क्यानको खेलाडी वर्गीकरणमा विभेद

समाधान संवाददाता २०७७ असोज ८ गते ११:२५

अनिष भट्टराई, पोखरा

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडीले पहिलोपटक सेन्ट्रल कन्ट्र्याक्ट पाए । नेपाल क्रिकेट संघ (क्यान)को मंगलबारको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई सेन्ट्रल कन्ट्र्याक्ट प्रदान गरेको हो । क्यानले १९ जना महिला खेलाडीलाई ३ ग्रेडमा विभाजन गर्दै सेन्ट्रल कन्ट्र्याक्टमा राखेको थियो ।

नेपाली महिला क्रिकेटको इतिहासमा पहिलोपटक प्रदान गरिएको सेन्ट्रल कन्ट्र्याक्टको ‘ए’ ग्रेडमा टोलीकी कप्तान रुबिना क्षेत्री, नेरी थापा, इन्दु बर्मा,सीता राना मगर, करुणा भण्डारी छन् ।

Advertisement

‘बी’ ग्रेडमा ज्योति पाण्डे, अप्सरी बेगम,रोमा थापा, बिन्दु रावल, कविता जोशी, ऋतु कजौनिया,काजल श्रेष्ठ र सरीता मगर अटाएका छन् । ‘सी’ ग्रेडमा कविता कुँवर,डोली भट्ट,अनुराधा चौधरी, सोनु खड्का,अञ्जली चन्द, शोभा आले छन् ।

२००७ जुलाई मलेसियामा भएको एसिसी महिला क्रिकेट प्रतियोगिताबाट खेल्न थालेको नेपाली टोलीले १३ वर्षपछि सेन्ट्रल कन्ट्र्याक्ट पाएको हो । गत वर्ष राष्ट्रिय महिला टोलीले थाइल्यान्डमा भएको टि–२० स्प्लास र नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुृद सागमा प्रतिस्पर्धा गरेको थियो । सागमा नेपालले कास्य पदक हात पा¥यो ।

Advertisement

तर पहिलोपटक दिइएको कन्ट्र्याक्टमा ती २ प्रतियोगिता खेलेका खेलाडीले नै चित्त दुखाएका छन् ।

कुनै पनि क्रिकेटिङ राष्ट्रमा १ वर्षको खेल संख्या र खेलाडीका प्रदर्शन बमोजिम कन्ट्र्याक्ट दिइन्छ । तर नेपाली महिला टोलीबाट अघिल्लो वर्ष १ खेल पनि नखेलेका खेलाडी क्यानको सेन्ट्रल कन्ट्र्याक्टमा अटाएका छन् । ज्योति पाण्डे, बिन्दु रावल, कविता जोशी, सोभा आले सम्झौतामा छन् । उनीहरुले गतवर्ष टोलीबाट खेलेका थिएनन् ।

सागमा डेब्यु गरेकी शान्ति खतिवडा, टोलीमा कमब्याक गरेकी सरस्वती चौधरी तथा टोलीकी सदस्य ममता चौधरी भने कन्ट्र्याक्ट बाहिर रहे । सागमा नेपालका लागि कीर्तिमानी प्रदर्शन गरेकी अञ्जली चन्द कन्ट्र्याक्टको सी ग्रेडमा राखिएकी छन् । सोनु खड्कासमेत सोही ग्रेडमा राखिएकी छिन्। यसले गर्दा खेलाडी निराश देखिएका छन् ।

कन्ट्र्याक्टमा नअटाएकी एक खेलाडीले आफूहरुमाथि भेदभाव भएको बताइन् । नाम नखुलाउने सर्तमा बोल्दै उनले यस्तै अवस्था रहे खेलाडी जीवन त्याग्न बाध्य हुने समेत जोडिन् । ‘हामी त यससाल खेलेका थियौँ । हामी खेलेको भएपनि हाम्रो नाम समावेश भएन । यस्तै रहे क्रिकेट छाड्न बाध्य हुन्छौँ,’ उनले भनिन् ।

