कोरोना जितेका स्वास्थ्यकर्मी भन्छन्ः ‘संक्रमितलाई सहानुभूति चाहिन्छ’

अनुप आत्रेय, पोखरा
दैनिक ६ घन्टा वार्डमा ड्युटी हुन्थ्यो । कहिलेकाहीँ प्रिआइसोलेसनमा पनि खटिनुपथ्र्यो । असोज अन्तिम साता प्रिआइसोलेसनमा ड्युटी पर्यो ।
गण्डकी मेडिकल कलेजकी २६ वर्षे नर्स नाइट ड्युटीमा खटिइन् । कोरोनाका शंकास्पद बिरामी प्रिआइसोलेसनमा थिए ।
ज्वरो आएका ती बिरामीको रिपोर्ट पोजेटिभ आयो । त्यसपछि २६ वर्षीया नर्स कन्ट्याक ट्रेसिङमा परिन् । २६ भदौमा स्वाब परीक्षणलाई दिइन् ।
‘२÷३ दिन क्वारेन्टाइनमा बसेँ । स्वाब दिएको ३ दिनपछि रिपोर्ट पोजेटिभ आयो,’ नाम नबताउने सर्तमा संक्रमित नर्सले भनिन्, ‘उहाँबाटै स¥यो जस्तो लाग्छ ।’
दोस्रो परीक्षणका लागि सोमबार प्रयोगशाला पठाएको स्वाबको रिपोर्ट मंगलबार नेगेटिभ आएको छ । कोरोना पोजेटिभ देखिएपछि छिट्टै निको हुने आशमा बेसार पानी र गुर्जो सेवन गरिन् ।
‘कुनै लक्षण थिएन । घरबाट गुर्जो ल्याइदिनुभएको थियो । बेसार पानी खाएँ,’ ती नर्सले भनिन् ।
साथीभाइ र घरपरिवारको हौसलाले पनि कोरोना जित्ने मनोबल बढेको उनले सुनाइन् । तर आफूले सुनेको, पढेको र सोचेभन्दा कोरोना फरकजस्तो लागेको छ । नलागोस् पनि कसरी सँगै काममा खटिएका साथीभाइको त रिपोर्ट नेगेटिभ आयो ।
‘छोएपछि सर्छ भन्ने लाग्थ्यो । तरसँगै काम गर्ने साथीलाई पोजेटिभ देखिएन,’ आश्चर्य मान्दै उनले थपिन्, ‘पिपिई, मास्क, ग्लोब्स सबै थियो । तर कसरी सर्यो सर्यो ।’ परिवार र साथीभाइले दिएको ढाडस, बेसार र गुर्जो पानीको बलबुतामा उनले कोरोना भाइरसलाई जितेकी छन् । उनी फेरि कर्ममा फर्कने तयारीमा छिन् ।
स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यको कोरोना परीक्षण रिपोर्ट ७ भदौमा पोजेटिभ आयो । उनी क्वाटरमै बसे । १६ भदौमा पठाएको स्वाबको रिपोर्ट नेगेटिभ आयो ।
सेवामै खटिएका बेला संक्रमित बनेका उनलाई अझै लाग्छ– समाजले हेर्ने दृष्टिकोण किन परिवर्तन हुन सकेन । ‘पोखरामै बुवा संक्रमित हुँदा छिमेकीले तगारो लगाइदिएर बच्चाले दुध खान नपाएको घटना पनि भयो । समाजबाट यस्तो व्यवहार हुनु निकै दुखद हो,’ उनी भन्छन्, ‘बुझ्ने वर्गबाटै पनि यस्ता घटना भएको छ ।’
संक्रमितमाथि कुदृष्टि र परिवारका सदस्यमा समाजले गरेको व्यवहार देखेका र सुनेका आचार्यले त्यस्तो भोग्नु परेन ।
‘कामको सिलसिलमा म मनाङ र परिवारका सदस्य पोखरा भएकाले समाजबाट हुने गरेको व्यवहार मैले भोग्नुचाहिँ परेन,’ संक्रमित हुँदाको अनुभव साट्दै उनले थपे, ‘संक्रमितलाई सहानुभूति चाहिन्छ ।’
सीमित जनशक्तिले जिल्ला धानिरहेको र त्यहीबेला आफूलाई संक्रमण भएको आचार्यको अनुमान छ । ‘काम गर्न जनशक्ति थोरै छौं । स्वाब संकलन हुँदा विवरण नोट गर्थें । मास्क र पन्जामात्रै लगाएर काम गर्थें । सायद त्यहीबेला संक्रमण भयो,’ उनले सुनाए ।
१ हप्ता पहिला स्वाब लिएर पोखरा आएका उनी परिवारका सदस्यसँग भेट गरेर कर्मथलोमा खटिएका छन् ।
जिएमसीकी २६ वर्षे नर्स र प्रमुख आचार्यसहित गण्डकी प्रदेशका ६४ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । ३२ जना निको भएका छन् ।

मुस्ताङ र म्याग्दीबाहेक प्रदेशका ९ जिल्लामा स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोरोना पुष्टि हुनेमा कास्की र पर्वतका १२, तनहुँ र बागलुङका ९, नवलपुर र लमजुङका ८, स्याङ्जाका ४, मनाङ र गोरखाका १/१ जना छन् ।
तनहुँका ७, कास्की र स्याङ्जाका ३, बागलुङका ४ र नवलपुरका १ संक्रमित स्वास्थ्यकर्मी निको भएको निर्देशनालयले जनाएको छ । पर्वत, गोरखा र मनाङका सबै संक्रमित निको भएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशक काम गर्ने क्रममा पोजेटिभ देखिनु स्वाभाविक भएको र गण्डकी प्रदेशमा अरु प्रदेशमा जस्तो कुटपिट र दुव्र्यवहारको घटना नभएको बताए । ‘भाडामा बस्द दिन अलिकति अप्ठेरो मानेकोचाहिँ पाइयो । तर खासै नोटेबल केही छैन,’ उनले भने ।
गण्डकी प्रदेशमा हालसम्म ३५ सय ८२ जनामा कोरोना पुष्टि भएको छ । २३ सय २९ संक्रमित निको भएका छन् । प्रदेशका ३२ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका १०, गोरखा र नवलपुरका ६÷६, तनहुँका ४, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।
तपाईको प्रतिक्रिया