उपल्लो मुस्ताङमा पनि केन्द्रीय बिजुली

समाधान संवाददाता २०७७ असोज १० गते ८:१७

सुन्दरकुमार थकाली,जोमसोम

Advertisement

सधैभरी सामान्य सौर्य ऊर्जा तथा टुकी÷मैनबत्तीको सहारामा आश्रित उपल्लो मुस्ताङीले अब भने चाँडै नै बिजुलीको उज्यालो पाउने पक्का भएको छ ।

गण्डकी प्रदेश सरकारले नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी उपल्लो मुस्ताङका दुर्गम गाउँ÷गाउँमा विद्युत विस्तार गरिरहेको हो ।

तातोपानी विद्युत वितरण केन्द्र र निलगिरि उपभोक्ता सहकारी संस्थाले उपल्लो मुस्ताङको अन्तिम गन्तव्य नेचुङसम्म हाइटेन्सन लाइन तान्ने काम गत हप्ता पूरा गरेको जनाएको छ ।

गत वर्ष उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापाको यारा, घारा, ताङ्ग्या, ढि र सुर्खाङबाहेक सबै गाउँमा बिजुलीको पहँुच पू¥याइएकोमा चालु आर्थिक वर्षको कोरोना कहरको समयमा पनि विद्युत प्राविधिक, स्थानीय र जनप्रतिनिधिको सक्रियतामा लोघेकर गापामा बाँकी रहेका गाउँ र लोमान्थाङ गापाको लोमान्थाङ, न्याम्डो, समजुङ, चुमजुङ, फुवा, ठिङ्गर, किमलिङ, छोनुप र छासेर लगायत डेढ दर्जन गाउँमा पुग्ने विद्युत हाइटेन्सन लाइनको काम पूरा गरेको निलगिरि उपभोत्ता सहकारी संस्थाका कार्यालय प्रमुख सनप्रसाद थकालीले जानकारी दिए ।

Advertisement

‘उपल्लो मुस्ताङको कोरला नाकाबाहेक सबै गाउँमा विद्युत पहुँचमा जोडिने मुख्य लाईन विस्तारको काम सकियो, केही त्यहाँको भौगोलिक तथा सांस्कृतिक संरचनाका कारण वितरण लाइन तान्ने केही काम बाँकी छन्,’ कार्यालय प्रमुख थकालीले भने, ‘ओपन वायरले गर्ने काम पूरा भयो, केही स्थान र घरमा एबिसी लाइन जोड्ने कार्य बाँकी नै छ ।’

उनले उपल्लो मुस्ताङमा विद्युत पहँुच विस्तारसँगै थप कोरला नाकासम्म लाइन पु¥याउने अर्को कामको टेन्डर भइरहेको जानकारी दिए ।

अब मुख्य केन्द्रीय लाइन विस्तार भइसकेकाले घरघरको वायरिङको काम गरी मिटरबक्स जडान गरे विद्युत प्रसारण लाइन सप्लाई गर्न सकिने थकालीले उल्लेख गरे ।

गण्डकी प्रदेश सरकारको उज्यालो प्रदेश कार्यक्रम अन्तर्गत उपल्लो मुस्ताङमा केन्द्रीय विद्युत प्रसारण लाइन विस्तारको काम अन्तिम चरणमा पुगेको गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्टले जानकारी दिए ।

यसका लागि प्रदेशको चालु आवको विनियोजित बजेटमार्फत विद्युत विस्तारका लागि चाहिने ट्रान्समिसन, पोल र वायर लगायत सामग्री खरिद गत वर्ष नै भएको सांसद बिष्टले बताए ।

प्रदेशले लोमान्थाङ गापामा ३ सय ८६ पोल र शाखामा १ सय ८० थान पोल र लोघेकर दामोदरकुण्ड गापामा १ सय ९६ थान पोल र शाखामा ७० पोल खरिद गरी म्याग्दीको तातोपानी वितरण केन्द्रलाई हस्तान्तरण गरेको सांसद बिष्टको भनाइ छ ।

म्याग्दीबाट विद्युत विस्तार गर्ने स्थानसम्म पोल ढुवानीको जिम्मा संम्वन्धित तहले गरेको सांसद बिष्टले सुनाए ।

मुस्ताङको चोखोपानी २ सय ४० किलोवाटको सानो पावर हाउस छ । थासाङ—१ टुकुचेमा पनि १३ दशमलव ६ मेगावाटको हाइड्रो छ ।

तर, त्यसले नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरिसकेको छ । सामान्यतया अहिलेको अवस्थामा मुस्ताङलाई ७ सयदेखि ९ सय किलोवाट विद्युत आवश्यक पर्छ ।

केन्द्रीय लाइन अवरुद्ध हुँदा मुस्ताङमा लोडसेडिङ हुन्छ । थासाङ—२ कोवाङमा नेपाल विद्युत प्राधिकरणको ११ केभिएको सबस्टेसन छ ।

निलगिरिका कार्यालय प्रमुख सनप्रसाद थकालीले अहिलेकै अवस्थामा उपल्लो मुस्ताङमा विद्युत सप्लाई गर्दा निरन्तर समस्या आउने बताए ।

कोवाङ सवस्टेशनबाट कोरलाको नेचुङसम्मको दुरी १ सय २० किमी भएको र प्राविधिकरणको नम्स अनुसार ११ केभिएको सवस्टेसनबाट २० किमी टाढा लैजान नमिल्ने स्पष्ट पारे ।

उपल्लो मुस्ताङ र तल्लो मुस्ताङसम्म विद्युत वितरण भरपर्दो बनाउन अरु ३ वटा ३३ केभिएको सबस्टेसन आवश्यक पर्ने कार्यालय प्रमुख थकालीको भनाइ छ ।

उनले सकभर ३३ केभिएभन्दा माथि वा नभए ३३ केभिए सबस्टेसन जडान भए विद्युत प्रवाहलाई सन्तुलनमा ल्याउन सहयोग गर्ने भएकाले यसको खाँचो रहेको जनाए ।

‘प्राधिकरणले चराङ र छुसाङमा सबस्टेसन राख्ने योजना बनाएको छ,’ उनले भने, ‘यसका लागि छुसाङमा सबस्टेसनको प्रस्ताव अघि बढेको छ ।’

गण्डकी प्रदेश सरकारले उपल्लो मुस्ताङको विद्युत पहुँच पुग्न नसक्ने स्थानमा नवीकरणीय सौर्य ऊर्जा विस्तारको योजना अघि बढाए पनि कोरोना कहरका कारण पुरा हुन सकेको छैन ।

गत वर्ष मुस्ताङमा नवीकरणीय ऊर्जा बिस्तारका लागि १ करोड १६ लाख बजेट विनियोजन भएको थियो ।

स्थानीयको माग अनुसार प्रदेशले ७५ प्रतिशत अनुदानमा सोलार वितरण गर्ने कार्यक्रम रहेकोमा उक्त कार्यक्रम स्थगित भएको जलउत्पन्न प्रकोप तथा सिँचाइ विकास डिभिजन कार्यालय मुस्ताङले जनाएको थियो ।

तपाईको प्रतिक्रिया