महानगरले बनायो आइसोलेसन, भोलिदेखि संक्रमित राखिने

समाधान संवाददाता २०७७ असोज ७ गते १९:२१
sdr

समाधान संवाददाता
पोखरा, ७ असोज

पोखरा महानगरपालिकाले वडा नम्बर ३३ मा ५० बेडको आइसोलेसन बनाएको छ । लक्षण नभएका र घर बस्न नसक्ने संक्रमितलाई राख्न ३० लाख खर्चेर आइसोलेसन बनाइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिए । ‘होम आइसोलेसनमा बस्न सक्नेलाई घरमै राखिन्छ । एउटा कोठमा २/३ जना बस्दा छुट्टै बस्न नमिल्ने हुन्छ । त्यस्तो भए त्यहाँ लैजान्छौं,’ उनले भने ।

पक्षघात भएकालाई राख्न बनाइएको भवनमा महिला सेफ हाउस बनाउने भनिएको थियो । तर पछि बेवारिसे बनेको भवनलाई महानगरले आइसोलेसन बनाएको हो ।

Advertisement

त्यहाँ बिहीबारदेखि संक्रमितलाई राखिने बरालले जानकारी दिए । त्यहाँ बिजुली, चर्पीको राम्रो व्यवस्था हुनुका साथै सिसिटिभी पनि जडान गरिएको उनले बताए । ‘सबै सुविधा छ । एउटा एम्बुलेन्स, २४ घन्टा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बस्नुहुन्छ,’ बरालले भने ।

प्रदेश सरकारले उक्त भवनलाई पहिल्यै २० लाख रुपैयाँ छुट्याएको र अरु महानगरको कोरोना कोषबाट खर्च गरेर त्यहाँ आइसोलेसन बनाइएको हो । महानगरले प्रदेश सरकारले छुट्याएको २० लाख रुपैयाँ सामाजिक विकास मन्त्रालयसँग मागेको छ ।

Advertisement

महानगरले होटल, पार्टी प्यालेस, विद्यालय जस्ता ठूला संरचना आइसोलेसन बनाउने तयारी गरेको थियो । तर आफूले खोजेजस्तो नपाइँदा र खर्च धेरै आउने भएपछि होटलमा आइसोलेसन बनाउने योजनाबाट महानगर पछि हट्यो ।

८ भदौमा आइसोलेसनका लागि सार्वजनिक सूचना निकालेकोमा २ होटलले मात्रै आवेदन दिए । पर्याप्त आवेदन नपरेको भनेर भदौ अन्तिममा फेरि सूचना निकालिएकोमा त्योबेला पनि कोही इच्छुक देखिएनन् ।

महानगरले बनाएको यो दोस्रो आइसोलेसन हो । पोखरा मालेपाटनस्थित कृषि तालिम केन्द्रलाई पनि ४५ बेडको आइसोलेसन बनाइएको छ । त्यहाँ पनि लक्षण नभएका संक्रमितलाई राखिएको महानगरका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।

महानगरको २ बाहेक केन्द्र सरकार मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पताललाई पनि आइसोलेसन बनाइएको छ ।

पोखरामा बुधबारसम्म ८ सय ९ जनामा कोरोना पुष्टि भएको अधिकृत आचार्यले जानकारी दिए । तीमध्ये ३ सय ७२ जना निको भएका छन् । ४ सय २५ सक्रिय संक्रमितमध्ये अधिकांश संक्रमित होम आइसोलेसनमा छन् । पोखराका ८ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

तपाईको प्रतिक्रिया