यस्तै अर्की खेलाडीले धेरै समय टिमबाट १ खेल पनि नखेलेको तर उनीहरुकै नाम देख्दा आफूलाई आश्चर्य लागेको प्रतिक्रिया दिइन् । क्रिकेटको अभिभावक संघको यस्तो व्यवहारले आफूहरुलाई ठूलो चोट परेको र आफ्नो अस्तित्व नै नरहे जस्तो लागेको उनले बताइन् ।

खेलाडीहरुले आफूहरुले आफ्ना सिनियर खेलाडीसँग बुझ्दा उनीहरु स्वयं अनभिज्ञ बनेको सुनाए । ‘क्याप्टेन र सिनियर दिदीहरुसँग पनि कुरा गरेको हो, उहाँहरुले पनि थाहा नभएको उत्तर दिनुभयो,’ एक खेलाडीले भनिन् ।

यता क्रिकेट संघका महासचिव अशोकनाथ प्याकुरेल भने यसबारे बोर्डले गहिरिएर नहेरेको र समितिले सिफारिस गरेका खेलाडीलाई नै सम्झौतामा राखिएको प्रतिक्रिया दिए ।

कन्ट्र्याक्ट निर्धारण गर्न क्यानका कोषाध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको थियो । उक्त समितिलाई सागपछि कन्ट्र्याक्टको सर्टलिस्ट बनाउन भनिएको थियो । क्यानले त्यस सूचीलाई नै आधिकारिकता दिएको र यसबारे पुनर्विचार हुन्छ÷हुँदैन भन्न नसक्ने प्याकुरेलको भनाइ छ ।

क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले भने अब यसलाई पहिलोपटक गर्दाको गल्ती भएका कारण टाउको दुखाइको विषय नबनाउन आग्रह गरे । अहिले खेलाडीको निरन्तरता, प्रदर्शन र अनुशासन हेरेर कन्ट्र्याक्ट गराइएको उनले जानकारी दिए ।

अहिले कन्ट्र्याक्टमा नअटाएका हकदार खेलाडीलाई आउँदो जनवरीमा राखिने उनको जिकिर छ । ‘यसलाई धेरै सोचिरहन आवश्यक छैन । जनवरीमा चेन्ज भइहाल्छ,’ उनले भने,‘निरन्तरता, प्रदर्शन र अनुशासन हेरेर हामीले कन्ट्र्याक्ट दिएका हौँ ।’ तर कन्ट्र्याक्टमा रहेका केही खेलाडीको निरन्तरता भने अनुत्तरित रह्यो ।

नेपाली टोलीकी उपकप्तान सीता रानामगर क्यानको यस वर्गीकरणका कारण केही खेलाडीले खेलप्रतिको माया मार्न सक्ने आँकलन गर्छिन् । खेल खेल्दै नखेलेका आउनु र खेलिरहेका खेलाडी बाहिरिनु आश्चर्य भएको उनको भनाइ छ ।

खेलाडीको सेन्ट्रल कन्ट्र्याक्टबारे कुरा भएता पनि आफूहरुले वर्गीकरणबारे पूर्वसूचना नपाएको बताइन् । तर अहिले केही त्रुटि भएतापनिसेन्ट्रल कन्ट्र्याक्टले महिला क्रिकेटको भविष्य तय गर्न सक्ने उनको जिकिर छ ।

आधारभूत आवश्यकता पूरा गर्न सहयोग पुग्ने र खेलाडीले व्यावसायिकता पाउने रानाले सुनाइन् । ‘गल्ती भएकै हो, खेलप्रति खेलाडीको मोह नै टुट्न सक्छ । तर कन्ट्र्याक्टले व्यावसायिकता भने प्रदान गरेको छ,’ उनले भनिन् ।

तपाईको प्रतिक्रिया