पैताला उपन्यासमाथि विमर्श

समाधान संवाददाता २०७७ असोज १० गते १९:३०

समाधान संवाददाता
पोखरा

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानले शनिबार पैताला उपन्यासमाथि विमर्श गरेको छ ।

प्रतिष्ठानका पूर्व अध्यक्ष प्राडा विष्णुप्रसाद पौडेलले पैताला उपन्यासका प्रमुख प्रयोगहरूको विमर्श शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै उपन्यासमा तन्त्र, मायिक यथार्थ, स्वैरकल्पना, मिथक, आख्यानकार र समाख्याताबीचको द्वन्द्व, श्याम व्यग्य आदिको कलात्मक प्रयोग भएको बताए ।

Advertisement

अत्यधिक प्रयोगशील शिल्प, अभौतिक वा अमूर्त तहको चिन्तन र कतिपय औपन्यासिक व्यवस्थापनको कम कुशलताले उपन्यास सहज बोधगम्य नभएको तर सचेत बौद्धिक पाठकका निम्ति अर्थपूर्ण चुनौतीका रूपमा दरिन भने सकेको र लेखकमा अन्तर्निहित प्रचुर सिर्जन सामथ्र्य सम्भावना पनि सहजै ध्वनित भएको उनको निष्कर्ष थियो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै प्राडा गोविन्दराज भट्टराईले कार्यपत्र स्तरीय भएको र प्रयोगवादी कृतिलाई हेर्ने सैद्धान्तिक धारणा बलियो देखिएको बताए । नेपाली भाषामा लेखिएका महत्त्वपूर्ण पाँच प्रयोगवादी उपन्यासमा पैताला पर्ने र त्यसप्रति गहिरो दृष्टि कार्यपत्रमा आएको उनको धारणा थियो ।

Advertisement

कार्यपत्रमाथि टिप्पणी गर्दै समीक्षक राजकुमार बानियाँले कार्यपत्र अत्यन्तै बलियो भए पनि उपन्यासमा प्रमुख प्रयोगका रूपमा देखिएको मिथकीय प्रयोगको कम चर्चा भएको धारणा राखे । वादका बास्केटबाट माथि उठेर कृतिको समीक्षा गर्नुपर्ने उनको धारणा थियो ।

उपन्यासमाथि उठेका प्रश्नको जवाफ दिँदै सर्जक गनेस पौडेलले आफूले ३५ वर्षसम्म पढेका पुस्तकको ज्ञानबाट उकुसमुकुस भएर उपन्यास लेखेको बताए । उपन्यास लेखनको पृष्ठभूमिमा अंग्रेजी ‘पुस्तक बाटामा बुद्ध भेट्यौ भने मारिदिनू’ को महत्वपूर्ण भूमिका रहेको पनि उनले बताए । उपन्यास चेतन, अवचेतन तथा अचेतनको तहबाट संरचित भएको कुरा पनि उनले बताएका थिए ।

डा. जगन्नाथ रेग्मी, डा. लक्ष्मीशरण अधिकारी, डा. नवराज न्यौपाने, ईश्वरमणि अधिकारी, सुरज पौडेल, प्राडा कुमार कोइराला, टंक बराल, डा. सवीन्द्र भण्डारी, सञ्जीव पौडेल तथा यादवराज उपाध्यायले कार्यपत्रमाथि जिज्ञासा राखेका थिए ।

कार्यक्रमको अध्यक्षता गरेका प्रतिष्ठानका अध्यक्ष डा. भूमिराज बस्ताकोटीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने उपाध्यक्ष सुरज पौडेलले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम पौडेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया