पोखरामा यामाहाको ‘रे जेडआर १२५’ सार्वजनिक

समाधान संवाददाता २०७७ असोज ९ गते १२:१७

समाधान संवाददाता, पोखरा

यामाहाको नेपालका लागि आधिकारिक विक्रेता भीएडब्लु इन्टरप्राइजेजले आफ्नो नयाँ स्कुटर बिहीबार पोखरामा सार्वजनिक गरेको छ ।

नयाँबजारस्थित इन्टरप्राइजेजको कार्यालयमा ‘रे जेडआर १२५’ स्कुटर नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र हिमालयन रोडिजका विजेता सुजन सुवेदीले सार्वजनिक गरेका हुन् ।

Advertisement

कम्पनीले काठमाडौंमा बुधबार युट्युबमार्फत सार्वजनिक गरेको स्कुटर पोखरामा बिहीबार सार्वजनिक गरेको हो ।

स्कुटरमा १२५ सिसीको फ्युल इन्जेक्सन इन्जिन छ । यो स्कुटर सेग्मेन्टकै सबैभन्दा छिटो पिकअप लिने स्कुटर रहेको दाबी गरिएको छ । माइलेज ५८ किलोमिटर प्रतिलिटर रहेको स्कुटरको वजन ९९ केजी रहेको जनाइएको छ ।

Advertisement

यसमा युनिफाइड ब्रेकिङ सिस्टम (युएसबी) रहेकाले स्कुटरको ब्रेकिङ सिस्टमलाई अब्बल बनाउने कम्पनीको दाबी छ।

यसमा स्मार्ट मोटर जेनेरेटर, इन्जिन कट–अफ स्विच तथा स्टप–स्टार्ट स्विच राखिएको छ ।स्कुटरको बजार मूल्य २ लाख ५४ हजार ९ सय तोकिएको छ ।

तर चाडपर्व नजिकिएकाले ६ हजार रुपैयाँ छुट दिइने जनाइएको छ । साथै स्कुटर साटफेर गर्दा बजार प्रचलित मूल्यभन्दा १५ हजार रुपैयाँ थप मूल्यांकन दिइने इन्टरप्राइजेजका व्यवस्थापक सुरेन्द्र रेग्मीले बताए ।

तपाईको प्रतिक्रिया