छरिँदै प्रदेशको उज्यालो
बिजुली आयो, सुत्केरीलाई सजिलो भयो
केशवशरण लामिछाने, पोखरा
मेयर देवकुमार नेपालीले क्याट्ट स्विच थिचे र फ्याट्ट बल्ब बल्यो । कोठा उज्यालो भयो । मन नै उज्यालोचाहिँ डाक्टर मिलन मल्लको भएको छ । ढोरपाटन नगरका मेयरलाई आफ्नो ठाउँमा केन्द्रीय प्रसारण लाइनको बिजुली आएको खुसी छ ।
बुर्तिबाङ बजारका उद्यमी व्यवसायीलाई उद्यम व्यवसाय चम्किलो बनाउने सपनाले खुसी छ । सर्वसाधारणलाई घरकै उज्यालो अझै चम्किलो हुने कुराले खुसी छ ।
डाक्टर मल्लको मनको उज्यालोचाहिँ अरुको जिउज्यान जोखिमका नपर्ने भयो भन्ने खुसी हो । बिरामीलाई उपचार गर्न बचाउन पाइने भयो भन्ने खुसी हो ।
असोजको ४ गते बुर्तिबाङ बजारमा बिजुली पुग्यो । त्यसको उद्घाटन ढोरपाटन नगरपालिकाका मेयरले गरेका थिए । बुर्तिबाङमा बिजुली यसअघि पनि थियो, तर लघु जलविद्युत आयोजना (माइक्रो हाइड्रो) बाट निकालिएको बिजुली थियो ।
४ गते पुगेको चाहिँ राष्ट्रिय प्रसारण लाइनको बिजुली हो । माइक्रो हाइड्रोको बिजुली त्यति भरपर्दाे थिएन । घरि आउने घरि जाने । कुनै मेसिन वा औजार चलाउन प¥यो भने नधान्ने । चल्दाचल्दैको मेसिन रोकिने । पकाउँदा पकाउँदैको खाना काँचै हुने ।
सबैभन्दा गाह्रो त बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्ललाई कतिबेला हुन्थ्यो भने बिरामीको अप्रेसन गर्दा गर्दै बत्ती जाला भन्ने डर ।
यो स्वास्थ्य केन्द्रमा खास गरी सुत्केरी हुने महिलाको अप्रेसन धेरै हुन्छ । अरु अप्रेसन पनि हुन्छन् । धेरैमात्रा चाहिँ गर्भवतीकै हुन्छ । वर्षमा ५ सय सुत्केरी हुने यो स्वास्थ्य केन्द्रमा २० जनाजति गर्भवतीको अप्रेसन गर्नुपर्छ ।
‘अप्रेसन गर्दा बिरामीको अवस्था थाहा पाउन मोनिटर चलाउन बिजुली चाहिन्छ,’ डा मल्ल भन्छन्, ‘रगत बग्न रोक्ने मेसिन चलाउने पनि बिजुलीबाटै हो ।’
अप्रेसन गर्दा बिरामीको घाउको फोहोर पानी तान्ने औजार होस् या छाला काट्ने मेसिन बिजुलीबाटै चल्छ । अझ अप्रेसन गर्दा ठूलाठूला बल्ब पनि बालेर धेरै उज्यालो बनाउनुपर्छ ।
नवजात शिशुलाई राख्ने बेबी वार्मर पनि बिजुलीबाटै चल्ने हो । माइक्रो हाइड्रोको बिजुलीको भर नभइदिँदा अप्रेसन गर्दा गर्दै टर्च लाइटले काम चलाउनुपरेको अनुभव पनि छ मल्लसँग ।
‘१÷२ घन्टा त बिजुली गइरहन्थ्यो,’ डा मल्ल भन्छन्, ‘गर्भवतीको अप्रेसन गर्नमात्रै होइन अरु बिरामीको उपचारका लागि पनि ठूलो क्षमताको बिजुली नभइभएको थिएन ।’
दमका बिरामीलाई बाफ लगाउन होस् वा अक्सिन दिन वा मुटुको बिरामीको इसिजी गर्न पनि भरपर्दाे बिजुली चाहिएको उनी सुनाउँछन् । भन्छन्, ‘माइक्रो हाइड्रोको बिजुली साँझ बिहान पिक आवरमै कम आइदिँदा साह्रै गाह्रो ।’
राष्ट्रिय प्रसारण लाइनको बिजुली नियमित रुपमा आउने विश्वासमा डा. मल्ल खुसी छन् । भन्छन्, ‘स्वास्थ्य सेवा राम्रो आफैं हुँदैन नि, बिरामी ल्याउने बाटो राम्रो हुनुप¥यो, शुद्ध र प्रशस्त पानी चाहियो र बिजुली पनि हुनुप¥यो, तब न स्वास्थ्य सेवा राम्रो हुन्छ ।’
बिजुलीको निरन्तरता र पर्याप्त भोल्टेजयुक्त नहुँदा स्वास्थ्य केन्द्रका भिडियो एक्सरे, एक्सरे मेसिनदेखि फ्रिजसम्म बेलाबेला बिग्रने गरेको उनी सुनाउँछन् ।
अहिले बागलुङका धेरैतिर धमाधम राष्ट्रिय प्रसारणको बिजुली जडान भइरहेको छ । गण्डकी प्रदेश सरकारको उज्यालो प्रदेश कार्यक्रम अन्तर्गत यो काम भइरहेको छ । जसमा सहकार्य भने नेपाल विद्युत प्राधिकरणले गरेको छ ।
२०७४ साल फागुन ४ गते गण्डकी प्रदेश सरकार गठन भएको पहिलो दिनमै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको मन्त्रिपरिषदले प्रदेशभर बिजुली पु¥याउने निर्णय गरेको थियो । त्यही निर्णयमा सरकारले उज्यालो गण्डकी प्रदेश कार्यक्रम ल्याएको हो ।
नेपाल विद्युत प्राधिकरणले बागलुङको गल्कोटमा सब स्टेसन निर्माण गरिसकेको प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोसली बताउँछन् ।
विद्युत विस्तारका लागि भनेरै गण्डकी प्रदेश सरकारबाट बजेट आएको उनले बताए । गोसलीका अनुसार प्रदेश सरकारसँग हातेमालो गरेर प्राधिकरणले गलकोट, जैमिनी र ढोरपाटन नगरपालिकासँगै ताराखोला र बडिगाड लगायत गाउँपालिकाहरुमामा बिजुली पु¥याइरहेको छ ।
यीमध्ये कतिपयमा ढोरपाटनको बुर्तिबाङमा जस्तै माइक्रो हाइड्रोबाट निकालिएको बिजुली थियो । अब ती ठाउँमा केन्द्रीय प्रसारण लाइन पुग्दा बुर्तिबाङको स्वास्थ्य सेवा प्रभावकारी बन्ने लगायतका परिवर्तन देखा परेका छन् ।
साना, मझौला तथा घरेलु उद्योगको उत्पादन क्षमतामा वृद्धि हुने विश्वास गोसली व्यक्त गर्छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकै भनाइ अनुसार उनी नेतृत्वको सरकार गठन हुँदाका बखत प्रदेशको १४ प्रतिशत घरधुरीमा बिजुली छैन भन्ने थियो । कहाँकहाँ छैन भन्ने तथ्यांकचाहिँ भेट्न भने उनलाई पनि मुस्किल प¥यो ।
मुलुकमा उत्पादित बिजुलीमध्ये आधा गण्डकी प्रदेशले योगदान दिइरहँदा पनि आफ्ना गाउँबस्ती अँध्यारो हुनु हुन्न भन्ने उनको मान्यता थियो । त्यसैले उज्यालो प्रदेश कार्यक्रम सुरु भयो ।
२०७६ वैशाखमा गण्डकी सरकारले प्रदेशका कुना कन्दरासम्म बिजुली पु¥याउने भनेर नेपाल विद्युत प्राधिकरणको पोखरास्थित क्षेत्रीय कार्यालय र बुटवलको क्षेत्रीय कार्यालयसँग सम्झौता गरेको थियो ।
बुटवल ५ नम्बर प्रदेशमा पर्छ र पनि त्यससँग सम्झौता भयो, किनभने उसको कार्यक्षेत्र गण्डकी प्रदेशको नवलपुर जिल्लातिर पनि थियो । अहिलेचाहिँ पोखरास्थित प्राधिकरणको प्रादेशिक कार्यालयले नै प्रदेश सरकारको निर्णय र योजना कार्यान्वयनमा खटिएको छ ।
विद्युत प्राधिकरणको प्रदेश कार्यालय प्रमुख टेकनाथ तिवारीका अनुसार प्रदेश सरकारसँग विद्युतीकरण र विद्युत विस्तारका लागि भनेर ७५ करोड रुपैयाँको सम्झौता भएको छ ।
