मुस्ताङलाई ५ पटक चिनिया राहत

समाधान संवाददाता २०७७ असोज १० गते ८:३२

एसके थकाली, जोमसोम

उपल्लो मुस्ताङ अन्तर्गतका २ स्थानीय तहलाई चीनको स्वशासित क्षेत्र तिब्बतले शुक्रबार राहत स्वरुप कृषि उपकरण तथा खाद्य सामग्री उपलब्ध गराएको छ ।

चीनले यसपटक उपल्लो मुस्ताङका लागि पाँचौंपटक ६ सय ५० थान घाँस काट्ने रिफर र ५० केजी वजनको ६ सय बोरा चिनी राहत स्वरुप सहयोग गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोप्फेल बिष्टले जानकारी दिए ।

Advertisement

चीनले उपलब्ध गराएको यसपटकको उपकरण सामग्री करिब १ करोड ६२ लाख मूल्य बराबरको छ ।

५० केजी तौलको ६ सय बोरा चिनीको अनुमानित मूल्य ३ लाख रुपैयाँ बराबरको छ ।

Advertisement

राहत सामग्री चिनिया पक्षका सुरक्षा अधिकारीले कोरला नाकामा ल्याएर २ पालिकालाई जिम्मा लगाएका थिए ।

सामग्री बुझ्न लोमान्थाङका अध्यक्ष सुवर्णकुमार बिष्ट र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङछोम्फेल बिष्टसहित जनप्रतिनिधिको टोली कोरला नाका पुगेको थियो ।

लोघेकर १ का वडाध्यक्ष टसीढुन्डुक ठकुरीका अनुसार चीनबाट प्राप्त सहयोग २ पालिकाले समान रुपमा बाँड्ने छन् ।

गाउँपालिकाले बुझेको राहत सम्बन्धित तहका जनतालाई समान रुपले वितरण गरिने उनले बताए ।

चीनले ३ साताअघि घाँस काट्ने २ सय थान औजार २ पालिकालाई उपलब्ध गराएको थियो ।

चीनले ३ महिनाअघि पनि क्वारेन्टिनलाई आवश्यक ४ सय ८० थान बेड, डिसइन्फेक्सन ६० बोतल, थर्मलगन १० थान, एन—९५ माक्स २ सय ५० पिस, पिपिई २ सय ५० थान र सर्जिकल माक्स १० हजार थान लगायत सामग्री सहयोग गरिसकेको छ ।

सोही समय चीनले खानेतेल ९ सय बकेट, चामल ९ सय बकेट, जौ को पिठो ९ सय बकेट, प्याज ५ सय केजी, बन्दा ५ सय केजी काउली ५ सय केजी र आलु १ हजार केजी पठाएको थियो ।

चीनले ५ पटक विभिन्न प्रकारका राहत सामग्री सहयोग गरेको छ । चीनले सीमावर्ती क्षेत्रका यी २ स्थानीय तहका बासिन्दालाई वर्षेनी विभिन्न राहत सामग्री दिएर सहयोग गर्दै आएको छ ।

उपल्लो मुस्ताङका २ पालिकाका जनताको सुविधाका लागि चीनको स्वशासित क्षेत्र तिब्बतले वर्षेनी असार र भदौ महिनामा कोरला नाकाको तिब्बती भूमिमा व्यापार मेला सञ्चालन गर्दै आइरहेको छ ।

यसपटक भने कोभिड—१९ का कारण उक्त व्यापार मेला नभएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार बिष्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया