खुल्न थाले मुस्ताङका विद्यालय

समाधान संवाददाता २०७७ असोज ८ गते ११:५३

एसके थकाली, जोमसोम

मुस्ताङका सामुदायिक तथा निजी विद्यालय खुल्न थालेका छन् । यसअघि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)कहरका कारण लामो समयदेखि यहाँको पठनपाठन ठप्प थियो ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेसँगै यहाँका विद्यालयले सम्बन्धित तहको अनुमतिमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई विद्यालय खुल्न थालेका हुन् ।

Advertisement

मुस्ताङको घरपझोङ गाउँपालिकाका ८ वटा सामुदायिक विद्यालय मंगलबारबाट सञ्चालनमा आएका छन् । गाउँपालिकाको २ निजी विद्यालय बुधबारदेखि खुलेका हुन् ।

गाउँपालिकाका शिक्षा अधिकृत हिमलाल शर्माले सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका बमोजिम शिक्षासँग सम्बन्धित सरोकारवालाबीचको छलफलपछि सहजीकरण निर्देशिका बमोजिम विद्यालयको शैक्षिक पठनपाठन अघि बढाउने निर्णय भएको बताए ।

Advertisement

यसका लागि पालिकाले विद्यालय सञ्चालन पूर्व विद्यालयको परिवेशका आधारमा सहजीकरण निर्देशिकाले तोकेको मापदण्डमा आधारित रही सिकाइ क्रियाकलाप कार्ययोजना पेस गरेपछि शैक्षिक गतिविधि अघि बढाउन दिने अनुमति प्रदान गरेको शिक्षा शाखा प्रमुख शर्माले जानकारी दिए ।

घरपझोङ गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाले तोकेको मापदण्डमा रही विभिन्न ६ वटा अप्सनमा शैक्षिक गतिविधि अघि बढाउन सक्ने विद्यालयलाई जानकारी गराएको थियो ।

जसका आधारमा पालिकाले उपलब्ध गराएको मापदण्ड अनुसार केही विद्यालयले जोररविजोर प्रणाली र केहीले विभिन्न कक्षागत कार्यतालिका बनाएर शैक्षिक पठनरपाठन अघि बढाएको घरपझोङका शिक्षा अधिकृत शर्माले बताए ।

जिल्लाको थासाङ गाउँपालिकाले यसअघि नै वैकल्पिक प्रणाली अन्तर्गतको रेडियो र टेलिभिजन कक्षाको माध्यमबाट दुरशिक्षा पढाइ सञ्चालन गरेको थियो ।

वैकल्पिक प्रणालीको निर्दैशिका जारी भएपछि थासाङले पालिकाभित्रका ११ वटै विद्यालयमा असार १ देखि वैकल्पिक शिक्षा सहजीकरणको पठनपाठनलाई निरन्तरता दिँदै आइरहेको शिक्षा अधिकृत टंकनाथ पौडेलले जानकारी दिए ।

उनले पछिल्लो समय निर्देशिका हेरफेरपछि आएको विद्यार्थी सिकाई सहजीकरण निर्देशिकाको जगमा रही यसअघिको वैकल्पिक प्रणालीको दूर शिक्षा पढाइको अनुभव संगाल्दै आवश्यक मापदण्ड अपनाई पठन पाठनलाई जारी राखेको बताए ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका ३ बालविकास केन्द्र र १ गुम्बा विद्यालयसहित १७ विद्यालय पनि सञ्चालन गर्ने अन्तिम तयारी भरहेको शिक्षा अधिकृत शिव खड्काले जानकारी दिए ।

उनले पालिकाका अधिकाश शिक्षक जिल्ला बाहिर रहेकाले पालिकाले शिक्षकलाई कार्यक्षेत्रमा फर्किन आग्रह गरेको बताए ।

उनका अनुसार यसअघि बारागुङमा जननर्मल र जनशान्ति विद्यालयमा वैकल्पिक प्रणालीको दुरशिक्षा रेडियो र टेलिभिजनबाट पढाइ भएकोमा छेंगुर विद्यालय पनि सञ्चालनमा आएको र अन्य विद्यालय पनि क्रमश खुल्दै जाने उल्लेख गरे ।

