पहिरोले रुपाको जमनकुना गाउँ जोखिममा, खुदी खोलाले २ घर बगायो

समाधान संवाददाता २०७७ असोज १० गते १२:१९

समाधान संवाददाता, पोखरा

निरन्तरको भीषण वर्षाले कास्कीको रुपा गाउँपालिका–६ स्थित जमनकुना गाउँ पहिरोको जोखिममा परेको छ ।

रुपाकोट–थुम्चे सडक तलबाट ५–६ सय मिटरको पहिरो जाँदा गाउँ नै जोखिममा परेको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

Advertisement

जमनकुना खोलामा पहिरो मिसिएर गाउँ पसेपछि शुक्रबार राति १० बजे ३ घर पुरिएका थिए । राति पहिरो झरेपछि जमनकुनाकी सिजामाया गुरुङको घर र रेष्टुरेन्टसँगै अर्को १ घर पुरेको छ ।

पहिरोमा मानवीय क्षति नभए पनि करिब ५ लाखको भौतिक क्षति भएको गाउँपालिका अध्यक्ष ओझाले बताए ।

Advertisement

ती घरका ४ जनालाई राति नै वडाध्यक्ष र स्थानीय सहितको टोलीले उद्धार गरेको छ ।

घरको ढोका फोरेर ४ जनालाई उद्दार गरिएको रुपा –६ का वडाध्यक्ष नारायण गुरुङले बताए । ‘खबर पाए लगत्तै उद्धारमा खटियौँ । सबैलाई सकुशल उद्धार गरेर अहिले सुरक्षित ठाउँमा स्थानान्तरण गरेका छौँ । तर ३५ घरधुरी जोखिममा छन्,’ उनले भने।

त्यहाँ पहिले पनि पहिरोको जोखिम भएका कारण रुपा ताल परियोजना अन्तर्गत जाली लगाइएको थियो । तर जाली नै लगाउँदा पनि पहिरो झरेपछि उक्त परियोजनाका इन्जिनियरलाई बोलाएर पुन निरिक्षणमा जाने वडाध्यक्ष गुरुङले बताए ।

खुदी खोलाले २ घर बगायो

पोखरा महानगरपालिका र रुपा गाउँपालिकाक जोड्ने खुदीको पुल शनिबार बिहान ८ बजे आएको बाढीले बगाएको छ ।

बाढीले २ घर बगाएको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

त्यसबाट अहिलेसम्म मानवीय क्षतिबारे कुनै जानकारी नपाएको उनले बताए ।

अध्यक्ष ओझाका अनुसार खोलाले पुल बगाउँदा पोखरा(रुपा यातायात अवरुद्ध बनेको छ ।

तपाईको प्रतिक्रिया