त्यही बजेटबाट बागलुङ, गोरखा, नवलपुर, मुस्ताङ, मनाङ, म्याग्दी, स्याङ्जा, तनहुँ र लमजुङका गाउँगाउँमा विद्युतीकरण भइरहेको छ ।
मनाङ, मुस्ताङ र गोरखाको उपल्लो भेगमा केन्द्रीय प्रसारण लाइन लैजान मुस्किल छ । त्यसैले त्यहाँका घरघरमा सोलारकै भएपनि उज्यालो पु¥याइएको छ ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको ऊर्जा शाखाका प्रमुख इन्जिनियर जीवन श्रेष्ठका अनुसार गोरखाको चुमनुब्री र धार्चे, मनाङको नार्पाभूमि, मुस्ताङको लोघेकर दामोदरकुण्ड, लोमन्थाङ र बाह्रगाउँ मुक्तिक्षेत्र तथा म्याग्दीको धौलागिरी गाउँपालिकामा गरी झन्डै ६ सय घरमा सोलारको बिजुली जडानको काम भइरहेको छ ।
गण्डकी प्रदेश सरकारको ‘उज्यालो प्रदेश’ योजना अनुसार बागलुङ लगायत जिल्लामा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेर ५ हजार ३ सय घरधुरी लाभान्वितको सूचीमा परेका छन् ।
२०७६÷७७ भित्रै उज्यालो प्रदेश बनाउने लक्ष्य सरकारले राखेको थियो । तर कोभिड १९ लगायत कारणबाट यो कार्यक्रम पूरा गर्न बियाँलो भएको छ । प्राधिकरणको प्रदेश कार्यालय प्रमुख तिवारी २०७७÷२०७८ भित्रै गण्डकी प्रदेश उज्यालो प्रदेश बनिसक्ने बताउँछन् ।
उनकै भनाइमा अहिले प्रदेशको ९२ प्रतिशत घरधुरीमा बिजुली पुगिसकेको छ । प्रदेश सरकारको कार्यक्रम सुरु हुनुअघि भने ८७ प्रतिशतमा मात्रै बिजुली पुगेको थियो । आवश्यक बजेट उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको हुँदा नपुगे फेरि पनि बजेट माग्न सकिने तिवारी बताउँछन् ।
कतिपय ठाउँमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्दा माइक्रो हाइड्रो आयोजना अलपत्र छन् । राष्ट्रिय प्रसारण पु¥याउन नसकिएका ठाउँमा चाहिँ माइक्रो हाइड्रो नै मर्मत गर्ने काम प्रदेश सरकारले गरेको छ ।
लमजुङको विचौरमा लाखरखोला, आरुबोटे र महावीर खोलाको लघु जलविद्युत मर्मतपछि सञ्चालनमा आएको छ मस्र्याङ्दी गाउँपालिकाको घट्टेखोला सामुदायिक र दोदी गाउँपालिकाको छोटेखोला लघु जलविद्युत पनि हालै मर्मत भएका छन् ।
बागलुङमा पनि छन् यस्तै उदाहरण । ढोरपाटन नगरपालिकाको निसीदोभान र बुडाथोक लघु जलविद्युत आयोजना मर्मत भएका छन् ।
राष्ट्रिय प्रसारण लाइन पुगेपछि भने माइक्रो हाइड्रोको बिजुली राष्ट्रिय ग्रिडमै जोड्ने संघीय सरकारको नीति रहेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक नवराज ढकाल बताउँछन् ।
त्यही नीति अनुसार लमजुङको मिदिम खोला लघु जलविद्युतको १ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण केन्द्रमा जडान गरिएको जानकारी उनले दिए । भन्छन्, ‘जनताको श्रम परेको हुन्छ, सरकारको अनुदान सहयोग हुन्छ, तसर्थ माइक्रो हाइड्रो त्यतिकै अलपत्र नपरोस् भन्ने नीति छ ।’
तपाईको प्रतिक्रिया