‘शिक्षक कार्यक्षेत्रमा आइपुगेका छन् । यहाँ आएका शिक्षक क्वारेन्टाइनमा छन्,’ उनले भने, ‘क्वारेन्टाइनबाट बाहिरिएपछि सहजीकरण निर्देशिका बमोजिम पढाइ सुरु हुन्छ ।’

उपल्लो मुस्ताङमा सञ्चालनमा समस्या

उपल्लो मुस्ताङमा विद्यालय सञ्चालनमा ल्याउन असजह परेको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका शिक्षा अधिकृतहरुले बताए ।

लोमान्थाङमा ४ वटा निजी गुम्बा विद्यालयले साविक बमोजिम शैक्षिक पठनपाठन गरे पनि सामुदायिक विद्यालय सञ्चालनमा ल्याउन कठिन परेको लोमान्थाङकी शिक्षा अधिकृत मीरादेवी शर्माले बताइन् ।

लोमान्थाङमा स्थानीय शिक्षक नभएको र सबै शिक्षक जिल्ला बाहिरका भएकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका अनुसार पठनरपाठन गर्न अप्ठेरो परेको उनले स्पष्ट पारिन् । उनले कोरोना कहर र लकडाउनले शिक्षक कार्यक्षेत्रमा आउन नसकेको शिक्षा अधिकृत शर्माले जनाइनन् ।

पालिकाले सबै सामुदायिक विद्यालयका प्रअलाई कार्यक्षेत्रमा फर्किन आह्वान गरेर र उनीहरु आएपछि विद्यालयको प्रशासनिक, वैकल्पिक विद्यार्थी सिकाइ सहजीकरण र पाठ्यपुस्तक वितरण गर्ने योजना रहेको शर्माले उल्लेख गरिन् ।

सरकारले जेठ २८ गते वैकल्पिक प्रणालीको रेडियो, टेलिभिजन र अनलाइन कक्षा सञ्चालन गर्न निर्देशिका जारी गरेको भएपनि शिक्षक नहुँदा र विद्यार्थीको पहुचमा दूरशिक्षाको स्रोतसाधनको पहुँच नहुदा ६ महिना देखि पठनरपाठन ठप्पै भएको बताइन् ।

पालिकाको लोमान्थाङ २ छोसेरस्थित दिव्यदिप माविमा भने एनबिआरआई संस्थाको संस्थाको सहयोगमा कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीलाई कल ट्रि शिक्षा दिँदै आएको बताइन् ।

यसप्रकारको कल ट्रीको माध्यमबाट शिक्षकले विद्यार्थीको फोन नम्बर संकलन गरी विद्यार्थीलाई होमवर्क दिने नबुझेका कुरा फोनबाट बताउने, घरमै बसेर पढेका विद्यार्थीको सिकाइमा सहजीकरण गर्ने गरिएको शिक्षा अधिकृत शर्माले उल्लेख गरिन् ।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि विद्यार्थीको सिकाइ सहजीकरण गराउन सञ्चारको पहुच नभएको शिक्षा अधिकृत प्रकाश नेपालीले जानकारी दिए ।

उनले यसअघिको वैकल्पिक प्रणालीको शिक्षा उपलब्ध गराउन विद्यार्थीको पहुचमा रेडियो, टेलिभिजन र अनलाइनको समस्या भएको र शिक्षकहरु समेत कार्यस्थलमा नभएकाले शैक्षिक गतिविधि गर्न समस्या परेको भएपनि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकापछि पालिकाले विद्यालय खोल्ने गृहकार्य गरिरहेको जानकारी दिए ।

उनले पालिकाभित्रको घमी र घिलिङका २ विद्यालयमा वैकल्पिक कक्षा भइरहेको र त्यसलाई औपचारिकरुपमै पढाउन अनुमति दिइएको बताए । शिक्षा अधिकृत नेपालीले विद्यालय खोल्ने विषयमा अभिभावक समेत मानसिक रुपमा सहमत नभइसकेकाले विद्यालय खोल्ने पूर्ण वातावरण बन्न नसकेको स्पष्ट पारे ।

उनका अनुसार लोघेरमा पनि अधिकाश शिक्षक जिल्ला बाहिर रहेकाले कार्यक्षेत्रमा फर्कन अनुरोध गरिएको र शिक्षक सबै आइपुगेपछि पालिका, विद्यालय र सरोकारवालाको सहमतिमा विद्यालय खोल्ने तयारी भएको छ ।

तपाईको प्रतिक्रिया