाई अरु प्रदेशसँग र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्ने सक्षम बनाउने उनको भनाइ थियो ।

प्राचीनकालमा यसलाई केवल मनोरञ्जनको माध्यममा रुपमा लिइए पनि यसले युवालाई अनुशासनमा रहन र सत्मार्गमा लाग्न सहयोग गर्ने भनाइ राखे । उनले भने, ‘खेलकुदमा व्यस्त हुने खेलाडी कुलतमै कमै फँस्छन् । खेलकुद अहिले स्वास्थ्यसँग जोडिएको छ । राजनेता, कर्मचारी, व्यापारी अहिले कुनै न कुनै खेलमा सहभागी हुने आउने गरेका छन् । खेलकुदले प्रतिस्पर्धात्मक क्षमता विकास गर्छ ।’

खेलकुदले भाइचारको सम्बन्ध विस्तारमा पनि यसले सहयोग पु¥याउने भन्दै यसमा लगानी गर्न डराउनु नहुँने भनाइ उनले राखे । विधेयक बनाएर र कसैलाई नियुक्त गरेर मात्र खेलकुदप्रतिको दायित्व पूरा नहुँने भन्दै पूर्वाधार र प्रशिक्षणलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए । उनले भने, ‘म खेलकुदमा लागेर मेरो भविष्य सुनिश्चित छ भनेर गर्व गर्ने अवस्था गण्डकीमा सिर्जना गर्न जरुरी छ ।’ केही गठन र नियुक्तिका दफाबारे सुधार गर्नुपर्ने धेरै ठाउँ रहेको भन्दै उनले । स्थानीय तहसँगको समन्वयका बारेमा यो विधेयकले नबोलेको बताए ।

नेकपा सांसद पुष्पा केसी भण्डारीले परम्परागत खेलहरु संरक्षण गर्दै मोबाइलमा भुलिरहेका बालबालिका र युवालाई समेट्ने प्रयास यो विधेयकले गर्न सक्नुपर्ने बताइन् । उनले भनिन्, ‘यो विधेयकले खेलका माध्यमबाट जीवनयापन गर्न सकिन्छ भन्ने सुनिश्चित गरेको छ ।’

अभिभावकहरु आफ्ना बालबालिका खेलकुदमा लागे बिग्रे भन्ने अवस्था कायमै रहेको भन्दै उनले खेलमै स्थापित भएका खेलाडीसमेत जीवनको उत्तराद्र्धमा दिक्क मान्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने भनाइ राखिन् ।

राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापाले युवाले अत्यन्तै रुचाएको र भविष्य खोजेको खेलजगतलाई सबल बनाउन लगानी बढाउनुपर्ने भनाइ राखिन् । उनले भनिन्, ‘प्रतिस्पर्धाका लागि मात्र होइन जित्नका लागि भाग लिएका छौं भन्ने आभास नभएसम्म उपाधि हात पार्न सकिँदैन । यसमा लगानी थप्नु आवश्यक छ ।’

प्रदेशको अर्थतन्त्रको मुख्य कडीका रुपमा यसलाई जोड्नुपर्ने उनले बताइन् । खेलजगतलाई स्वास्थ्य जगतमात्र नहेरी, कृपाको रुपमा मात्र नहेरी यसबाट आम्दानीसँग पनि जोड्न उनले सुझाव दिइन् । खेलमा प्रविधिको प्रयोग गरेमात्र नेपालीहरु प्रतिस्पर्धामा उत्रन सक्ने उनको भनाइ थियो । राष्ट्रिय खेलकुद परिषदमा जुन तरिकाको राजनीतिक हस्तक्षेप देखिएको छ प्रदेश खेलकुद परिषदमा पनि त्यो अवस्था आयो भने विडम्बनापूर्ण हुने उनले बताइन् ।

नेकपा सांसद विनोद केसीले युवालाई केन्द्रित गरी खेलकुदमा लगानी बढाउनुपर्ने बताए ।

संसदमा उठेका प्रश्नको जवाफ दिँदै सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले संघ सरकारले विधेयक नल्याएका कारण हामीले प्रदेश सरकारले विधेयक ल्याउन नसकिएको बताइन् । गण्डकी विश्वविद्यालयमा खेलकुदको पाठ्यक्रम समेटिएको भन्दै उनले सरकार प्रदेशलाई खेलकुदमा अब्बल बनाउने प्रयासमा रहेको दाबी गरिन् ।

तपाईको प्रतिक्रिया